कारोबार


यमबहादुर विश्वकर्मा : सुन व्यवसायी, सुन ग्राहकबारे नै पहिलो विद्यावारिधि

यमबहादुर विश्वकर्मा : सुन व्यवसायी, सुन ग्राहकबारे नै पहिलो विद्यावारिधि

उपप्राध्यापक यमबहादुर विश्वकर्मा


वसन्त अर्याल
चैत २४, २०७८ बिहिबार ८:३९, काठमाडौँ

गुल्मीमा जन्मिएर नवलपरासीमा हुर्किएका यमबहादुर विश्वकर्मालाई वर्षौंदेखि गरिरहेको सुन व्यवसायले मात्रै पुगेन। पैसा नपुगेको हैन, सानैदेखि अध्ययनमा रुचि राख्ने विश्वकर्मालाई आफूले गरिरहेको सुन व्यवसायमै विद्यावारिधि गर्ने हुटहुटी जाग्नथालेको थियो। 

सोही कारण २०५५ सालमा काठमाडौंको सरस्वती क्याम्पसबाट स्नातकोत्तर उपाधि लिएपछि ‘विद्यावारिधि’ गर्ने हुटहुटी पूरा गर्न आवश्यक गृहकार्य गरिरहेका थिए। 

सुरुमा आर्थिक अभाव झेल्दै अध्ययन सुरु गरेका उनी दलित समुदायको प्रतिनिधित्व गर्दै समाजमा राम्रो सन्देश पनि दिन चाहन्थे। 

‘उत्पीडित समुदायले शैक्षिक क्षेत्रमा प्रगति गरेका छन्। दलित समुदायबाट विद्यावारिधि गर्ने एकदमै कम छन्’, उनी भन्छन्, ‘आफ्नो नामको अघि डा. राख्नुपर्छ भन्ने रहर पनि थियो, अनि सुनमै विद्यावारिधि गरेँ।’  

यसरी तय भयो सुन ग्राहकबारे विद्यावारिधिको यात्रा ​
विद्यावारिधि गर्ने  औधी रुचिका कारण अध्ययन अध्यापनरत यमबहादुर २०७२ मा भारतको झारखण्डस्थित साइनाथ विश्वविद्यालय भर्ना भए।

उनको विषय थियो– सुनमा ग्राहकको ‘बिहेभियर अनालाइसिस’ अर्थात् उनीहरुको व्यवहार विश्लेषण।   

नेपालमा धेरैले ग्राहकको बानी व्यहोराबारे अध्ययन गरे पनि सुन खरिद गर्ने ग्राहकमाथि शोध गरेका थिएनन्। यद्यपि सुनका गहना र ग्राहकको विषयमा धेरै लेखहरु प्रकाशित नभएका होइनन् तर यसको व्यवस्थित अध्ययन भएकै थिएनन्। 

विश्वकर्माले यसैमा शोध गर्ने निर्णय गरे। 

‘सुन खरिद गर्ने ग्राहकलाई कस्तो कुराले प्रभाव पार्छ? धेरै नेपाली किन सुन खरिद गर्न चाहन्छन्? आम्दानीको हिसाबले सुन खरिदमा कसरी फरक पार्छ भन्ने विषय नै विद्यावारिधिको शोधमा केलाएको छु’, उनी भन्छन्। 

भर्खरै उनको शोध विश्वविद्यालयबाट पास भएको छ।   

विश्वकर्माको शोधले सुन खरिद गर्न सबैभन्दा मुख्य कारण नेपाली संस्कृति देखाएको छ। नेपालीले विवाहको समयमा सुन खरिद गर्नुलाई अनिवार्य रुपमा हेर्ने गरेका छन्। विशेषगरी महिलाले विवाहपछि सुन लगाउनैपर्ने संस्कार रहेको देखिएको छ। 

‘जहाँ पायो त्यहीँ सुन किन्दैनन् नेपाली’
उनले गरेको अध्ययनअनुसार नेपालीहरु जहाँ पायो त्यहीँ सुन खरिद गर्दैनन्। 

‘सुन खरिद गर्ने ग्राहकले पसल वा व्यवसायीबारे राम्ररी बुझेर मात्र खरिद गर्दा रहेछन्’, आफ्नो शोधको सारबारे विश्वकर्मा भन्छन्, ‘अरु वस्तु खरिद गर्ने र सुन खरिद गर्नेमा यही कुरा फरक भेटियो।’ 

विश्वव्यापी रुपमा सुनको मूल्य हरेक वर्ष बढ्ने देखिएको छ। सुनलाई बैंकले धितोको रुपमा पनि राख्ने हुँदा ग्राहकमा बढी विश्वास रहेको बताउँछन् उनी। 

स–सानो लगानी अरु क्षेत्रभन्दा सुनमै गर्दा बढी सुरक्षित हुने ग्राहकको विश्वास छ। सुनको खरिदमा नहिच्किचाउने देखिएको छ। सुनमा लगानी गर्दा ‘रि–सेल भ्यालु’ बढी पाउनेमा ग्राहकको विश्वास रहेको उनको शोधले देखाएको छ। 

‘सुनको भाउ प्रायः घट्दैन। सुनमा लगानी गरेपछि पैसा चाहिँदा बिक्री गर्न सकिन्छ’, विश्वकर्मा भन्छन्, ‘सुनको लगानी डुब्दैन भन्ने विश्वास बढी देखियो।’

‘२४ क्यारेटमा चासो, मध्यमवर्गमा प्रतिष्ठाको विषय’
विश्वकर्माका अनुसार नेपालमा अधिकांश मानिसहरु २४ क्यारेटकै सुन रुचाउँछन्। उनीहरु २२ क्यारेट वा अन्य सुन खरिदमा धेरै चासो राख्दैनन्। 

तर सुनको विषयमा बढी जानकारी राख्नेहरु भने २२ क्यारेट वा अरु सुन प्रयोग गर्न रुचाउने उनको शोधले देखाएको छ।  

त्यस्तै नेपाली ग्राहकले सुनलाई संस्कृति र लगानीबाहेक प्रतिष्ठाको विषय पनि बनाउँछन्। खासगरी सुनमा मध्यमवर्गका मानिसको बढी रुचि देखिएको उनको भनाइ छ। यो रुचिवृद्धिमा सुनका विज्ञापनले उत्तिकै काम गरेको छ। 

‘सुन लगाइएन भने कतै पछाडि परिने हो कि भन्ने सोच पनि रहेछ’, उनी भन्छन्, ‘सुन नलगाउँदा आफ्नो हैसियत के होला। समाजले कसरी हेर्ला भन्ने मनोविज्ञान हुँदो रहेछ।’

उनको अध्ययनले दुर्गम गाउँठाउँभन्दा सहरी क्षेत्रमा पहुँच भएका मानिसले बढी सुन खरिद गर्ने गरेका छन्। गाउँका मानिसचाहिँ सहरमा झरेर थोरै आम्दानी गरेपछि सुन जोड्न थाल्ने गरेको शोधले देखाएको छ। 

व्यवसाय र प्राज्ञिक क्षेत्रलाई जोड्न सुनमा विद्यावारिधि 
विश्वकर्मा सुनचाँदी व्यवसायीसँगै उपप्राध्यापक समेत हुन्। २०५६ सालदेखि चितवनमै शिक्षण पेशा सुरु गरेका उनले अध्यापनमा २२ वर्ष बिताएका छन्। उनी हाल सप्तगण्डकी क्याम्पसमा उपप्राध्यापक र एस ज्वेलर्सका सञ्चालक छन्।  

२०५५ सालमा विवाह गरेका विश्वकर्माको ससुरालीको मुख्य व्यवसाय नै सुनचाँदी थियो। 

उनले आफू सुनको कारोबारी नभए पनि त्यसलाई नजिकबाट नियाल्न पाए। २०६२ सालबाट सुनचाँदी व्यवसायमा हात हाले। 

सुनको व्यवसाय सुरु गर्नुअघि उनले सुनको बजारको विषयमा सामान्य अध्ययन गरे। अधिकांश व्यवसायीले पुरानै तरिकाबाट व्यवसाय गरेको पाए। व्यवस्थापन, एकाउन्टिङ, मार्केटिङको हिसाबले व्यवस्थित नभएकाले केही गर्न सकिन्छ कि भन्ने सोचमा थिए। 

‘चलिरहेको व्यवसायको मोडललाई अलिकति नयाँ दिन खोजेँ’, उनी भन्छन्, ‘एउटा सफ्टवेयर बनाएँ। जसले चितवनको सुनचाँदी व्यवसायलाई नयाँपन दिनसक्यो।’

उनले व्यवसाय सुरु गरेको २–३ वर्षमै पुराना व्यवसायीसँग राम्रो प्रतिस्पर्धा गर्न सफल भए। व्यवसायमा सफलता हासिल गरे पनि विश्वकर्माले प्राज्ञिक क्षेत्र छाड्न सकेनन्। 

‘पढ्नको लागि सानोमा धेरै दुःख पाएकाले व्यवसायमा राम्रो भए पनि अध्ययन अध्यापन छाड्न सकिएन’, उनी भन्छन्। 

यसरी छानियो शोधको विषय
विद्यावारिधिका लागि उनले अनुसन्धान गर्न थुप्रै विषयहरु सोचे। सुझाव मागे। विषयवस्तु खोज्दै जाँदा सुनको कारोबारसम्बन्धी नै शोध गर्ने मनसाय बनाए। 

शोधका लागि सुपरिवेक्षकहरुसँग पनि सल्लाह गरे। उनीहरुले नयाँ विषय भए पनि आफैँले काम गरिरहेको विषय भएकाले गर्न सुझाए। 

‘प्राज्ञिक क्षेत्रमा लागेपछि टप लेभलमा जानुपर्छ भन्ने सोच थियो’, उनी भन्छन्, ‘सुन व्यवसायमा आबद्ध भएकाले यो क्षेत्रमा केही सहयोग होस् भन्ने सोचेरै सुनको विषयमा विद्यावारिधि गरेँ।’

उनको व्यावसायिक अनुभवभन्दा अध्ययनले धेरै फरक नदेखाए पनि थप अनुसन्धान गर्न प्रोत्साहन गरेको छ।  

‘औपचारिक रुपमा मैले विद्यावारिधि गरे पनि परम्परागत रुपमा यही पेशा गरेकाको ठूलो योगदान छ’, उनी भन्छन्, ‘परम्परागत रुपमा चल्दै आएको व्यवसाय कसरी चलेको छ मैले हेरेको मात्रै हो।’

खानदानमै पहिलो एसएलसी र विद्यावारिधि
विश्वकर्माको परिवार शिक्षित परिवार होइन। अरु पढेको देखेरै पढ्न थालेका हुन्। दलित समुदायका उनलाई पढ्न भने त्यति सहज थिएन। 

आर्थिक अभावकै बीच विद्यालय जान थाले। तर बीचैमा छाड्नुपर्यो। पढ्नुपर्छ भन्ने हुटहुटी मरिसकेको थिएन। फेरि २ वर्षपछि अध्ययन सुरु गरे। 

‘पारिवारको आर्थिक अवस्था एकदमै कमजोर थियो। विद्यालयको शुल्क तिर्नसक्ने अवस्था नहुँदा २ वर्ष ग्याप भयो’, आफ्ना दुःखबारे उनी थप्छन्, ‘अरुले कापीकिताब किनिदिएर, लुगा लगाउन दिएर पढेको हुँ।’

साँच्चै उनी पढाइप्रतिको लगनशीलताले नै यो ठाउँसम्म आइपुगेका हुन्। 

पैसा नहुँदा पहिले विद्यालय भर्ना हुन खोज्दा पनि नपाएका उनले अहिले राम्रो आर्थिक हैसियत बनाइसकेका छन्। 

विश्वकर्मा आफ्नो शाखा सन्तानमै पहिलो एसएलसी उत्तीर्ण गर्नेमा पर्छन्।  २०४५ सालमा उनले एसएलसी पास गरेका थिए। उनको प्राथमिक शिक्षा नवलपरासीको दुम्किबासबाट र माध्यमिक शिक्षा अरुण खोलाबाट भएको थियो। त्यसपछि आइकम कावासोतीमै गरेपछि उनले स्नातक र स्नातकोत्तरचाहिँ काठमाडौं आएर पूरा गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .