कारोबार


कमर्सियल भेहिकलको आयात रोके अर्थतन्त्र दुर्घटनामा पर्छः सिप्रदी–सीईओ श्रेष्ठ (अन्तर्वार्ता)

कमर्सियल भेहिकलको आयात रोके अर्थतन्त्र दुर्घटनामा पर्छः सिप्रदी–सीईओ श्रेष्ठ (अन्तर्वार्ता)

नाडाका उपाध्यक्ष तथा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ


वसन्त अर्याल
बैशाख ६, २०७९ मंगलबार ११:१९, काठमाडौँ

वैदेशिक मुद्रा सञ्चितिमा चाप आएसँगै वाणिज्य बैंकहरुले अत्यावश्यकका वस्तुबाहेकको एलसी नखोल्ने निर्णय गरेका छन्। राष्ट्र बैंकको सुझावअनुसार बैंकहरुले अर्को सूचना जारी नहुँदासम्म गाडीलगायतका वस्तुहरुको एलसी रोकेका छन्।  यसैबीच, अटो व्यवसायीले विना छलफल गाडीको एलसी रोकिएको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट गरेका छन्। व्यवसायीहरुले गाडी आयात गरी बिक्री मात्रै नगरेको भन्दै खर्बौँ लगानी गरेको बताएका छन्। 

नाडाको तथ्याङ्कअनुसार अटो क्षेत्रमा ३ खर्ब ५० अर्बभन्दा बढीको लगानी छ। यस क्षेत्रले हरेक वर्ष १ खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदानका साथै देशको प्रत्यक्ष रोजगारीमा समेत महत्वपूर्ण सहयोग गर्दै आएको छ। नेपालमा प्यासेन्जर भेहिकल र कमर्सियलमा सबैभन्दा ठूलो बजार हिस्सा टाटा मोटर्सको छ। एलसी खोल्न बन्द भएपछि नेपाली बजारमा कस्तो प्रभाव पर्छ? अहिलेको स्टकले कहिलेसम्म धान्न सकिन्छ? कमर्सियल गाडीको आयात रोक्दा के–के असर गर्छ लगायतका विषयमा नाडाका उपाध्यक्ष तथा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठसँग गरिएको छोटो कुराकानीः

एलसी रोकिएपछि तपाईंसहितका नाडाका पदाधिकारीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट्नुभयो। अहिलेको समस्या कसरी समाधान होला? 
अर्थमन्त्रीले अर्थतन्त्रमा चाप आएको र सहजरुपमा कसरी निकास निकाल्न सकिन्छ भनेर गम्भीर छलफलमा रहेको बताउनुभयो। उहाँले व्यवसायी आत्तिहाल्नुपर्ने अवस्था नभएको भन्नुभयो। अर्थमन्त्रीले एकदमै सकरात्मक कुरा गर्नुभएको छ। छिट्टै अहिलेको समस्या समाधान हुनेमा हामी विश्वस्त छौँ। 

अर्थमन्त्रीले छिट्टै खोल्छौँ भने पनि राष्ट्र बैंकले असारसम्म विलासिताका वस्तु रोक्नुपर्ने सुझाव दिएको छ। ३ महिना गाडीको एलसी खोल्न रोकियो भने अटो बजार कसरी चल्छ?
३ महिना आयात नै रोक्दा अटो व्यवसायमात्रै होइन समग्र अर्थतन्त्रमै ठूलो असर पार्छ। नेपालमा धेरै रोजगारी दिने क्षेत्रमा अटोमोबाइल्स पर्छ। प्रत्यक्ष रुपमै ८० हजार बढी रोजगारी अटोमोबाइल्ससँग सम्बन्धित क्षेत्रबाट मिलेको छ। अप्रत्यक्ष रुपमा त लाखौँले रोजगारी पाएका छन्। सरकारले गाडी आयात गर्न नदिई अटो बजार खस्कियो भने धेरैले रोजगारी पनि गुमाउँछन्। 

अर्को पक्ष अटो बजारलाई सरकारले विलासिताको वस्तुमा परिभाषित गरेर गल्ती गर्दै आएको छ। एक ठाउँबाट अर्को ठाउँमा जानुपर्यो भने साधन त अटोमोबाइल्स नै हुँदा त्यसको आयातमा कडाइ गर्नेबित्तिकै ‘प्रोडक्टिभिटी’ (उत्पादकत्व) नै घट्छ। सवारीसाधनले सहज बनाएकै कारण बढेको प्रोडक्टिभिटी घट्दा अर्थतन्त्र नै खुम्चिन्छ। अटो बजारलाई समग्र अर्थतन्त्रसँग जोडेर हेर्नुपर्छ। लगानी कति छ। रोजगारी कति सबै हेनुपर्छ। 

सामान्यतया व्यवसायीले २–३ महिनापछि नेपाली बजारमा गाडी आउने गरी एलसी खोलेका हुन्छन्। अहिले एलसी खोल्न ठप्प हुँदा तपाईंहरुले कति महिना बजार धन्न सक्नुहुन्छ?
बजारको माग कस्तो छ, आगामी दिनमा बजार कसरी चल्छ भन्नेले अहिले भएका गाडीले कति समय धान्न सक्छ भनी निर्धारण गर्न सकिन्छ। कतिपय गाडी अहिले नै मागअनुसार ग्राहकलाई डेलिभरी गर्न नसकेको अवस्थामा आयात नै बन्द हुँदा कस्तो प्रभाव पर्ला अनुमान गर्न सकिन्छ। सामान्य रुपमै बजार चलेको अवस्थामा हामीले अब करिब डेढ महिनासम्म धान्नसक्ने आकलन गरेका छौँ। कुनै व्यवसायीको भने १ महिना पनि धान्नसक्ने अवस्था छैन। 

सरकार बजेटको तयारीमा छ। अर्थ मन्त्रालयलाई राजस्व परामर्श समितिले गाडीमा कर बढाउन सुझाव दिएको छ। अब गाडीमा फेरि कर बढ्दा कस्तो प्रभाव पर्ला?
हामीले बारम्बार सबै गाडीलाई विलासिताको वस्तुमा नराख्न सुझाव दिँदै आएका छौँ। एकदमै महंगो गाडी विलासिता होला तर सबै विलासिताका होइनन् । सरकारले पहिला यो कुरा बुझ्नुपर्छ। सबैभन्दा धेरै बिक्री हुने गाडी विलासिताका होइनन्, आवश्यकता भएरै खरिद गरिएका हुन्। 

जबसम्म देशमा सहज सार्वजनिक यातायातको व्यवस्था गर्न सरकारले सक्दैन तबसम्म सबै गाडीलाई विलासिताको वस्तु भन्नु नै हुँदैन। अहिले सर्वसाधारणको लागि सार्वजनिक यातायात सहज नहुँदा नै मोटरसाइकल र गाडीको बिक्री बढेको छ। आवश्यकता नभई   मोटरसाइकल र गाडी खरिद गरेका होइनन्। मोटरसाइकलमा १० मिनेटमा पुग्ने मानिस सार्वजनिक यातायात चढ्दा १ घण्टा लाग्ने अवस्था छ। सरकारले कर बढाएर मोटरसाइकल तथा गाडी किन्नै नसक्ने बनायो भने त उत्पादकत्व नै घट्छ। 

अटोमोबाइल्सलाई उत्पादनमूलक क्षेत्रमा पार्नुपर्छ। मोबिलिटी सहज हुँदामात्रै उत्पादन बढ्छ। सरकारले कर बढाउँदाबित्तिकै अटोबजार खस्किन्छ। रोजगारी गुम्ने एउटा कुरा हो भने खर्बको लगानी डुब्छ। सरकारले व्यवसायीलाई गाडी आयात गर्ने अनि बेच्ने मात्रै सोचेको छ। जुन गलत हो। अटो व्यवसायीले अर्बौँ लगानी गरेर बिक्री, सर्भिसलगायतको सञ्जाल बनाएका छौँ। बाहिरबाट ल्याएर यहाँ बिक्री मात्रै गर्दैनौँ।

बैंकहरुले सबै गाडीको एलसी नखोल्ने भनेका छन्। कमर्सियल भेहिकलको एलसी नै रोक्दा अर्थतन्त्र चलायमान हुनसक्छ?
कमर्सियल गाडीको एलसी खोल्न रोक्यो भने विकास निर्माणदेखि दैनिक जीवन प्रभावित हुन्छ। निर्माणको कामका लागि सिमेन्ट, गिट्टी, बालुवा, छडलगायतका सामग्री बोक्न टिपर, ट्रक आवश्यक पर्छ भने खाद्यान्न, तरकारी ढुवानीमा मिनिट्रक, हात्ती गाडी बढी प्रयोगमा छन्। मानिस एक ठाउँमा अर्को ठाउँमा जान बस चाहिन्छ। 

सरकारले कि त देशकै विकास रोक्छु। खाद्यान्न ढुवानी पनि रोकिन्छ भन्नुपर्यो होइन भने कमर्सियल गाडी रोक्ने विषय सोच्नु पनि हुँदैन। यातायातको लागि सबैले गाडी खरिद गर्न सक्दैनन्। सार्वजनिक यातायात चढ्नुपर्ने बाध्यता छ। कमर्सियल भेहिकल नै आयात रोक्दा नेपालमा ‘डिजास्टर’ हुन्छ। 

कमर्सियल भेहिकल एलसी खोल्ने विषयमा स्पष्ट छैन। अहिले कमर्सियल गाडीको एलसी खोल्न सकिने अवस्था छ कि छैन त?
अहिलेसम्म कमर्सियल भेहिकलजस्तो गाडी पनि खुल्ला छ कि छैन स्पष्ट नै छैन। कमर्सियल गाडी आयात गर्ने व्यवसायी सबै ‘कन्फ्युजन’मै छौं। अर्थतन्त्र संकट पर्दा केही समय महंगा निजी सवारीसाधनलाई कन्ट्रोल गर्ने उपाय भए पनि सरकारले कमर्सियल भेहिकल त रोक्नै हुन्न।

सरकारले कमर्सियल गाडी पनि रोक्न खोजे देशको विकास, देशको अर्थतन्त्र ठप्प हुन्छ। अर्थतन्त्रमा ठूलो समस्या आउँछ। अर्थमन्त्रीले कमर्सियल गाडीको विषयमा छिट्टै स्पष्ट पार्छौँ भन्नुभएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .