कारोबार


फेरि युरोप, अमेरिका र खाडी देश पुग्दै छन् नेपाली जुत्ता

ठूला घरानाको लगानी चासो र सरकारको सहुलियतले जगायो आशा
फेरि युरोप, अमेरिका र खाडी देश पुग्दै छन् नेपाली जुत्ता

नेपाली जुत्ता व्यवसायीहरु।


वसन्त अर्याल
साउन ७, २०७९ शनिबार ९:१, काठमाडौँ

वर्षेनी बढ्दै गएको व्यापारघाटा, ह्रास हुँदै गएको विदेशी मुद्रा सञ्चिति र यसले अर्थतन्त्रमा बजाएको खतरा जनाउ घण्टीबारे सबै जानकार छन्। सरकारदेखि सर्वसाधारणसम्मलाई अब त उत्पादन बढाउनैपर्छ भन्ने लाग्नथालेको छ। 

त्यतिमात्र होइन ती उत्पादनलाई विदेश निर्यात नगरे रेमिट्यान्सले धानेको अर्थतन्त्र थप मक्किँदै जानेमा जो कोही सहमत छन्। केही दिनअघि मात्र थोरै नै किन नहोस्, सिमेन्ट र छड भारत निर्यात हुँदा सबै पुलकित देखिए। 

यस्तै खुसी भर्न सक्ने अवस्थामा पुग्दै छ नेपाली जुत्ता। हुन त धेरै वर्ष अघिदेखि नै नेपाली जुत्ता विदेश निर्यात हुनथालेको छ। तर अहिले सरकारले दिएको सहुलियत र ठूला घरानाले जुत्ता उद्योगमा देखाएको लगानी चासोले नेपाली जुत्ता पनि विदेशी मुद्रा भित्र्याउने माध्यम बन्नसक्ने आशा जगाएको छ।   

कुन वर्ष कति निर्यात? 
भूकम्पअघि नेपालको जुत्ता निर्यात उत्कर्षमा थियो। वार्षिक २ अर्ब बढीको जुत्ता निर्यात हुँदा आयात पनि उस्तै थियो। 

भूकम्प र नाकाबन्दीसँगै घट्नथालेको जुत्ता निर्यात पछिल्लो वर्षमा ८० करोडको पनि हुन सकेन। 

नेपालबाट भारत, स्विट्जरल्यान्ड, यूएई, अमेरिका, अष्ट्रेलिया, बेलायत, स्पेन, कतार, नर्वे, नेदरल्यान्ड्स, मलेसिया, डेनमार्कमा नेपाली जुत्ता  निर्यात हुने गरेको तथ्यांकले देखाउँछ। 

स्पोर्ट्स फुटवेयर भुटान र भारतमा बढी निर्यात हुन्छन्। जुत्तामा प्रयोग हुने कपडा, लेदर सोल, रबर सोल, प्लास्टिक हिल्स पनि केही मात्रामा निर्यात हुँदै आएको छ। आर्थिक वर्ष ०७१/०७२ मा २ अर्ब ३६ करोड रुपैयाँको निर्यात गर्दा २ अर्ब ६६ करोड रुपैयाँको आयात भएको छ। उक्त वर्ष जुत्तामा व्यापारघाटा ३० करोड रुपैयाँ मात्रै थियो। 

त्यसअघिको आर्थिक वर्ष २०७०/०७१ मा १ अर्ब ९७ करोड रुपैयाँको निर्यात भएको थियो। उक्त वर्ष २ अर्ब ९४ करोड रुपैयाँको आयात भएको थियो। 

भूकम्पपछि आर्थिक वर्ष २०७२/०७३ मा ३ अर्ब ५५ करोड रुपैयाँको आयात हुँदा नै १ अर्ब ६० करोड रुपैयाँको निर्यात भयो। त्यसपछि निर्यात घट्दै गयो र आयात बढ्दै। 

विगतमा नेपालको निर्यात बढ्नु वा घट्नुमा गोल्डस्टारको व्यापारसँग जोडिन्छ। नेपालबाट निर्यात गर्ने मुख्य ब्रान्ड नै गोल्ड स्टार हो। नेपालको निर्यात बढी हुनुमा गोल्डस्टारमा रहेको भारतीयको संयुक्त लगानीलाई कारक मान्छन् व्यवसायी। 
 
गोल्डस्टार कम्पनीसँग भारतीय व्यवसायीको पार्टनरसिप टुट्यो। भारतीय पार्टनरले भारतको दिल्लीमा नै गएर उद्योग खोले। त्यही समयमा नाकाबन्दी र भूकम्पको कारण नेपालबाट भारतमा जुत्ता निर्यात हुन सकेन। गोल्डस्टार छोडेर भारतमा उद्योग खोलेको कम्पनीले नेपालबाट जुत्ता जाने ठाउँमा आफ्नो व्यवसाय विस्तार ग¥यो। 

‘नेपालबाट करिब ८ महिना जुत्ता जान नपाएपछि ग्राहकले भारतीय कम्पनीकै जुत्ता खरिद गरे’, नेपाल जुत्ता उत्पादक संघका अध्यक्ष नानिराज घिमिरे भन्छन्, ‘गोल्डस्टारबाट छुटेको पार्टनरले उस्तै प्रोडक्ट भारतीय बजारमा बिक्री गर्न थाल्यो। त्यसले गोल्डस्टारको भारतीय बजार घट्दा नेपालको निर्यात पनि घट्यो।’

सरकारी सहुलियतले आशाको सञ्चार
यसरी निर्यात घटिरहेको समयमा सरकारले जुत्ता चप्पल निर्यातमा ८ प्रतिशत सहुलियत दिने घोषणा गरेको छ। शिखर सुजका सञ्चालक रामकृष्ण प्रसाईं निर्यात हुन नसकेको बेला यसले ठूलो सहयोग पुग्ने बताउँछन्। 

‘केही वर्षदेखि विभिन्न कारणले अवरोध सिर्जना भएको छ। सरकारले ८ प्रतिशत सहुलियत दिनु भनेको ठूलो कुरा हो’, प्रसाईं भन्छन्, ‘यसले यो आर्थिक वर्षबाट ठूलै मात्रामा जुत्ता निर्यात हुने देखिन्छ।’ 

शिखरले अहिले ठूलो परिमाणमा जुत्ता निर्यात गरेको छैन। तर विदेशमा रहने नेपालीले आफ्नो प्रयोगका लागि लैजाने गरेका छन्। प्रसाईंले सरकारको नीतिले अब निर्यातलाई प्राथमिकतामा राख्ने बताए।  

नेपालबाट ठूलो परिमाणमा गोल्डस्टारकै जुत्ता निर्यात हुने गरेको छ। फुटवेयर उद्योगमा ठूला व्यावसायिक घरानाको लगानी छैन। व्यवसायीका अनुसार अब केही ठूला घराना जुत्ता उद्योगमा लगानी गर्न इच्छुक देखिएका छन्। 

‘ठूला व्यवसायीको प्रवेश र निर्यातमा सहुलियतले फुटवेयर निर्यातमा राम्रै प्रगति हुन्छ’, अध्यक्ष नानिराज घिमिरे भन्छन्, ‘अहिले केही उद्योगले निर्यात गरिरहे पनि अब साना उद्योगले पनि निर्यात बढाउँदै लैजान्छन्।’ 

फुटवेयर मेनुफ्याक्चरर्सका निवर्तमान अध्यक्ष कृष्ण कुमार फुयालले नेपाल आयात हुने जुत्ताजन्य पदार्थमध्ये ५० प्रतिशत तयारी जुत्ता हुन्छन् भने ५० प्रतिशत कच्चा पदार्थ रहेको हुन्छ। 

५–६ वर्ष अघिसम्म नेपाली जुत्ता उत्पादकले ६–७ प्रतिशत मात्रै स्वदेशी कच्चा पदार्थ प्रयोग गथ्र्यो। अहिले ४५–५० प्रतिशत कच्चा पदार्थ स्वदेशी नै हुने गरेको व्यवसायी बताउँछन्। 

‘अहिले उद्योगीहरु नेपालमै कच्चा पदार्थसम्बन्धी उद्योग खोल्न चासो दिइरहेका छन्। अबको २–३ वर्षमा करिब ८० प्रतिशत कच्चा पदार्थ स्वदेशीले नै धान्ने देखिन्छ’, घिमिरेले नेपालखबरसँग भने। 

जुत्ता चप्पलको कच्चा पदार्थमा कपडा, पीयु र पीभीसीको सोल शतप्रतिशत नेपाली प्रयोग हुनथालेको छ। रबरका सामग्री नेपाली नै प्रयोग हुनथालेको व्यवसायी बताउँछन्। 

नेपालमा विदेशी ब्रान्डका एडिडास, नाइक, फिला, पुमा, रिबुक, कन्भर्स रहेका छन्। नेपाली चर्चित ब्रान्डमा भने गोल्डस्टारसँगै, शिखर, क्यालिबर, रोयल, ब्ल्याक हर्स, कोसेलीलगायतका छन्। 

१० करोड जोर हुन्छ जुत्ता खपत, नेपाली हिस्सा ६५ प्रतिशत 
नेपालमा वार्षिक जुत्ताको खपत औसत ३.५ जोर रहेको छ। कसैले वर्षमा १२ जोर जुत्ता खरिद गर्छ त कसैले १ जोर। नेपालको जनसंख्याको हिसाबले औसतमा प्रतिव्यक्ति साढे ३ जोर जुत्ता पर्छ। 

भारतमा प्रतिव्यक्ति जुत्ता खपत ८ देखि १० जोरसम्म छ। अर्को छिमेकी देश चीनमा यस्तो खपत प्रतिव्यक्ति १३ देखि १५ जोर छ। तर नेपालीहरुमा भने प्रतिव्यक्ति खपतको अवस्था औसतमा साढे ३ जोर मात्र छ। जुन छिमेकी देशको तुलनामा नेपालको जुत्ता खपत एकदमै कम हो। 

वार्षिकरुपमा हेर्दा कुल मागअनुसार १० करोड जोर जुत्ता खपत हुन्छ। यसमा बाहिर निर्यात हुने १ करोड जोर समेत गर्दा ११ करोड जोर कुल माग हुन आउँछ। त्यसमध्ये नेपाली उद्योगबाट ६२ देखि ६५ प्रतिशत जुत्ता उत्पादन हुन्छ। 

कुल खपत हुनेमध्ये १८–२० प्रतिशत जुत्ता नेपालमा औपचारिक च्यानलबाट आयात हुन्छ। करिब १५ प्रतिशत जुत्ता भन्सारको तथ्यांकविनै वा चोरी निकासी भई भारतबाट आयात हुने फुटवेयर मेनुफ्याक्चरर्स एसोसिएसनको भनाइ छ। 

नेपाली उद्योगीको उत्पादन क्षमता वार्षिक १६ करोड जोर छ। नेपाली उद्योगले करिब ६ करोड जुत्ता उत्पादन गर्छन् जुन उद्योग क्षमताको ४२ देखि ४५ प्रतिशत मात्रै उपयोग भएको हो। 

‘हामीसँग पूर्ण आत्मनिर्भर हुनसक्ने उत्पादन क्षमता छ। त्योसँगै करिब ७ करोड जुत्ता वार्षिक निर्यात गर्नसक्ने ठाउँमा हामी छौँ’, घिमिरेले भने, ‘तर निर्यातको लागि हाम्रो कष्ट अफ प्रोडक्सन (उत्पादन लागत) धेरै छ। भारत र चीनसँग हामीले मूल्यमा प्रतिस्पर्धा गर्नै गाह्रो छ।’

सरकारले भन्सार र निर्यातलगायतमा सुविधा दिएको कारण केही जुत्ता निर्यात गर्न सकेको व्यवसायी बताउँछन्। विदेशी उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नुमा उत्पादन लागत बढी हुनुलाई कारण मान्छन् व्यवसायी। 

शिखर सुजका सञ्चालक रामकृष्ण प्रसाईंले भूकम्पअघि नेपालको जुत्ता निर्यात बढी रहे पनि त्यसपछि घट्नथालेको बताउँछन्। 

‘भूकम्पपछि श्रमिकहरु अस्थिर भए। कम्पनी छाडेर गए। त्यसपछि भारतले नाका बन्दी ग¥यो। यसले नेपालको जुत्ता निर्यातको सप्लाई चेन (आपूर्ति शृंखला) टुट्यो’, फुटवेयर मेनुफ्याक्चरर्स एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका प्रसाईंले भने, ‘विदेशमा नेपाली जुत्ता अर्डर गर्ने खरिदकर्ताले अरु देशका उत्पादकसँग सम्बन्ध बढाए। नेपाली व्यवसायीले पुराना खरिदकर्तालाई फर्काएर ल्याउन गाह्रो भयो। त्यसपछि घट्नथालेकोमा फेरि बढ्नसकेको छैन।’ 

गोल्डस्टारकी कार्यकारी निर्देशक विदुषी राणाले भूकम्प र नाकाबन्दीपछि निर्यातको चेन ब्रेक हुँदा निर्यात घटेको बताइन्। भूकम्प र नाकाबन्दीमा श्रमिकले उद्योग छाड्दा निर्यात घटेको उनको भनाइ छ।  

‘गोल्डस्टार साढे दुई दशकअघि नै भारत निर्यात हुन्थ्यो। २०–२५ वर्ष अगाडिदेखि हाम्रो सबैभन्दा ठूलो निर्यात भारततिर हुन्थ्यो’, राणा भन्छिन्, ‘धेरैचोटि हामीले भारतका लागि ठूलो निर्यातकर्ता भनेर अवार्ड र सम्मानहरु पनि पायौँ। अहिले बहरेन, कतार, जापान, अस्ट्रेलिया, क्यानडा, अमेरिकामा पनि जुत्ता पठाइरहेका छौँ।’


  
आत्मनिर्भर भनिने फुटवेयरकै आयात ८ अर्ब बढी
१५ वर्षअघि अर्थात् आर्थिक वर्ष ०६४/०६५ मा करिब ४२ करोड रुपैयाँको जुत्ता तथा चप्पल निकासी भएको थियो। उक्त वर्ष करिब ७५ करोड रुपैयाँको आयात थियो। 

उक्त वर्ष रबर प्लाष्टिकका जुत्ता चप्पल १ लाख ६३ हजार जोर निकासी गरिएको थियो। छालाको जुत्ता १५० जोर, कपडाको जुत्ता ४० हजार ५१३ जोर, स्पोर्ट्स सेन्थेटिक सुज १८ लाख ४८ हजार र लेडिज सेन्डल ५५ हजार ८२४ जोर निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। 

१५ वर्षमा जुत्ताको वैदेशिक व्यापार ठूलो मात्रामा बढ्दा निर्यातको सट्टा आयातले ठाउँ लिँदै गएको छ। आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्म १ अर्ब ५ करोड रुपैयाँको निर्यात भएको छ भने ७ अर्ब ९३ करोड रुपैयाँबराबरको जुत्ताजन्य वस्तु नेपाल आयात भएको छ। असार मसान्तसम्मको हिसाब गर्ने हो भने फुटवेयर आयात नै ८ अर्ब माथि पुगेको छ। 

व्यवसायीका अनुसार नेपालमा जुत्ता आयात भारतसँगै चीनबाट बढी हुन्छ। भन्सार विभागको तथ्यांकले नेपालमा चीन, भारत, दक्षिण कोरिया, मंगोलिया, भियतनाम, थाइल्यान्ड, ब्राजिल, जर्मनी, इन्डोनेसिया, जापान, ताइवान, अमेरिका, युएईबाट आयात भइरहेको छ। 

भन्सार विभागको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७४/०७५ सम्म अर्बमाथिकै निर्यात छ। २०७३/०७४ मा ३ अर्ब ४४ करोड रुपैयाँको आयात हुँदा १ अर्ब २५ करोड रुपैयाँको निर्यात भएको छ। आर्थिक वर्ष २०७४/०७५ मा ४ अर्ब २७ करोडको आयात हुँदा १ अर्ब २८ करोड रुपैयाँको निर्यात भएको थियो।  

स्थिर सरकार बनेसँगै स्थिर नीति आउने र नेपालको निर्यात ह्वात्तै बढ्ने धेरै व्यवसायीको अपेक्षा थियो। तर स्थिर सरकार आएपछि निर्यातको ग्राफ झन् घट्दै गयो। 

आर्थिक वर्ष २०७५/०७६ मा ७ अर्ब ८३ करोड रुपैयाँको आयात हुँदा ९३ करोड रुपैयाँको निर्यात भएको थियो। आर्थिक वर्ष २०७६/०७७ मा ५ अर्ब ५६ करोडको जुत्ता तथा चप्पल आयात हुँदा ७८ करोड रुपैयाँको निर्यात भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ६ अर्ब ७७ करोड रुपैयाँको जुत्ताजन्य वस्तु आयात हुँदा ७९ करोड रुपैयाँको मात्रै निर्यात भएको थियो। 

नेपालमा अहिले २ हजारमाथिका जुत्ता बढी आइरहेका छन्। २ हजार तलका जुत्ता आइरहे पनि ८–१० हजारमाथिका जुत्ता बढी आइरहेका छन्। 

गोल्डस्टारकी राणा २ हजारसम्मको जुत्ताचप्पलमा आत्मनिर्भर हुन सकिने बताउँछिन्। २ हजार मूल्यमुनिका जुत्ताचप्पल बाहिरबाट ल्याउनुपर्ने आवश्यकता नभएको उनको तर्क छ।  

फुटवेयर एसोसिएसनका अध्यक्ष घिमिरे चालू आर्थिक वर्षमा आयात बढ्नुको कारण भ्यालुएसन बढ्नु रहेको बताउँछन्। परिमाणको हिसाबले आयात बढेको छैन तर मूल्यका हिसाबले बढेको बताउँछन्।    

‘आर्थिक वर्ष २०७७/०७८ मा जुत्ताको आयात ४ करोड ११ लाख जोर आयात छ भने २०७८/०७९ मा ३ करोड बढी जोर जुत्ता चप्पल आयात भएका छन्’, उनले भने, ‘तर यो परिमाणमा आउँदा पनि धेरै देखिनुको कारण जुत्ताको भ्यालुएसन दोब्बर हुनु हो। २०७८/०७९ को लागि ४ डलर रहेको जुत्ताको भ्यालुएसन ८ डलर बनायो। यसले मूल्यको हिसाबले दोब्बर आयात भयो।’

शिखरका सञ्चालक प्रसाईं नेपालमा आयात बढ्नुको कारण कोभिडलाई मान्छन्। २ वर्ष कोभिडको कारणले रोकिए पनि अहिले बढेको उनको भनाइ छ। 

‘अहिले उद्योगहरु सहजरुपमा चल्न थालेपछि उद्योगहरुले ठूलो परिमाणमा कच्चा पदार्थ भित्र्याएका छन्’, प्रसाईंले भने, ‘अहिले सबै उद्योग पूर्णरुपमा चलाउन खोजिरहेका छन्। त्यसले आयात बढाएको हुनसक्छ। ’

नेपालमा आयातित तयारी जुत्ता चीनसँगै तेस्रो मुलुकबाट बढेको हुनसक्ने प्रसाईं बताउँछन्। भारतबाट आउने जुत्ता त झन् चोरी निकासी बढेको छ। अहिले भन्सार नै नगरी र तथ्यांकमै नदेखी नेपालमा जुत्ता आयात भइरहेको छ। 

आयातमा कालोबजारी र नक्कलीको बिगबिगी मुख्य समस्या
भारतबाट तथ्यांकमा नदेखिने गरी जुत्ता चप्पल आयात हुने गरेको छ। नेपाली जुत्ता उद्योगीले चोरी निकासी जुत्ताले बजारमा समस्या सिर्जना गरेको बताउँछन्। 

खुल्ला सिमानाको कारण जोडी ल्याउनेले जोडी, साइकलमा ल्याउनेले ५ जोर, मोटरसाइकल, रिक्सामा बोराका बोरा जुत्ता भन्सार पास नगरी सिधै आयात हुने गरेको देखिएको छ। यसरी भन्सारको तथ्यांकमै नदेखिई धेरै आयात भइरहेको छ। 

२ हजार जोर जुत्ता ल्याउँदा १ हजार जोरमात्रै देखाउने कति व्यवसायीहरु पनि छन्। उद्योगीहरु नाकाहरुमा कडाइ गर्नुपर्ने माग गर्दै आएका छन्।   

‘भारतसँगको सीमा खुल्ला छ। त्यहीँ ठूला–ठूला वेयरहाउस खोलिएका छन्। गाडा, ठेलामा रातारात जुत्ताको ओसारपसार हुन्छ’, राणा भन्छिन्, ‘सय, डेढ सयमा जुत्ताहरु आइरहेको छ। त्यतिमा जुत्ता आउने त कुनै पनि चान्स नै छैन। बच्चाको भनेर ठूलाको जुत्ताहरु आइरहेका छन्।’

पछिल्लो समय नेपाली बजारमा पनि नक्कली जुत्ताको बिगबिगी रहेको राणा बताउँछिन्। उनले चीनबाट नाम चलेका ब्रान्डहरु पनि नक्कली आइरहेको बताइन्। न्यून बीजकीकरण भएर भारत र चीन दुवै देशबाट जुत्ता आइरहेका छन्। 

‘सरकारले सबैभन्दा ठूलो भूमिका खेल्नुपर्ने देखेका छौँ। अहिले बाहिरबाट धेरै नै नक्कली जुत्ताहरु आइरहेका छन्’, उनले भनिन्, ‘कर नतिरेर, न्यून बीजकीकरण गरेर र गलत डेकोरेसन गरेर जुत्ताहरु थुप्रै आइरहेका छन्।’

पाइरेसी ब्रान्डले जुत्ता बजारलाई ठूलो समस्या पारिरहेको उनी बताउँछिन्। विदेशी ब्रान्डसँगै नेपाली ब्रान्डका जुत्ता पनि नक्कली ब्रान्ड राखेर बिक्री गर्दा समस्या देखिएको व्यवसायी बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .