कारोबार


गाडी आयात नखुलेसम्म नयाँ मोडल सार्वजनिक गर्दैनौँ : क्याबिनेट श्रेष्ठ (अन्तर्वार्ता)

गाडी आयात नखुलेसम्म नयाँ मोडल सार्वजनिक गर्दैनौँ : क्याबिनेट श्रेष्ठ (अन्तर्वार्ता)

अग्नी ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठ।


वसन्त अर्याल
बैशाख १०, २०७९ शनिबार १३:४१, काठमाडौँ

क्याबिनेट श्रेष्ठ अग्नी ग्रुपका प्रबन्धनिर्देशक हुन्। महिन्द्राको आधिकारिक विक्रेता अग्नी ग्रुपले बोलेरो र स्कोर्पियो सबैभन्दा बढी बिक्री गर्छ। महिन्द्राका गाडी निजी र व्यावसायिक दुवै प्रयोजनका लागि प्रयोग हुँदै आएका छन्। वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै वाणिज्य बैंकहरूले गाडीलगायतको एलसी बन्द गरेका छन्। जसमा यात्रु ओसारपसार र ढुवानी गर्ने साधनको आयात समेत रोकिएको छ। अग्नी ग्रुपले छुट्टै कम्पनी स्थापना गरी महिन्द्राका रिकन्डिसन गाडी पनि खरिदबिक्री गर्दै आएको छ। 

आर्थिक संकट लम्बिँदै गएको अवस्थामा अटो बजार कसरी चल्छ, कमर्सियल गाडी भित्रिन नपाउँदा कस्तो समस्या पर्छ, महिन्द्राले ल्याउन लागेका नयाँ गाडी कहिले आउँछन् लगायतका विषयमा नेपालखबरले श्रेष्ठसँग गरेको छोटो कुराकानीः

बैंकहरूले गाडीहरूको आयातका लागि एलसी खोल्न बन्द गरेका छन्। अहिलेकै अवस्थामा अटो बजार कसरी चल्छ?
बैंकहरूले एलसी कहिले खोल्छन् भन्नेमा अब नेपालको अटो बजार कसरी अघि बढ्छ भन्न सकिन्छ। हामीले केही महिनाको लागि स्टकमा हुने गरी एलसी खोलेका हुन्छौँ। त्यो आधारमा अहिलेको अवस्थाबारे भन्नुपर्दा एक–डेढ महिना ठीकै चल्न सक्छ। त्यो बेलासम्म बैंकहरू एलसी खोल्न सक्ने अवस्थामा पुगेनन् भने अटो बजारमा क्राइसिस (संकट) सुरु हुन्छ। 

डेढ–दुई महिना बैंकहरूले एलसी नखोल्दा व्यावसायिक चक्रमा पार्ने प्रभाव कस्तो हुन्छ? डेढ महिनापछि गाडी पाउने अवस्था छ कि छैन?
हामीले यो महिना कम्पनीमा अर्डर गर्छौँ। कम्पनीमा गाडी निर्माण सुरु हुन्छ। अर्को महिना नेपालको बैंकमा एलसी खोल्छौँ। त्यसपछि सिपमेन्टबाट नेपालमा गाडी भित्रिँदा करिब ३ महिना लाग्छ। जापान, कोरियाबाट आउने गाडीहरूको लागि त्योभन्दा पनि धेरै समय लाग्छ। अबको एक–डेढ महिनामा हामीले एलसी खोल्न पाएनौँ भने व्यावसायिक चक्र बिग्रिन्छ। यसले पछिसम्म बजारलाई अप्ठ्यारो पार्छ। 

राष्ट्र बैंकको सुझाव त असारसम्म गाडीलगायतका आयात रोक्ने भन्ने छ, त्यो बेलासम्म साँच्चै एलसी खुलेन भने के हुन्छ?
असारसम्म गाडी नै नआए पनि कुनै–कुनै मोडल पाउन सकिएला। तर कहिले खुल्छ स्पष्ट नहुँदा हामीले उत्पादक कम्पनीमा अर्डर गर्न सक्दैनौँ। अर्डर गर्दा निर्माण सुरु भइहाल्छ। अर्डर गरेपछि नेपाल आउन ३ महिना लाग्छ। एलसी खोल्न रोकिएपछि बढी बिक्री हुने गाडी बजारमा पाउन मुस्किल पर्छ। सबैभन्दा बढी गाडी बिक्री हुने तिजपछि दशैँ तिहारको समयमा गाडी नभए अटो व्यवसायमा ठूलो असर पर्छ। 

बैंकहरूले सबै गाडीको एलसी बन्द गराएका छन्। सरकारले कमर्सियल गाडी खोल्ने विषयमा स्पष्ट पार्छौँ भनेको थियो। अहिलेको अवस्था कस्तो छ?
अहिले बैंकहरूले गाडीसँग सम्बन्धित कुनै पनि एलसी खोलेका छैनन्। प्यासेन्जर (कार) भेहिकल होस् वा कमर्सियल (बस तथा ढुवानीका साधन) कुनैको पनि एलसी खुलेका छैनन्। सरकारले अहिलेसम्म यात्रु तथा वस्तु ढुवानीका साधनको विषयमा पनि स्पष्ट पारेको छैन।

गाडी आयात बन्द हुने हल्लाले बिक्री बढेको छ कि कस्तो छ?
अटो बजारमा चहलपहलको अवस्था छैन। आर्थिक संकटको हल्लाले हुनसक्छ गाडीको माग त्यति धेरै छैन। अहिले बैंकहरूको ब्याजदर एकदमै उच्च छ। कसैले गाडी किन्न चाहे पनि बैंकको ब्याजदरले गर्दा खरिद गर्न सकिरहेका छैनन्। गाडी खरिद गर्न ५० प्रतिशत मात्रै फाइनान्स हुन्छ। ६० लाखको गाडी खरिद गर्न ३० लाख त नगद तिर्नुपर्छ। अहिलेको अवस्थामा मानिसहरुले पनि कम खर्च गर्न चाहेको देखिन्छ। 

महिन्द्राले वैशाखसम्म नयाँ मोडल नेपाली बजारमा ल्याउने तयारी गरेको थियो। अब गाडी सार्वजनिक हुन्छन् कि हुँदैनन्?
हामीले २–३ वटा मोडल लञ्च गर्ने तयारी गरिरहेका थियौँ। सरकारले एलसी खोल्ने निर्णय नगर्दासम्म कुनै पनि नयाँ मोडल सार्वजनिक गर्दैनौँ। गाडी नियमित आउने अवस्था भएपछि मात्रै महिन्द्राका गाडी सार्वजनिक हुन्छन्। महिन्द्राले ईकेयूभी विद्युतीय गाडी ल्याउने तयारी थियो। नेपालमा विद्युतीय गाडी भित्र्याई बजारमा विश्वास दिलाएको महिन्द्राले २ वटा नयाँ मोडल ल्याउने तयारी थियो। 

महिन्द्रा आस्थाले रिकन्डिसन गाडी बिक्री सुरु गरेको छ। नयाँ गाडीको व्यापार कम हुँदा यसको बजार बढेको होला नि?
नयाँ गाडी महंगो हुने र आफूले चाहेको मोडल नपाउँदाको अवस्थामा रिकन्डिसन गाडीको माग केही बढ्ने देखिन्छ। तर मुख्य समस्या लिक्विडिटीकै हुँदा यी सेगमेन्टमा उत्साहप्रद व्यापार हुनसकेको छैन। 

बैंकहरूले ऋण दिनसक्ने सहज अवस्था देखिँदैन। गाडी खरिद गर्न चाहेकाले फाइनान्सको सुविधा पाएका छन् त?
१४–१५ प्रतिशत ब्याजदरमै गाडी खरिद गर्छु भन्नेले पनि सहज रुपमा ऋण पाउने अवस्था छैन। बैंकहरूले ‘कम्बाइन’ हुने भएकाले कर्पोरेट लोन (व्यावसायिक ऋण)मार्फत गरिरहेका छन्। कसैले गाडी नै खरिद गर्नको लागि ऋण मागे पनि पाउन मुस्किल छ। 

संकट लम्बिँदै जाँदा सबै गाडी बन्द गरेर मात्र समाधान हुँदैन होला। कसरी गर्न सकिएला त अहिलेको संकट समाधान?
गाडी सबै विलासिताको भन्ने हुँदैन। मानिस एक ठाउँबाट अर्को ठाउँमा जानैपर्यो। नेपालमा यात्रा गर्ने कि जहाज (हवाइ) हो कि गाडी नै हो। सबै ठाउँमा जहाज नजाने हुँदा गाडी नै प्रयोग गर्नुपर्छ। खाद्यान्न, तरकारी लगायतका वस्तु ढुवानी गर्नैपर्यो। अरु विकल्प नै नभएको वस्तुलाई कसरी विलासिताको भन्न सकिन्छ र! कमर्सियल एउटा गाडीले परिवारको जीवन धानेको हुन्छ। सरकारले ती गाडी पनि आयात गर्न नदिँदा यस्तो गाडी चलाउँछु भन्नेलाई त अप्ठ्यारो बनाउँछ। गाउँ–गाउँमा यात्रु ओसार्न होस् वा सामान ढुवानी ती गाडीमार्फत नै भएका छन्। 

लक्जरियस गाडी पनि हुन्छन्। नेपालमा लक्जरियसभन्दा आवश्यकताको आधारमा खरिद गर्ने बढी छन्। नेपाल सरकारले कर लगाएको हिसाबले त सबै गाडी नै लक्जरियस हुन्। बाहिर सबैभन्दा सस्तो भनिने गाडीमा खुद मूल्यभन्दा बढी कर तिर्नुपर्छ। ३०० प्रतिशतसम्म कर तिरेकै छन्। 

आर्थिक संकट लम्बिँदै गएको अवस्थामा सेगमेन्ट छुट्याएर आयात गर्न दिने गरी उपाय खोज्न सकिन्छ। तर भारतमा १० लाख भारुमा पाइने गाडी नेपालमा ५० देखि ६० लाख रुपैयाँ पर्छ। भारतमा सामान्य गनिने गाडी नेपालमा लक्जरियसमा पर्छन्। सरकारले कमर्सियल, बेसिक र लक्जरियस छुट्याई एलसी खोल्दा राम्रो हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .