कारोबार


नेपाल आउने विदेशीभन्दा धेरै खर्च गर्छन् विदेश जाने नेपाली

८ महिनामा पर्यटकबाट १४ अर्ब आम्दानी गर्दा नेपालीले विदेश गएर सके ४७ अर्ब
नेपाल आउने विदेशीभन्दा धेरै खर्च गर्छन् विदेश जाने नेपाली

थाइल्यान्डको पर्यटकीय गन्तव्य पट्टाया।


वसन्त अर्याल
बैशाख १, २०७९ बिहिबार १३:४१, काठमाडौँ

फागुन महिनामा नेपालमा भित्रिने पर्यटकभन्दा नेपालबाहिर जानेले तेब्बर बढी खर्च गरेका छन्। 

नेपाल घुम्न आउनेले फागुन महिनामा मात्र करिब ३ अर्ब १० करोड रुपैयाँ खर्च गर्दा नेपालीले विदेशमा गएर १० अर्ब ५० करोड रुपैयाँ खर्च गरेका हुन्। 

नेपालमा अहिले विदेशी मुद्रा सञ्चिति क्रमशः घटिरहेको छ। सोही कारण विलासी र महंगा वस्तुको आयातमा अंकुश लगाउनुपरेको छ। तर यस्तो अवस्थामा पनि नेपालीहरुले विदेश गएर गर्ने खर्च भने बढिरहेको देखिएको हो।  

राष्ट्र बैंकको तथ्यांकअनुसार उनीहरुले साउनदेखि फागुन महिनासम्म मात्रै करिब ४७ अर्ब रुपैयाँ विदेशमा खर्च गरेका छन्। सोही अवधिमा विदेशी नेपाल घुम्न आएर साढे १४ अर्ब रुपैयाँ मात्रै खर्च गरेका छन्। 

पछिल्लो ३ वर्षको तथ्यांक केलाउँदा फागुन महिनामा सर्वाधिक बढी खर्च गरेका हुन्। पछिल्ला वर्षमा नेपाल भम्रण गर्न आउनेले भन्दा नेपालबाट डलर लगी विदेशमा खर्च गर्ने बढेका छन्। 

२०७८ को वैशाखमा २ अर्ब ८० करोड, जेठमा १ अर्ब २० करोड, असारमा २ अर्ब, साउनमा ५ अर्ब १ करोड, भदौमा ५ अर्ब २० करोड, असोजमा ५ अर्ब, कात्तिकमा करिब ४ अर्ब, मंसिरमा ४ अर्ब ७० करोड, पुसमा करिब ६ अर्ब, माघमा ६ अर्ब ६० करोड नेपालीले विदेशमा खर्च गरेका छन्। 

विदेशबाट नेपाल भित्रिने पर्यटकबाट वैशाखमा ७० करोड, जेठमा ५० करोड, असारमा ६० करोड, साउनमा १ अर्ब ३० करोड आम्दानी भएको छ। भदौमा १ अर्ब ३० करोड, असोजमा १ अर्ब  ५० करोड, कात्तिकमा करिब २ अर्ब, मंसिरमा १ अर्ब ८० करोड, पुसमा २ अर्ब ४० करोड बढेको थियो। 

डेल्टा भेरियन्टको हल्लासँगै माघमा १ अर्ब १० करोड मात्र आम्दानी भएको थियो। तर फागुनमा भने ३ अर्ब १० करोड रुपैयाँमा आम्दानी भएको तथ्यांकले देखाएको छ।  

पछिल्ला वर्ष भ्रमणबाट आम्दानीभन्दा खर्च बढ्दै 
२०७५ को चैतमा नेपाल भ्रमण गर्नेबाट ७ अर्ब १० करोड रुपैयाँ आम्दानी गर्दा ६ अर्ब ४० करोड विदेशमा खर्च भएको छ। २०७६ को वैशाखमा ९ अर्ब २० करोड आम्दानी हुँदा नेपालीले विदेशमा गएर ५ अर्ब ७० करोड खर्च गरेका थिए। 

त्यसयता भने लगातार नेपालको भ्रमणबाट आम्दानी गर्नुभन्दा विदेशको भम्रण गरेर खर्च बढी गरेको तथ्यांकले देखाउँछ। 

जेठमा ५ अर्ब ६० करोड आम्दानी गर्दा ६ अर्ब ६० करोड बाहिरियो भने असारमा ५ अर्ब १० करोड आम्दानी गर्दा ९ अर्ब १० करोड भ्रमणकै नाममा बाहिरिएको थियो। 

नेपालले २०७६ साउनमा ४ अर्ब ४० करोड रुपैयाँ, भदौमा ५ अर्ब ८० करोड, असोजमा ७ अर्ब १० करोड, कात्तिकमा ९ अर्ब ८० करोड, मंसिरमा ८ अर्ब ४ करोड, पुसमा ५ अर्ब ७० करोड, माघमा ६ अर्ब ७० करोड, फागुनमा ५ अर्ब ३० करोड र चैतमा ३ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको थियो।  

यही वर्ष नेपालीले बाहिर गएर साउनमा ७ अर्ब, भदौमा ७ अर्ब ६० करोड, असोजमा ६ अर्ब ४० करोड, कात्तिकमा ४ अर्ब ६० करोड, मंसिरमा ५ अर्ब ७० करोड, पुसमा ६ अर्ब २० करोड, माघमा ६ अर्ब, फागुनमा ५ अर्ब  ६० करोड रुपैयाँ विदेशमा खर्च गरेका थिए। 

चैतबाट अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै १ अर्ब ३० करोडमा खर्च झरेको थियो। २०७६ को चैतमा लकडाउन भएसँगै नेपाल घुम्न आउने र विदेश जानेको संख्या घट्यो। 

त्यस्तै महामारीकै बीच २०७७ को वैशाखमा करिब १ अर्बभन्दा कम आय भएको थियो। जेठमा १ अर्ब, असार २ अर्ब ३० करोड, साउनमा ६० करोड, भदौमा ४० करोड, असोजमा ५० करोड, कात्तिक र मंसिरमा ४०–४० करोड आम्दानी भयो। पुसमा १ अर्ब, माघ र फागुनमा ६०÷६० करोड, चैतमा १ अर्ब १० करोड नेपालले आम्दानी गरेको छ। 

२०७७ मा खर्च भने वैशाखमा ६० करोड, जेठमा ८० करोड, असारमा १ अर्ब ३० करोड खर्च गरेका थिए। साउनमा १ अर्ब ३० करोड, भदौमा २ अर्ब ४० करोड, असोजमा २ अर्ब ८० करोड, कात्तिकमा ३ अर्ब ४० करोड, मंसिरमा ३ अर्ब ७० करोड, पुस र माघमा ३ अर्ब ८० करोड रहँदा चैतमा ४ अर्ब १० करोड नेपालीले विदेश गएर खर्च गरेका छन्। 

‘नेपाली धनी भए, विदेश घुमेरै खर्च गर्न थाले’
विदेशी गन्तव्यमा उच्च वर्गमात्र नभई मध्यमवर्ग समेत घुम्न जानथालेको पर्यटन व्यवसायी बताउँछन्। सर्वसाधारणबाहेक सरकारी भम्रण, व्यवसायीको विदेश मोहले डलर खर्च गर्ने बढेको राष्ट्र बैंकका अधिकारी बताउँछन्। 

राष्ट्र बैंकका एक अधिकारीले पर्यटनमार्फत नेपाल भित्रिने आम्दानीभन्दा बढी बाहिरिने गरेको बताए। 

‘नेपालीहरु धनी हुँदै गएका छन्। घुम्न भेटघाट गर्न भन्दै विदेश जाने बढेका छन्’, ती अधिकारीले भने, ‘नेपाल भित्रिने डलरभन्दा बाहिरिने डलर बढी हुँदा समस्या पर्दै आएको छ।’

विदेशी सञ्चितिमा घट्दै जाँदा दबाबमा परेको अर्थ मन्त्रालयमा भने औपचारिक रुपमा यस विषयमा छलफल नै हुने गरेको छैन। 

अर्थ मन्त्रालयका सहसचिव ढुण्डी प्रसाद निरौलाले मन्त्रालयले विदेशमा हुने खर्च कसरी घटाउने भन्ने चासो रहे पनि औपचारिक छलफलहरु नभएको स्वीकार गरे। 

‘नेपालबाट विदेश जानेको संख्या बढेको छ। डलर बाहिरिएको छ भन्ने अर्थ मन्त्रालयको चासो भए पनि औपचारिक छलफल भएको छैन’, मन्त्रालयका प्रवक्ता समेत रहेका निरौलाले भने, ‘अनौपचारिक रुपमा नेपाल आउने पर्यटकले गर्ने खर्च र विदेशमा जाने नेपालीले गर्ने खर्चबीच सन्तुलन मिलाउने भन्नेमा छौँ।’

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले नेपालीलाई विदेशभन्दा पहिला नेपाल घुम्न प्रोत्साहन गरे समस्या समाधान हुने बताए। 

‘डलर भित्रिनेभन्दा बाहिरिने समस्या देखिएपछि नेपालले विदेश जाने निरुत्साहित गर्नुपर्छ’, रेग्मीले नेपालखबरसँग भने, ‘आन्तरिक भ्रमण गर्दा धेरै पैसा बाहिर जानबाट रोकिन्छ।’ 

उनले नेपालमा भारतीय र बंगलादेशी मुद्रा समेत चल्ने व्यवस्था गरे थप विदेशी पर्यटक भित्र्याउन सहज हुने बताए। उनले भारतीय ५०० र २ हजारका नोट चलाए विदेशी मुद्राको चिन्ता धेरै नहुने बताए। 

‘विदेशीलाई नेपाल आउँदा धेरै डलर बोकेर आउन पाउँदैनन्। कसैले नेपालमा घुमेर खर्च गर्छु भन्दा सरकारले दिनुपर्छ’, उनले भने, ‘भारतीय र बंगलादेशी रुपैयाँ नेपालमा चल्ने बनाउँदा हामीलाई सहज हुन्छ।’

रेग्मीले घुम्नबाहेक नेपालीबाट विदेश पढ्ने विद्यार्थी बाहिर जाँदा खर्च बढ्दै गएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .