कारोबार


‘युवाले नेतृत्व गरेपनि देश सिंगापुर र स्विट्जरल्याण्ड बन्दैन’

‘युवाले नेतृत्व गरेपनि देश सिंगापुर र स्विट्जरल्याण्ड बन्दैन’

नेपालखबर
असोज २८, २०७९ शुक्रबार २१:५०, काठमाडौँ

एसोशिएसन अफ चार्टर्ड एकाउण्टेण्ट्स अफ नेपाल (एक्यान)ले दीगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। 

शुक्रवार एक्यानले आफ्नो वार्षिकोत्सवको अवसरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आथित्यतामा दिगो आर्थिक विकास सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना सम्पन्न गरेको हो।

सम्मेलनमा छुटछुटै विषय र बहसमा मुलुकमा दिगो आर्थिक विकासका विषयमा छलफल समेत गरेको छ।

एक्यानका अध्यक्ष दिपक पाण्डेले चार्टर्ड एकाउण्टेण्टहरुले नै दिगो विकास गर्ने किन भुमिका खेल्न अगाडि बढ्ने र निजी सरकारी क्षेत्रको आर्थिक पार्दशिता बनाउनको लागि हातेमालो गर्न चाहेकाले नीतिगत जटिलता समाधान खोज्न सम्मेलन आयोजना गरिएको बताए।

कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने बताए। उनले आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर मात्रै मुलुकमा दिगो आर्थिक विकास गर्न सकिने बताए। 

भट्टराईले एक्यानले गरेको दिगो आर्थिक विकास सम्बन्धी राष्ट्रिय सम्मेलनले दिगो आर्थिक विकासको भावी योजना तथा कार्यान्वयनमा सहजता आउने बताए। उनले नेपालमा सबैले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुगेको बताए।

डा. भट्टराईले नेपाली कांग्रेस अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नभएको प्रति असन्तुष्टि जनाए। उनले डा.वाग्ले जस्ता विद्वानहरुलाई निर्वाचन लड्नको लागि टिकट नदिए देश विकास हुन नसक्ने बताए।

डा.भट्टराईले बुद्धिजीवी र विकास गर्ने विज्ञहरुलाई राजनीतिकबाट बन्चित गर्ने हो भने देश विकास गर्न सम्भव नभएको बताए। उनले विज्ञहरुलाई देश भन्दा बाहिर पठाएर मुलुक भित्र गरिव निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने बताए। 

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले आफूले चार्टर्ड अकाउण्टेन्ट हुने धोको पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउण्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताए। 

नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले नेपालमा दिगो आर्थिक विकासको बहस हुन जरुरी रहेको भन्दै एक्यानले दिगो विकास आयोजना गरेको भन्दै खुसी व्यक्त गरिन्।

उनले दिगो आर्थिक विकासले विश्वमा शान्ति, मानव अधिकार,जनताको हित , आर्थिक समृद्धि,पृथ्वीको रक्षा ,लैगिंक समानता र भोकमरी तथा गरिबीको अन्त्यलाई समेट्ने बताइन्। 

कार्यवाहक गभर्नर डा.तिमिल्सनाले वस्तु तथा सेवाको आयातमा उच्च वृद्धि,कमजोर निर्यात,रेमिट्यान्समा कमि तथा पर्यटन क्षेत्रमा अपेक्षाकृत वृद्धि नभएको कारण शोधानान्तर स्थितिमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौतीको रुपमा रहेको बताए। 

त्यस्तै, कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्मा दंगालले नेपालको अर्थतन्त्र अण्डरभ्याल्यु भएको बताए। उनले नेपालको जिडिपी जति हो त्यो सबै एकाउन्टमा नआएको जिकिर गरे। दंगालले जिडिपी अहिलेको भन्दा बढी हुनुपर्ने भएपनि विभिन्न कारणले ठोसरुपमा जिडिपी नआएको बताए। उनले सरकार तथा अन्य सबै निकायलाई तीन÷चार वर्षदेखि मुलुकको जीडिपी राजश्व संकलन लगायतका हिसाबले हेर्दा कम रहेको उल्लेख गरे।

अर्थविद् डा. स्वर्णिम वाग्लले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसक्ने बताए। उनले नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसावले श्रीलंकको अवस्थामा पुर्याउन सकिने बताए।

वाग्लले नेपालमा अबको तीन/चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व बिस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने बताए।

वाग्लेले अहिले नेपालमा राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट नेपालीको प्रतिव्यक्ति आय ४ हजार डलर पुग्ने अवस्था भएपनि त्यस्तो हुन नसकेको बताए। उनले त्यस्तो हुन नसक्नु युवाहरुलाई राजनीतिमा आउन झ्याल ढोका नै बन्द गर्ने प्रबृत्ति कारक रहेको बताए।  

त्यस्तै,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले लिने अतिरिक्त शुल्क (प्रिमियम) ले समस्या आएको बताए।उनले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत  बैंकले अवसरको रुपमा लिएको दाबी गरे।

अध्यक्ष गोल्छाले मौद्रिक नीति अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको भएको समेत आरोप लगाए। उनले राष्ट्र बैंकको मौद्रिक नीतिले नै बैंकको ब्याजदर बढाउँदा समस्या उत्पन्न भएको बताए। 

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले प्राविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुल्ला गर्नुपर्ने बताए।गोल्यानले जडिबुटी, जलविद्युत र कृषिमा लगानी बढाएर निर्यातमार्फत नेपालको व्यापार घाटा कम गर्नसकिने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .