कारोबार


भक्तपुर र ललितपुरले फोहोर व्यवस्थापन गर्दा काठमाडौं किन सक्दैन?

भक्तपुर र ललितपुरले फोहोर व्यवस्थापन गर्दा काठमाडौं किन सक्दैन?

काठमाडौंमा फोहोर व्यवस्थापन उचित ढंगले हुनसकेकाे छैन। तस्बिर : विजय सिंह


वसन्त अर्याल
जेठ १०, २०७९ मंगलबार ९:४६, काठमाडौँ

‘भक्तपुर र ललितपुरमा फोहोर उठ्दा काठमाडौंमा किन उठ्दैन?’ 

यो जिज्ञासा हो आम काठमाडौंबासीको। अर्थात् काठमाडौंको मुख्य समस्या नै फोहोर व्यवस्थापन हो। त्यसकारण यो प्रश्न बारम्बार उठिरहन्छ। 

निवर्तमान मेयर विद्यासुन्दर शाक्यले पनि आफ्नो कार्यकालमा यसको स्पष्ट उत्तर दिन सकेनन्। अन्ततः सबैभन्दा बढी आलोचना यसैमा खेपे।

झन् पछिल्लो डेढ महिनादेखि काठमाडौं महानगरले नियमित फोहोर उठाउन सकिरहेको छैन। कतिपय सडक र चोकमा १ महिना बढी समयदेखि फोहोर नै उठेको छैन। काठमाडौं महानगरपालिकाले फोहोर उठाउन थालेको बताए पनि सडकमा फोहोरको डंगुर हटेको छैन। 

पानी आउँदा सडकको फोहोर बगाएर छरपस्टै पारेको छ। मास्क नलगाई मुख्य सडकमा हिँड्नसक्ने अवस्था छैन। काठमाडौं महानगरसहित ललितपुरलगायत आसपासका नगरपालिकाले फोहोर फाल्ने ठाउँ एकै हो।

किन फोहोर उठाउन सक्दैन महानगर? 
सडकमा फोहोरको डंगुर देखिरहँदा काठमाडौं महानगरपालिका वातावरण विभागकी प्रमुख सरिता राई भने फोहोर उठिरहेको दाबी गर्छिन्। 

राईले फोहोर उठाउनथाले पनि सडक बिग्रिँदा र ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गर्दा व्यवस्थापनमा केही समस्या आएको स्वीकार गरिन्।  

‘हामीले सहज ढंगले फोहोर व्यवस्थापन गर्ने बाटो नै मिल्दैन। टेकुमा स्थानीयले धेरै फोहोर थुपारिदिएको भन्दै फोहोर ल्याउन दिएका छैनन्’, उनले भनिन्, ‘बाहिरबाट फोहोर उठाएर ल्यान्डफिल साइटमा लगिरहेको छ। ल्यान्डफिल साइट भरिएको कारण स्थानीयले अवरोध गरिरहेका छन्।’
 
पानी पर्नेबित्तिकै फोहोर फाल्ने ठाउँबाट गाडी निस्कनै सक्दैन। त्यहीँ फस्छन्। कसैले समस्या खडा गर्न पर्दैन। आफैँ अवरोध हुन्छ। फोहोर नै फोहोरले भरिएको पहाड उक्लिन फोहोरका ट्रक÷टिप्पर नसक्ने उनी बताउँछिन्। डोजरले धकेल्दै÷तान्दै फोहोरका गाडीलाई कुदाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ। 

स्थानीयको फोहोर गनायो भन्ने समस्या कहिले स्थानीयका दूधलगायतका गाडी लैजान पाइएन भन्दै अवरोध गर्छन्। 

‘कुन समयमा कसले के माग राख्दै आन्दोलन गर्छन् थाहा नै हुँदैन’, राईले भनिन्, ‘हामीले फोहोर लगेर व्यवस्थापन गर्नसके समस्या हुँदैन। डम्पिङ साइटमा फोहोर लैजानैसकेका छैनौँ।’

महानगरले मुख्य सडकको फोहोर उठाएर टेकुमा जम्मा गरी डम्पिङ साइटमा लैजाँदै आएको थियो। टेकुमा बाहिर नगरपालिकाले फोहोर ल्याउन पाउँदैनन्। अरु नगरपालिकाले सिधै ल्यान्डफिल साइटमा लैजान्छन्। कोर सिटीका ९ वटा वडा, बजार र सार्वजनिक स्थानको फोहोर उठाएर ल्याउँछ। 

टेकुमै जेठ १ गतेबाट फोहोर राख्न समेत स्थानीयले नदिएको राईले बताइन्। 

भक्तपुरको ‘नमूना मोडल’ 
कुनै समय फोहोर नगरपालिका भनिने भक्तपुर नगरपालिका अहिले हरेक क्षेत्रमा नमूना नगरको रुपमा परिचित छ। भक्तपुर फोहोर व्यवस्थापनमा पनि काठमाडौं, ललितपुरभन्दा फरक छ। 

भक्तपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी नगरपालिकाले फोहोरको स्रोतमै कम गर्ने नीति लिएको बताउँछन्। 

‘फोहोरलाई घरमै छुट्याउने नीति लिएको छ। कुहिने फोहोरलाई घरमै मल बनाई व्यवस्थापन गर्दै आएको छ’, गिरीले नेपालखबरसँग भने, ‘भक्तपुर नगरपालिकाबाट डम्पिङ साइटमा लैजानै नपर्ने गरी फोहोर व्यवस्थापन गरिएको छ।’ 

नगरपालिकाले घर–घरमा डस्टबिन बाँडेको छ। घरबाट निस्किने ७० देखि ८० प्रतिशत कुहिने फोहोर हुन्छ। घरमै कुहिने फोहोरको व्यवस्थापन हुने हुँदा नगरपालिकामा फोहोर नै कम उठाउनुपर्छ। 

‘नगरपालिकाले रिसाइकल गर्न मिल्ने फोहोरलाई छुट्याई बिक्री गर्दै आम्दानी गरेको छ’, गिरीले थपे, ‘नयाँ प्रविधिबाट फोहोरको व्यवस्थापन गर्दै मल बनाएर बिक्री गर्दै आएको छ।’

नगरपालिकाले कागज, प्लास्टिक, फलाम तथा धातुजन्य पदार्थ, हस्पिटल जन्य पदार्थको छुट्टै व्यवस्थापन गर्दै आएको छ।

‘पहिला भक्तपुरलाई फोहोरको सहर भनिन्थ्यो अहिले उपत्यकामा सबैभन्दा सफा सहरको रुपमा लिइन्छ’, उनले भने, ‘नगरपालिकाले आफ्नै कर्मचारी राखेर सबै काम गर्दै आएको छ। दिनका ३ पटक कर्मचारीले फोहोर उठाउँछन्।’ 

ललितपुरको ‘ट्याक्टिकल’ व्यवस्थापन
काठमाडौं महानगर र ललितपुर महानगरले सिसडोलको डम्पिङ साइटमै फोहोर फाल्छन्। सिसडोलमा स्थानीय अवरोध, सडक बिग्रेको अवस्थामा पनि ललितपुरले सडक र घरबाट फोहोर उठाउनछाडेको छैन। यहाँका सडकमा काठमाडौंमा जस्तो फोहोरका डंगुर देखिँदैनन्। 

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले ललितपुर महानगरपालिकाभित्र फोहोर नउठ्ने समस्या नभएको बताए। 

‘अहिले ललितपुर महानगरपालिकाभित्र सडकमा फोहोर थुप्रिएको छैन। गत भदौमा काठमाडौंमा थुप्रिँदा ललितपुरले व्यवस्थापन गरेको थियो’, अर्यालले भने, ‘सिसडोलमा केही समस्या आउनेबित्तिकै काठमाडौंमा फोहोर उठ्दैन। ललितपुरले रणनीतिक रुपमा व्यवस्थापन गर्दै आएको छ।’

सिसडोलमा फोहोर लैजान नसक्दा ललितपुर महानगरले आफ्नै क्षेत्रभित्र एक ठाउँमा अस्थायीरुपमा फोहोर जम्मा गरी व्यवस्थापन गर्दै आएको छ। 

यसको लागि ग्वार्कोमा अस्थायी ‘होल्डिङ सेन्टर’ छ। त्यहाँ जम्मा भएको फोहोर डम्पिङ साइटमा फाल्ने गरेको छ। अहिले सिसडोलमा फोहोर लैजान नसक्दा पनि अझै १ हप्ता अस्थायी होल्डिङ सेन्टरमा व्यवस्थापन गर्नसक्ने अर्याल बताउँछन्।  

‘१ हप्ताभित्र पनि सिसडोल फोहोर लैजानसक्ने अवस्था आएन भने हामीले नयाँ तरिकाले व्यवस्थापन गर्छौँ’, उनी भन्छन्, ‘हामीलाई विश्वास छ काठमाडौंमा जस्तो ललितपुरमा फोहोर सडकमा थुप्रिँदैन।’ 

उनले सिसडोलमा बाटोसँगै स्थानीयका समस्या रहेको बताए। यसबाहेक गाडी बिग्रिँदा पनि समस्या हुने गरेको छ तर जनतालाई दुःख नहुने गरी र विवाद नहुने गरी फोहोरको व्यवस्थापन गर्दै आएको बताए। 

होल्डिङ सेन्टर भरिएर सिसडोल लैजान नसके पनि ललितपुर महानगरपालिकाले ‘हिडन स्ट्राटेजी’अनुसार कुनै ठाउँमा व्यवस्थापन गरेको दाबी गरेको छ। गत भदौमा १ महिना सिसडोलमा फोहोर लैजान नसक्दा ललितपुर महानगरपालिकाले महानगरभित्रकै एक ठाउँमा फोहोर व्यवस्थापन गरेको थियो। 

काठमाडौंमा कहिलेबाट उठ्छ फोहोर?
काठमाडौं महानगरमा वर्षातको समयभर नियमित फोहोर नउठ्ने अवस्था देखिएको छ। सिसडोलमा स्थानीय अवरोध हटे पनि पानी पर्दा गाडी नै आउजाउ गर्न सक्दैनन्। 

फोहोर व्यवस्थापनको जिम्मेवारीमा रहेकी कामपा वातावरण विभागकी प्रमुख राईले बन्चरे डाँडामा फोहोर लैजानुबाहेकको विकल्प आफूहरुसँग नभएको बताउँछिन्। 

‘तत्काल नै बन्चरे डाँडामा फोहोर लैजान नसके अहिलेभन्दा विकराल अवस्था आउँछ’, उनले भनिन्, ‘छिटोभन्दा छिटो बन्चरे डाँडामा फोहोर लैजानुबाहेकको विकल्प हामीसँग छैन।’

बन्चरे डाँडामा ल्यान्डफिल साइट करिब तयारी अवस्थामा पुगेको छ। तर बन्चरे डाँडासम्म पुग्ने राम्रो बाटो भने बनिसकेको छैन। वर्षातको समयमा सिसडोलकै तलबाट जानुपर्ने भएकाले सडकको कारण बन्चरे डाँडामा फोहोर लैजानसक्ने अवस्था छैन। 

बन्चरे डाँडामा स्थानीय बासिन्दाले फेरि आन्दोलनको तयारी गरेका छन्। जेठ १६ गतेबाट त्यहाँ विभिन्न माग राख्दै आन्दोलन गर्ने स्थानीयले घोषणा गरेका छन्। तर काठमाडौं महानगरपालिकाले मात्रै स्थानीयको माग सम्बोधन गर्न नसक्ने जनाएको छ।

सहरी विकास मन्त्रालयले बन्चरे डाँडामा सडक निर्माणको लागि टेन्डर आह्वान गरेको छ। स्थानीयको माग सम्बोधन संघीय सरकारले गर्नुपर्ने काठमाडौं महानगरपालिकाले बताउँदै आएको छ।

आफ्नै निर्णय कार्यान्वयन गर्न सकेन 
भक्तपुर नगरपालिकाले कुहिने फोहोर सहजै छुट्याएर व्यवस्थापन गर्दा काठमाडौंले गर्नसकेको छैन। 

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै उठाउने सूचना समेत जारी गरेको थियो। तर हप्ताको १ पटक पनि फोहोर उठाउन नसकेपछि आफ्नै निर्णय कार्यान्वयन गर्नसकेको छैन। 

महानगरभित्र खेतबारी कम भएकाले कुहिने फोहोरको व्यवस्थापन घर आफैँले नगर्ने महानगरको भनाइ छ। 

‘हामीले एक पटक सम्पूर्ण फोहोर उठाउन पाएदेखि अब छुट्टाछुट्टै उठाउँछौँ भन्न पनि सजिलो हुन्थ्यो होला’, राईले भनिन्, ‘यो कुरा सहज अवस्थामा मात्रै लागू गर्न सकिने रहेछ।’

महानगरपालिकाले छुट्टै फोहोर नफाले कारबाही गर्नसक्ने अवस्था नभएको उनले भनिन्। 

‘महानगरले फोहोर उठाइदिएर कुहिने र नकुहिने छुट्याऊ भन्नसक्ने अवस्था छैन। हामीले कारबाही गर्न पनि सक्दैनौँ’, उनले स्वीकार गरिन्। 

भक्तपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गिरी भक्तपुरका अधिकांश बासिन्दाले फोहोरलाई छुट्याएरै पठाउने बताउँछन्। 

‘फोहोरलाई एकै ठाउँ मिसाउँदैनन्। पालिका वा वडामा निर्वाचित जनप्रतिनिधिले स्थानीयलाई बुझाउनुपर्छ’, गिरीले भने, ‘स्थानीयले सहयोग गर्दा फोहोर व्यवस्थापनमा सहज भएको छ।’

सबै फोहोर एकै ठाउँ थुपारेर व्यवस्थापन गर्न खोज्दा काठमाडौंमा समस्या देखिएको हुनसक्ने गिरीको भनाइ छ।  

‘काठमाडौंमा फोहोर थुप्रिएर बसेको छ। भक्तपुरमा छैन’, गिरी भन्छन्, ‘मुख्य कारण हामी आफैँले व्यवस्थापन गर्छौँ। काठमाडौंमा वरपरको सबै थुप्रिन्छ।’

सबै नगरपालिकाले स्रोतमै फोहोर कम गर्दा व्यवस्थापनमा सहज हुने उनको अनुभव छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .