कारोबार


जीर्ण बागदरबार : जसले भत्काउन खोज्यो, उसैलाई संरक्षणको दायित्व

जीर्ण बागदरबार : जसले भत्काउन खोज्यो, उसैलाई संरक्षणको दायित्व

०७२ को भूकम्पले जीर्णप्राय: बनेको बागदरबार। तस्बिर : विशाल कार्की


वसन्त अर्याल
असार २६, २०७९ आइतबार १७:२०, काठमाडौँ

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बागदरबार ‘पुनर्जीवन’को पर्खाइमा छ। काठमाडौं महानगरले भोगचलन गर्दै आएको उक्त दरबार भत्काउने वा प्रबलीकरण गर्ने विवादले जीर्ण अवस्थामा छ। 

काठमाडौं महानगरले त्यसको संरक्षण नगर्दा थुप्रै ठाउँबाट पानी चुहिन थालेका छन्। दरबारका भित्तामा बोटबिरुवा उम्रिरहेका छन्, पीपललगायतका बोटहरु हुर्किरहेका छन्। 

काठमाडौं महानगरका निवर्तमान मेयर विद्यासुन्दर शाक्यले वि.सं. १९९० सालको भूकम्पपछि निर्माण भएकाले त्यसलाई बागदरबार नभई हरिभवन मात्रै भएको उल्लेख गर्दै भत्काएर नयाँ बनाउने बताउँदै आएका थिए। 

काठमाडौं महानगरले दरबार नभएको बताउँदै भत्काउन टेन्डर समेत आह्वान गरेको थियो। तर सर्वोच्च अदालतले काठमाडौं महानगरका सबै निर्णय खारेज गरी संरक्षण गर्न निर्देशात्मक आदेश दिएको थियो। 

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा अधिवक्ता सञ्जय अधिकारीसहितले  सार्वजनिक सरोकारको रिट दर्ता गराएका थिए। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधानको संयुक्त इजलास २०७५ चैत ५ मा पुरातात्विक हिसाबले बनेकाले भत्काउन नमिल्ने निर्णय गरेको थियो। 

सर्वोच्चको फैसलापछि महानगरले संरक्षण गर्न ध्यान दिएन। योसँगै विभागले टेन्डर आह्वान गरी संरक्षण ठेक्काको जिम्मेवारी दियो। २०७६ सालमा दरबार संरक्षणको लागि पुरातत्व विभागले ठेक्का लगाएकोमा महानगरले काम गर्न अवरोध गरेको भन्दै ठेकेदारले पत्र पठाएको थियो। 

बागदरबारमा केही प्लास्टिक लगाएर पानी तर्काउन खोजे पनि अहिले फेरि सबै बिग्रिएका छन्। छोप्नका लागि लगाइएका प्लास्टिक च्यातिएका छन्। 

भत्काउने नीति ल्याएको महानगरलाई संरक्षण गर्ने दायित्व
काठमाडौं महानगरपालिका २०७४ मा हरिभवनलाई भत्काएर कार्यालय प्रयोजनको लागि ३ वटा मोहोडाको बनाउन खोजेको थियो। जसमा एउटा बागदरबार भवनको स्वरुप झल्किने, दोस्रो लिच्छविकालीन र तेस्रो आधुनिक भवन बनाउने योजना बनाएको थियो। 

काठमाडौं महानगरपालिकाले एक अर्ब ५० करोड रुपैयाँ लागतमा पुनर्निर्माण गर्ने योजना बनाएको थियो। तर सर्वोच्चले उक्त निर्णय खारेज गरेपछि बागदरबारलाई भत्काउने नीति ल्याएको थियो। अब महानगरमाथि यसको संरक्षण गर्ने दायित्व थपिएको छ। 

काठमाडौं महानगरमा बालेन्द्र शाह आएपछि काठमाडौं महानगरले उक्त ऐतिहासिक क्षेत्रमै कार्यालय सञ्चालन गर्ने घोषणा गरेको छ। 

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा हरिभवन (बागदरबार)लाई प्रबलीकरण गर्न आवश्यक प्रबन्ध मिलाइने उल्लेख छ। 

‘साबिकमा महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको वडा नं. ११ स्थित हरिभवनको प्रबलीकरण गर्न आवश्यक प्रबन्ध मिलाइनेछ’, मेयर शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ, ‘कार्यालय सञ्चालनको लागि सोही परिसरमा थप संरचना निर्माण गरिनेछ।’

काठमाडौं महानगर पूर्वाधार विकास विभाग प्रमुख राम थापाले नीति तथा कार्यक्रममा प्रबलीकरण गर्ने भनिए पनि डीपीआरलगायत बनाउन समय लाग्ने बताए। 

‘प्रबलीकरण गर्नको लागि छुट्टै अध्ययन गर्नुपर्छ। कति लागत लाग्छ त्यसको हिसाब निकाल्नुप¥यो’, थापाले भने, ‘यसअघि हामी भत्काएर नयाँ डिजाइनमा बनाउनुपर्छ भनेर लागेका थियौँ। अब प्रबलीकरण कसरी गर्नेतर्फ लाग्छौँ।’

५–६ महिनामा लागत अनुमान निस्किन्छ : थापा
काठमाडौं महानगरले प्रबलीकरणको लागि ६ महिना पूर्वतयारीमा लाग्ने बताए। पूर्वाधार विभाग प्रमुख थापाका अनुसार भवनको ड्रइङ, डिजाइन, लागत अनुमान निकाल्न अझै ५–६ महिना लाग्नेछ। 

पुरातत्व विभागले भवन संरक्षण गर्न ध्यान नदिएको बताउँदै आएको छ। तर काठमाडौं महानगरले हरिभवन भत्काउने योजना बनाएकाले संरक्षण नगरेको बताएको छ। थापाले पहिला काठमाडौं महानगरपालिकाले भत्काउने भनेर तयारी गरे पनि सर्वोच्चको निर्णयले भत्काउन नपाइने फैसला गरेपछि अन्योलको अवस्था रहँदा संरक्षण नभएको बताए। 

‘हामीले त भत्काएर बनाउने भन्ने नै नीति बनाएका थियौँ। भत्काउने भवनलाई संरक्षण गर्ने कुरै आएन’, उनले भने, ‘पहिला नगरसभाले भत्काएर पुनर्निर्माण गर्ने भनेको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्चको फैसला आयो। अहिले नगरसभाले प्रबलीकरण गर्ने निर्णय भयो। अब संरक्षण गर्छौँ।’

महानगरले भवनमा अब पानी भित्र छिर्न नपाउने गरी संरक्षण गर्ने बताए। उनले पुरातत्व विभागले पुराना भवन भत्काउने विषयमा अनुमति दिनेबाहेक अरु उसको दायित्व नभएको बताए। 

‘भत्काउने भए पुरातत्व विभागसँग सहमति लिनुपर्थ्यो। अब संरक्षण गर्ने भनेपछि काठमाडौं महानगरले नै गर्छ’, उनले भने। 

२०६० देखि महानगरले भोगचलन गर्दै
काठमाडौं महानगरपालिकाले बागदरबार वि.सं. २०६० भोगचलन गर्दै आएको छ। त्यसअघि उक्त दरबारमा अर्थ मन्त्रालय रहेको थियो। 

भीमसेन थापा विक्रम संवत् १८६८ तिर बागरदरबार बनेको इतिहासकार दिनेशराज पन्त बताउँछन्। राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा पन्तले अहिलेको भवन बागदरबारकै भवन भने नभएको उल्लेख गरेका छन्। 

उनको भनाइ छ, ‘बागदरबार धेरै जमिनमा बनाइएको र ठूलो थियो। हालको दरबार हरि शमशेरले भोगचलन गरेका हुनाले हरिभवन भनिएको हो तर उक्त दरबारलाई बागदरबारभन्दा पनि फरक पर्दैन।’

पहिलाको बागदरबार वि.सं. १९९० को भूकम्पले त्यहाँको संरचना जीर्ण बनाएकाले पुनर्निर्माणपछि जुद्धशमशेरका छोरीज्वाइँ हरि शमशेरले भोग चलन गरेकाले सो भवनलाई हरिभवन भनिएको इतिहासविद्हरुको भनाइ छ। 

जीर्ण बागदरबारका तस्बिरहरु

तस्बिर : विशाल कार्की/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .