ad ad

कारोबार


तीन फरक क्षेत्रबाट उदाएका उद्योगी : जो भावी नेतृत्व लिन आतुर छन्

यसकारण दोस्रो चरण निर्वाचनले चुन्न सक्छ वरिष्ठ उपाध्यक्ष
तीन फरक क्षेत्रबाट उदाएका उद्योगी : जो भावी नेतृत्व लिन आतुर छन्

नेपाल उद्योग वाणिज्य महासंघको बुधबार हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षका तीन प्रत्याशी।


दीपक भट्ट
चैत २८, २०७९ मंगलबार २०:३२, काठमाडौँ

उद्योग वाणिज्य महासंघको नेतृत्वदाबीको लागि फरक तीन क्षेत्रबाट उदाएका व्यवसायीहरु चुनावी मैदानमा छन्। 

चुनावी मैदानमा तीन जना हुँदा दुई चरणमा निर्वाचन जाने देखिएको छ। 

निजी क्षेत्रका तीन छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स छन्। तीनै संस्थामा उत्पादनदेखि व्यापार गर्ने र सेवा क्षेत्रमा रहेकाहरु समावेश छन्। 

तीनमध्ये परिसंघ र चेम्बर अफ कमर्समा अहिलेसम्म सर्वसम्मत नेतृत्वचयन हुँदै आएको छ। 

यता नेपाल उद्योग वाणिज्य महासंघमा भने निर्वाचनको प्रक्रिया अपनाएर  नयाँ नेतृत्वचयन हुँदै आएको छ। महासंघ सबैभन्दा ठूलो व्यावसायिक नेटवर्क भएको छाता संस्था हो। 

यो संस्थाको चुनाव देशभर चर्चा हुने गर्छ। राजनीति तथा सरकारको समेत नजर तान्न सफल हुने महासंघको निर्वाचन बुधबार काठमाडौंमा हुँदै छ। जसकारण देशभरका लगभग सबै व्यवसायी अहिले काठमाडौंमा छन्। नयाँ वर्ष तथा व्यवसायीका कारण उपत्यकास्तरीय होटलहरु अहिले भरिभराउ छन्। 

व्यवसायीको चुनावले राजनीतिक दलदेखि कर्मचारी संयन्त्रलाई समेत तानेको छ। 

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। यसअनुसार बुधबारदेखि महासंघको नेतृत्व वरिष्ठ उपाध्यक्ष जितेका चन्द्रप्रसाद ढकालले लिँदै छन्। 

तर ढकालपछिको नेतृत्व लिन भने अहिले फरकधारबाट व्यवसायमा आएका व्यवसायीहरु चुनावी मैदानमा छन्। 

अन्जन श्रेष्ठ

डेरी उद्योगबाट जमेका, अटोमोबाइलका चल्तापुर्जा अन्जन 
वरिष्ठ उपाध्यक्षका लागि चुनावमा लड्नलागेका अन्जन श्रेष्ठ अहिलेका वस्तुगत उपाध्यक्ष हुन्। उनी लक्ष्मी ग्रुपका निर्देशक हुन्।

पोखरामा डेरी उद्योगबाट आजभन्दा ३० वर्षअघि व्यावसायिक क्षेत्रमा लागेका उनी अहिले नेपालको स्थापित व्यवसायीमा गनिन्छन्। 

उनको उत्पादनमूलक उद्योग र व्यापारिक क्षेत्रमा लगानी छ। सुजल फुड, सुजल प्लाष्टिक, सिद्धि लक्ष्मी स्टिल, सुजल डेरीको व्यवसाय हाँकेका श्रेष्ठको व्यापारतर्फ जाइमा लक्ष्मी ट्रेडिङ छ। यसले चिनी, दूध पाउडर, तरल ग्लुकोज, एसिड्युलेट्स, मुद्रण मसी, विभिन्न प्रकारका प्लास्टिक ग्रेन्युल, पाम कर्नेल तेल, पाम आयलको व्यापार गर्दै आएको छ। 

त्यस्तै अटोमोटिभ लक्ष्मी ग्रुपको महत्वपूर्ण व्यवसाय हो। उसले कोरियन कम्पनी हुन्डाई प्यासेन्जर भेहिकल्सको आधिकारिक बिक्रेताको काम पनि गरिरहेको छ। 

यसले सवारी पार्टपुर्जा, लुब्रिकेन्ट समेत बिक्री गर्छ। त्यसका साथै एसएमएल इसुजु कम्पनीको समेत नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुप हो। साथमा प्रिमियम अटो ब्राण्ड बीएमडब्लु गाडीको समेत लक्ष्मी ग्रुप आधिकारिक बिक्रेता हो। 

अन्जन श्रेष्ठलाई व्यावसायिक क्षेत्रमा स्थापित गराएकै अटोमोबाइलले हो। हुण्डाई गाडी नेपालमा सर्वाधिक बिक्री हुनेमा पर्छ। 

रामचन्द्र संघाई (बायाँबाट दोस्रो) आफ्नो प्यानलसहित

कपास उद्योगबाट उठेका ट्रेडिङ र वित्तीय क्षेत्रका हस्ती संघाई 
यता अर्का वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी रामचन्द्र संघाईले कपास उद्योगबाट व्यावसायिक यात्रा थालेका थिए। उनी त्रिवेणी ग्रुपका निर्देशक हुन्। 

यस ग्रुपको उत्पादनमूलकतर्फ सगरमाथा सिमेन्ट, विश्वकर्मा सिमेन्ट, गोरखा सिमेन्ट, मनकामना सिमेन्ट, त्रिवेणी स्पिनिङ, हिमालयन यार्न, सगरमाथा रेड मिक्स, सिद्धार्थ ग्यास, नवज्योति ग्यास, हिमाल ग्यासमा लगानी छ। 

यसबाहेक त्रिवेणी फिड उद्योग, जडीबुटी प्रशोधन उद्योग, प्लास्टिक फर्निचर ब्राण्ड डल्फिन, खाने तेल अमृत, सगरमाथा प्रिकास्ट, महालक्ष्मी सोल्मेन्ट, चिनी मिल, दालमिल, बबल्स साबुन, लहर साबुन, एकता साबुन, झिल्के साबुन, टोकला चियालगायतमा समेत त्रिवेणी ग्रुपले लगानी गरेको छ। 

त्यस्तै, ट्रेडिङतर्फ एरियल ब्राण्ड सेम्पो तथा हेयरकलरको बिक्रेता, प्रान, सनफेस्ट, न्यापकिनलगायतको बिक्रेता, पानासोनिक, सामसङ ब्राण्डका उपकरणको बिक्रेता, मसलाजन्य वस्तुको बिक्री समेत गर्दै आएको छ। 

वित्तीय क्षेत्रतर्फ एनआईसी एसिया बैंक, महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएमबी बैंकलगायतमा लगानी गरेको छ।

ऊर्जातर्फ सोलु हाइड्रो, रिटेल (खुद्रा व्यवसाय) तर्फ बिगमार्ट र बिग डिजिटलमा लगानी गरेको ग्रुपले शिक्षातर्फ दिल्ली पब्लिक स्कुल सञ्चालन गरिरहेको छ। 

त्यस्तै, मनोरञ्जनतर्फ बिग मुभी सञ्चालन गरेको छ भने खेलतर्फ भैरहवा ग्लाडियटर्स क्लबमा लगानी गरेको छ। 

यसबाहेक ग्रुपले कृषितर्फ तरकारी तथा फलफूलको व्यावसायिक खेती र त्यसको प्रशोधनमा समेत लगानी गरेको छ। अटोमोटिभतर्फ ट्रयाक्टरको स्पेयर्स पार्ट, इस्कुटर, रोयल इनफिल्ड मोटरसाइलकको बिक्रेता समेत छ।  

उमेशलाल श्रेष्ठ (बायाँबाट दोस्रो) आफ्नो प्यानलसहित

राजनीतिक परिवारमा हुर्केका, औषधि र रबर उद्योगका हर्ताकर्ता उमेशलाल
महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्याशी रहेका अर्का व्यक्ति हुन् उमेशलाल श्रेष्ठ। उनी नेपालको कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र साहना प्रधानका छोरा हुन्। 

महासंघको आगामी नेतृत्व लिन चाहने उनी महासंघकै पूर्ववस्तुगत उपाध्यक्ष समेत हुन्।  

राजनीतिक परिवारमै हुर्नेका उनी अहिले राजनीतिमा संलग्न भने छैनन्। उनी वीरगन्जमा रहेको क्वेस्ट फर्मास्युटकल्स औषधि उद्योगका सञ्चालक रहेका छन्।

जुन नेपालको ठूलो औषधि उद्योगमध्ये एक हो। त्यस्तै उनको रवर उद्योगमा समेत लगानी छ। 

यसकारण २ चरणमा जानसक्छ निर्वाचन
वरिष्ठ उपाध्यक्षको लागि तीन जना उम्मेदवार रहेकोले यो पटकको निर्वाचन दुई चरणमा जाने देखिएको छ। 

महासंघको विधानले ५० प्रतिशतभन्दा मत बढी ल्याउनुपर्ने व्यवस्था गरेको छ।

महासंघको विधानको दफा ३४.२(क) उपदफा ७.१ (क) र (ख) बमोजिमका सदस्यहरुमध्येबाट १ जना वरिष्ठ उपाध्यक्ष निर्वाचित गर्ने व्यवस्था छ। निर्वाचित हुने वरिष्ठ उपाध्यक्षले निर्वाचनमा खसेको मतको कम्तीमा ५० प्रतिशत र थप १ मत प्राप्त गर्नुपर्ने विधानमा स्पष्ट उल्लेख छ। 

विधानमा भनिएको छ, ‘पहिलोचोटि हुने निर्वाचनमा ५० प्रतिशत र थप १ मत प्राप्त गर्न नसके सबैभन्दा बढी मत प्राप्त गर्ने २ जना उम्मेदवारहरुबीच पुनः निर्वाचन गराइनेछ। पुनः निर्वाचन हुँदा दोस्रो पटक हुने निर्वाचनमा बढी मत प्राप्त गर्ने उम्मेदवार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनेछ।’ 

मतभार कति? 
वरिष्ठ उपाध्यक्षको विधानले व्यवस्था गरेको मतभार हेर्ने हो भने एसोसिएटको ३० प्रतिशत, वस्तुगतमा २० प्रतिशत र जिल्ला/नगरको ५० प्रतिशत छ।

सबैभन्दा धेरै मतभार रहेको जिल्ला/नगरको भोट बढी चलायमान हुने आकलन गरिन्छ। उक्त मत तान्न तीनै जना प्यानलसहित लागेका छन्। उनीहरु दुई/तीन महिना अघिदेखि नै जिल्ला नगरको कार्यक्रममा समेत सहभागी भएर आएका छन्। 

यी तीनै जनाले योभन्दा पहिले गरेको कार्यक्रम र उनीहरुको पछि लागेर हिँडेका व्यक्तिहरुलाई हेर्ने हो भने मिश्रित मत आउने आकलन स्वयं व्यवसायीहरुले गरेका छन्। 

कुनै समूहमा पनि नरहेका एक एसोसिएटतर्फका कार्यकारिणी पदका उम्मेदवार भन्छन्, ‘यो पटकको निर्वाचन दुई चरणमा जाने पक्का छ। दुई जना भएको भए को कमजोर को बलियो भन्ने आकलन गर्न सकिन्थ्यो। तर तीन जना भएकोले गाह्रो छ।’

यो पटकको निर्वाचनमा पहिलो चरणमा सबैभन्दा धेरै मत आउने हार्न पनि सक्ने अवस्था छ। पहिलो चरणमा पहिलो र दोस्रो हुने दोस्रो चरणको निर्वाचनमा जान पाउँछ। 

यसअनुसार तेस्रो हुनेले जसलाई समर्थन गर्छ त्यसले जित हासिल गर्ने अवस्था छ। त्यसकारणले वरिष्ठ उपाध्यक्षको उम्मेदवार को बलियो छ भन्ने आकलन गर्न नसकिएको ती व्यवसायी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .