कारोबार


भैरहवाबाट वैदेशिक उडान : ‘ल्हासामा सुन छ कान मेरो बुच्चै’

श्रम स्वीकृति अनलाइनमा, भिसा लाउन काठमाडौं आउनैपर्ने
भैरहवाबाट वैदेशिक उडान : ‘ल्हासामा सुन छ कान मेरो बुच्चै’

फाइल तस्बिर


वसन्त अर्याल
जेठ ६, २०७९ शुक्रबार १७:५०, काठमाडौँ

वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाटै हुने व्यवस्था गरेपछि वैदेशिक रोजगारीमा जानेलाई सहज भएको छ। 

विभागले सबै प्रकारका श्रम स्वीकृतिको लागि वैदेशिक रोजगार कार्यालय धाउनुपर्ने अवस्था हटाएको हो। 

वैदेशिक रोजगार कार्यालय ताहाचालबाट २०७८ माघ २ देखि नै पुनः श्रम स्वीकृति अनलाइनबाटै लिन सकिने व्यवस्था गरेको थियो। गत वैशाख २ गतेबाट संस्थागत श्रमअन्तर्गत पूर्व र अन्तिम स्वीकृतिका कामहरु समेत अनलाइनबाटै भएको छ। 

हाल व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृतिको कामहरु श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको वैशाख ७ गतेको निर्णयअनुसार अनलाइनमार्फत प्रदान गर्न वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा परिमार्जन गरी जेठ ६ गतेबाट (आज)बाट सञ्चालन गरिएको विभागले जनाएको छ। 

व्यक्तिगत श्रम स्वीकृति एफआईएमओको आधारमा सेवा प्रवाहका दुई तह कायम गरी अनलाइनबाट मात्रै जारी गर्ने निर्णय भएको छ। 

विभागले वैधानिकीकरणमार्फत श्रम स्वीकृति जारी हुने व्यवस्थालाई हटाई वैधानिकीकरणमार्फत दिइँदै आएको श्रम स्वीकृतिलाई व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामार्फत जारी गर्ने जनाएको छ। 

विभागका निर्देशक कृष्ण प्रसाद भुसालले वैदेशिक रोजगारीमा जाने कामदार अब सामान्य कामको लागि काठमाडौं आउनु नपर्ने बताए।  

‘ताहाचलबाट हुने काम अनलाइनबाट गर्नेबित्तिकै दैनिक ६ हजार जनाको लाइन हुनेमा १०० मा झरेको थियो’, उनले नेपालखबरसँग भने, ‘अब १०० बाट पनि घटेर ५० भन्दा तल झर्छ।’

विभागले हरेक प्रदेशमा श्रम कार्यालय खोलेकोले अब सामान्य कामको लागि काठमाडौं धाउनु नपर्ने भुसालले बताए। 

‘श्रमसम्बन्धी प्राविधिक समस्या आए काठमाडौं आउनुपर्ला। श्रम स्वीकृतिका काम भने अनलाइनबाटै हुन्छ’, उनले भने, ‘कार्यालयमै आउनुपर्ने भए ताहाचलबाट हुने काम बुटवल, पोखरालगायतका क्षेत्रबाट हुन्छ।’

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल प्रसाद ढकालले अधिकांश काम अनलाइनबाटै हुने भएकाले विदेश जाने श्रमिक काठमाडौं आउनु नपर्ने बताए। 

‘भैरहवाबाट उडानको भाडा पनि सस्तो छ। श्रम स्वीकृतिका काम अनलाइनबाटै हुन्छन्’, ढकालले भने, ‘अब वैदेशिक रोजगारीका अधिकांश काम भैरहवाबाटै हुन्छन्।’

भैरहवा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अनुप केसीले जजिरा एयरबाट विदेश जाने अधिकांश वैदेशिक रोजगारीको लागि उड्ने गरेको जानकारी दिए। 

भिसा र मेडिकलका लागि काठमाडौं धाउनुपर्ने बाध्यता 
भैरहवाबाट उडान भए पनि श्रम स्वीकृतिबाहेका धेरै काम गर्न भने काठमाडौं नै आउनुपर्ने बाध्यता छ। दूतावास र भिसा सेन्टर काठमाडौंमा भएको हुँदा भिसालगायतको काम बाहिरबाट हुँदैन। वैदेशिक रोजगारीमा कतार जानेका लागि कतार भिसा सेन्टरमा आउनैपर्छ। जुन काठमाडौंमा छ। 

‘दूतावास र भिसा सेन्टरबाट हुने कामको लागि काठमाडौं आउनैपर्ने बाध्यता रहन्छ’, भुसालले भने, ‘भर्खर सुरुवात भएकाले देखिएका समस्या समाधान हुँदै जान्छन्। कूटनीतिक रुपमा गर्नुपर्ने काममा ढिलाइ हुनसक्छ।’

वैदेशिक रोजगारीको लागि काठमाडौंभन्दा बाहिरबाट धेरै हुनथाले कतार भिसा सेन्टरले आफ्नो सेवा विस्तार गर्नसक्ने उनले बताए। 

‘जुन देशमा रोजगारीका लागि धेरै नेपाली जान्छन्। ती देशका राजदूतावासले त्यो कुरा बुझ्लान भन्ने विश्वास छ’, उनले भने। 

मेडिकलसहित सरकारले काठमाडौंबाट विकेन्द्रीकरण गर्न मिल्ने सबै सेवा प्रदेशमा लैजान सकिने कुरा अगाडि बढेको बताए।  

रोजगार व्यवसायी संघका ढकालका अनुसार अहिले सरकारले जहाँ पायो त्यहाँ मेनपावर कम्पनीका शाखा खोल्न पाउँदैनन्। सरकारले भैरहवा विमानस्थललाई लक्षित गरी रुपन्देहीमा शाखा

खोल्न दिनसक्ने ढकालले बताए। तर सरकारले अहिलेसम्म यसबारे कुनै निर्णय गरेको छैन।    

चैतसम्मको तथ्यांकअनुसार वैदेशिक रोजगारीको लागि पहिलोपटक जाने २ लाख ५६ हजार रहेका छन् भने पुनः श्रम स्वीकृति लिई जाने २ लाख रहेको विभागको तथ्यांकले देखाएको छ। 

पहिलो पटक विदेश जाने सबैभन्दा बढी साउदी अरेबियामा ३१ प्रतिशत रहँदा कतारमा २५ प्रतिशत र यूएईमा २० प्रतिशत छन्। पुनः श्रम स्वीकृति लिनेमा कतारको ४० प्रतिशत, यूएईमा २४ प्रतिशत र साउदी अरेबियामा २४ प्रतिशत छ। 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने नागरिकहरुलाई सरल र सहज सेवा दिन आवश्यक प्रबन्ध गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ भैरहवा शुक्रबार पुगेका छन्।  

वैदेशिक रोजगारसम्बन्धी कार्यालयका साथै, म्यानपावर कम्पनीका शाखा, अभिमुखिकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि  विस्तार गर्ने मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .