कारोबार


५० करोड खर्चेर फेरि अस्थायी संरचनाबाटै काठमाडौंमा मेलम्चीको पानी ल्याइँदै

५० करोड खर्चेर फेरि अस्थायी संरचनाबाटै काठमाडौंमा मेलम्चीको पानी ल्याइँदै

मेलम्चीको पानी ल्याउने अस्थायी संरचनाको प्रस्थानविन्दु। तस्बिर : बसन्त अर्याल/नेपालखबर


वसन्त अर्याल
चैत ४, २०७८ शुक्रबार ८:५३, मेलम्ची (सिन्धुपाल्चोक)

मेलम्चीको पानी तत्काल काठमाडौं ल्याउन स्थायी संरचना नबन्ने भएको छ। मुख्य इन्टेकमा बाढीले क्षति पुर्‍याएसँगै अस्थायी संरचनाबाटै काठमाडौं पानी ल्याउने तयारी भएको हो। 

गत वर्ष सरकारले बगेर आएको पानी जम्मा गरेर सुरुङमा पठाउने संरचना अर्थात् इन्टेक नबन्दै अस्थायी रुपमा काठमाडौंमा पानी ल्याएको थियो। अहिले पनि सरकारले अस्थायी संरचनाबाटै पानी ल्याउने योजनाका साथ काम गरिरहेको छ। 

गत वर्ष काठमाडौंमा पानी ल्याउँदा स्थायी इन्टेकको काम ९५ प्रतिशत मात्रै सकिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा अस्थायी संरचनाबाट पानी ल्याई राष्ट्रपति विद्यादेवी भण्डारीलाई उद्घाटन गर्न लगाएका थिए। 

‘असारमा बाढी आउँदा इन्टेकको काम करिब ९५ प्रतिशत सकिएको थियो’, मेलम्ची आयोजनामा खटिएका इन्जिनियर रामचन्द्र पौडेल भन्छन्, ‘अस्थायी संरचनाको माध्यमबाट काठमाडौंमा पानी लगिएको थियो। अहिले पनि ग्रेगट हटाएर अस्थायी संरचनाबाटै काठमाडौं पानी लैजान तयारी भइरहेको छ।’

मेलम्चीको सुरुङ मार्गमा गतवर्ष फागुन १० गतेबाट पानी पठाउन थालियो। केही दिन सुरुङमा जम्मा भएको पानी चैत २० गते काठमाडौंका धारामा आइपुगेको थियो। सुरुङमार्ग असार १ देखि परीक्षणको लागि बन्द गरिएको थियो। सोही दिन नै मेलम्चीमा बाढी आएर पूरै संरचना पुरेको थियो।

अहिले गेट नम्बर १ मा जम्मा भएको ग्रेगट हटाएर काठमाडौंमा पानी लैजाने गरी काम भइरहेको छ। १४ सय ३० मिटर उचाइमा रहेको गेट नं. १ असारमा आएको बाढीले ग्रेगट ल्याएर १४ सय ४७ मिटर उचाइमा पुर्यायो। 

‘असारमा मेलम्चीको जुन अस्थायी सुरुङबाट पानी काठमाडौं लगिएको थियो, त्यो सुरुङ ग्रेगट अर्थात् ढुंगा, गिटी बालुवाले भरियो’, इन्जिनियर पौडेलले भने, ‘अहिले ग्रेगट हटाउने काम भइरहेको छ। चैतभित्र सक्ने लक्ष्य राखिए पनि सुरुङभित्र कति क्षति गरेको छ, त्यो हेरेपछि मात्रै थाहा हुन्छ।’

माथिबाट बगेर आएको पानी ‘बफर ड्याम’ मा जम्मा भएर गेट नं १ बाट अस्थायी रुपमा काठमाडौं लगिएको थियो।

‘गेट नं १ काठमाडौंमा पानी ल्याउनको लागि बनाइएको पूर्वाधार होइन यो’, उनी भन्छन्, ‘काठमाडौंमा पानी ल्याउन इन्टेक बनाउनको लागि खोलाको पानी अस्थायी रुपमा डाइभर्ट गर्न बनाइएको सुरुङ हो गेट नम्बर १ हो। उक्त गेटबाट आएको पानी इन्टेकभन्दा तलबाट निकालिएको थियो।’

काठमाडौंमा पानी ल्याउने स्थायी इन्टेकको माथिल्लो भाग देखिए पनि अझै त्यसको सबै अवस्था जान्न ८ देखि १० मिटर गहिर्याउनुपर्छ। अहिले त्यसको अवस्था कस्तो छ भनेर ग्रेगन हटाई खोतल्नुपर्छ। संरचनाको स्थायित्व कस्तो अवस्थामा रहेको छ त्यसलाई हेर्ने आयोजनाले जनाएको छ। 

‘घरको ढलान गर्दा पनि डन्डी निस्कियो भने काम गर्दैन भन्ने हुन्छ’, इन्जिनियर पौडेल बताउँछन्, ‘खोलामा बनेको संरचना हो। डन्डी निस्किएका छन्। पानीले खिया लाग्छ। त्यसको लोड अर्को डन्डीमा जान्छ। पूरै संरचना बिग्रिन सक्छ।’

मेलम्चीको बाढीले इन्टेकमा कति क्षति भएको छ भनेर अहिले ग्रेगट हटाएर हेर्ने काम भइरहेको छ। फेरि बाढी आउनसक्ने भन्दै आयोजनाले मुख्य इन्टेकको मर्मत अझै थालेको छैन।

पहिरोको रोकथाम नहुँदासम्म मुख्य इन्टेक बनाउँदा भर नहुने आयोजनाको ठम्याइ छ। अहिले आयोजनाको पहिलो प्राथमिकता अस्थायी संरचनाबाटै भए पनि काठमाडौंमा पानी ल्याउने रहेको छ। 

बुधबार मात्रै सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानसम्मको निरीक्षणमा पुगेका खानेपानी मन्त्री उमाकान्त चौधरीले चैतसम्म काठमाडौंमा पानी पु¥याउने गरी काम गर्न निर्देशन दिएका थिए। 

बाढीपछि आयोजनाको मर्मत पुरानै ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिइएको छ। अस्थायी रुपमा काठमाडौंमा पानी ल्याउन मात्रै करिब ५० करोड खर्च हुँदै छ। 

खानेपानी मन्त्रीले चैतभित्रै खानेपानी काठमाडौं ल्याउने दाबी गरे पनि आयोजनाको स्थल र प्रगति हेर्दा असारभित्र काठमाडौंमा पानी ल्याउन पनि अप्ठ्यारो देखिन्छ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर अम्बाथान अडिटमा सोचेभन्दा बढी गेग्रान थुप्रिएकाले व्यवस्थापनमा केही समय बढी लाग्ने स्वीकार गर्छन्।   

एक–डेढ महिनाको लागि मात्रै पानी ल्याइँदै 
सरकारले अहिले अस्थायी संरचना बनाई एक–डेढ महिनाको लागि मात्रै भएपनि मेलम्चीको पानी ल्याउने तयारी गरेको छ। 

वैशाख ३० मा स्थानीय निर्वाचन घोषणा गरेको सरकारले उक्त समयसम्म काठमाडौंमा पानी ल्याउन अस्थायी संरचना निर्माणमा बढी ध्यान दिएको देखिन्छ।   

सरकारले चैतसम्म पानी ल्याउने लक्ष्य राखे पनि तीव्ररूपमा काम भए अस्थायी रुपमा वैशाखसम्म पानी काठमाडौंमा पानी झर्न सक्छ। अस्थायी रुपमा ल्याइएको सुरुङ मार्गमा कति क्षति पुगेको छ भन्ने नै अहिलेसम्म आयोजनाले हेर्न सकेको छैन। 

‘अस्थायी सुरुङ मार्गको दुवैतर्फ ग्रेगटले भरिएको छ। हटाउने काम भइरहेको छ’, इन्जिनियर पौडेल भन्छन्, ‘सुरुङभित्र कति क्षति भएको छ भन्ने नै अहिलेसम्म हेर्न पाएका छैनौँ। ग्रेगट नछिरेको भए पानी छिट्टै काठमाडौं जान्छ। नभए समय लाग्छ।’

सरकारले वैशाखभित्रै काठमाडौंमा पानी ल्याउने भनेपनि जेठसम्म मात्रै अस्थायी रुपबाट पानी आउनसक्ने आयोजनाकै कर्मचारी बताउँछन्। असार लागेसँगै बाढी आउने सम्भावना उच्च रहेकाले फेरि सुरुङ बन्द हुन सक्ने देखिन्छ।  

सरकारले मेलम्चीमा बाढीले क्षति पुर्याएका बस्ती पुनस्र्थापना तथा संरक्षणको लागि काम नगरेको भन्दै स्थानीयले चैत १ देखि मेलम्ची–हेलम्बु सडक अवरुद्ध गरिरहेका छन्। जसले भइरहेको केही काममा पनि अवरोध पुर्याएको छ।

‘मेलम्चीमा आएको बाढीले स्थानीयमा पुर्‍याएको क्षतिको विषय सरकारले सम्बोधन नगरेसम्म आयोजनाको काम अवरुद्ध हुन्छ’, मेलम्ची आयोजना प्रभावित बाढीपीडित सरोकार समितिका संयोजक उपेन्द्र तामाङले भने, ‘सरकारले बर्खाअघि नै खोलाको छेउमा बाँकी रहेका बस्तीको संरक्षण र घर खेतविहीन भएकालाई राहत उपलब्ध गराउनुपर्छ।’

त्यस्तै काठमाडौंमा ५१ करोड लिटर पानी ल्याउन सरकारले यांग्री र लार्केको काम पनि सुरु गर्ने तयारी गरेको छ। २०३० सम्म ३ वटै खोलाको पानी काठमाडौंमा ल्याउने योजना छ। मेलम्ची खोलाको अम्बाथानमा लार्के–याङ्ग्रीबाट काठमाडौंमा पानी ल्याउन करिब १२ किमि सुरुङ खन्नुपर्छ। 

गत असारमा आएको बाढीले यांग्री–लार्के मेलम्ची खानेपानी आयोजनाको पहुँच मार्ग नै बगाएको छ। बाढीले ३ वटा मोटरेबल पुलसहित पहुँच मार्ग बगाउँदा आयोजनाले फेरि ट्रयाक खोल्न समेत सुरु गरेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .