ad ad

कारोबार


३० वर्षे व्यावसायिक यात्रामा सधैँ जितेका अञ्जन

‘देशभर घुमेर व्यवसायीका मर्का बुझेको छु, समाधान गर्न लाग्छु’
३० वर्षे व्यावसायिक यात्रामा सधैँ जितेका अञ्जन

दीपक भट्ट
चैत ३०, २०७९ बिहिबार १९:४, काठमाडौँ

भनिन्छ– कर्म गर्नेले नै मिठो फल चाख्न पाउँछ। 

आफ्नो ३० वर्षे व्यावसायिक यात्रामा दौडिरहेका अञ्जन श्रेष्ठलाई यस्तै भएको छ। 

तीन दशकयता आफ्नो व्यवसाय फराकिलो बनाउँदै गएका उनी बिहीबार नेपाली उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्ने संघारमा पुगे। 

महासंघको ५७औँ वार्षिक साधारणसभा र निर्वाचनमा उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएसँगै अब महासंघको विधानअनुसार अर्को पालि स्वतः अध्यक्ष बन्नेछन्। 

व्यवसायमा सफल अञ्जनले व्यवसायीको नेतृत्व गर्ने तहमा पनि आफूलाई अब्बल प्रमाणित गरेका छन्। वरिष्ठ उपाध्यक्ष बनेसँगै अब उनीसामु आफ्नो कार्यकाल सफल बनाएर व्यवसायीको मन जित्दै उनीहरुको नेतृत्व गर्ने चुनौती पनि छ।

हार्न नजानेका अञ्जन, यसरी बने महासंघको भावी नेतृत्व  
जसरी उनी व्यावसायिक रुपमा अघि बढिरहेका छन्, त्यसरी नै व्यवसायीहरुको नेतृत्वमा समेत उत्तिकै लम्किरहेका छन्। 

२०७२ सालमा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा निर्वाचित भएर व्यावसायिक नेतृत्वमा अघि बढेका उनी त्यसयता व्यवसायीको कुनै पनि निर्वाचन हारेका छैनन्। 

त्यसपछि दुई कार्यकाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा जितेका अञ्जनले महासंघअन्तर्गतको समितिको नेतृत्व समेत गरे। 

त्यसपछि उनी महासंघको नेतृत्वमा जाने गरी अघि बढे। उनी योभन्दा अघिल्लो कार्यकालमा वस्तुगततर्फको उपाध्यक्षमा निर्वाचित भएका थिए। 

उनी योभन्दा अघि वस्तुगतको उपाध्यक्षमा निर्वाचित हुनेबित्तिकै धेरैले उनलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारको रुपमा लिएका थिए। 

सोहीअनुसार मंसिर पुसदेखि नै निर्वाचनको तयारीमा थिए। 

जिल्ला नगरको भ्रमणदेखि महासंघको हरेक इभेन्टमा सहभागी भएका उनको सबैभन्दा धेरै राम्रो चुनावी तयारी थियो। 

उनको तयारीको कारणले नै उनले बिहीबार जित हासिल गरेर भावी नेतृत्वको बाटो तय गरे। 

रोचक प्रतिस्पर्धा 
पहिलो चरणमा सबैभन्दा बढी मतभार ल्याउने उनी नै भए। ३७ प्रतिशत मत उनले ल्याउँदा उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले क्रमशः ३१ र ३० प्रतिशत मत पाए। योसँगै सबैभन्दा कम मत ल्याउने संघाई बाहिरिए। 

उनी बाहिरिएपछि ५० प्रतिशत मत कटाउन नसकेका अञ्जन र उमेशलाले फेरि दोस्रो चरणको चुनाव लड्नुपर्ने भयो। बिहीबार २ बजे चुनाव गर्ने तयारी गरेको निर्वाचन समितिले सहमतिको अवसर दिँदै ४ बजेपछि मात्रै चुनाव हुने बतायो। 

यहीबीचमा अञ्जनले उमेशलाललाई सहमतिमा ल्याउन सफल भए। त्यसपछि उमेशलालले उम्मेदवारी फिर्ता लिए भने अञ्जन निर्विरोध निर्वाचित भए। जसले उनलाई महासंघको भावी नेतृत्व बनायो। 

‘देशभर घुमेर व्यवसायीका मर्का बुझेको छु, समाधान गर्न लाग्छु’
अञ्जनले निर्वाचनअघि देशभर भ्रमण गरेका थिए। वरिष्ठ उपाध्यक्ष चुनिएसँगै अब व्यवसायीका मर्का बुझेकाले समाधान गर्न लाग्ने उनले बताएका छन्।

व्यवसायीका समस्या लिपिबद्ध गरेकाले कार्यसमितिको बैठकमा राखी समाधानको उपाय खोज्ने उनको भनाइ छ। अञ्जनले तत्काल ब्याजदर घटाउनेलगायतका व्यवसायीका समस्या समाधान गर्नुपर्ने अवस्था रहेको बताए। 

‘बजारमा लगानीयोग्य पुँजी छैन। स्वदेशी पुँजीले मात्रै नपुगेर विदेशी लगानी भित्र्याउनुपर्छ’, उनले भने, ‘सरकार र निजी क्षेत्र दुवैले पूँजी भित्र्याउनुपर्छ।’

यसका साथै उनले युवा जनशक्ति बढाउनुपर्ने र दक्ष जनशक्ति बढाउने विषयमा आफ्नो ध्यान हुने बताएका छन्। 

व्यवसायीलाई नीति नियमले कस्ने मात्रै होइन सहज बनाउनु तर्फ लाग्न आफ्नो पहल हुने बताएका छन्।

उमेशलालसँग दोस्रो लडाइँ
निजी क्षेत्रको तीन छाता संस्था छन्। तीनै संस्थामा उत्पादनदेखि व्यापार गर्ने र सेवा क्षेत्रमा रहेकाहरु समावेश छन्। 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स रहेका छन्। परिसंघ चेम्बर अफ कमर्समा अहिलेसम्म सर्वसम्मत नेतृत्व चयन हुँदै आएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघमा भने निर्वाचनको प्रक्रिया अपनाएर नयाँ नेतृत्वचयन आएको छ। महासंघ सबैभन्दा ठूलो व्यावसायिक नेटवर्क भएको छाता संस्था पनि हो। 

यसको नेतृत्वमा अञ्जन श्रेष्ठ पुगेका हुन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित स्वतः अध्यक्ष बन्ने प्रावधान छ। जसअनुसार यो अघि वरिष्ठ उपाधयक्षमा चयन भएका चन्द्र प्रसाद ढकाल अध्यक्ष भएका छन्। अबको तीन वर्षपछि अञ्जन श्रेष्ठ भावी नेतृत्वमा जानेछन्। 

यता महासंघमा अञ्जनको यो दोस्रो लडाइँ हो। यसअघि पनि वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ चुनावी प्रतिस्पर्धामा थिए। 

त्यसमा अञ्जनले नै जित हासिल गरेका थिए। यो पटक पनि तीन जना वरिष्ठ उपाध्यक्षको दाबेदार देखिएकोमा पहिलो र दोस्रो अञ्जन र उमेशलाल नै भए। 

उनीहरु दोस्रो चरणको लागि निर्वाचन तय समेत भएको थियो। तर सहमतिमा उमेशलालले अञ्जनलाई भावी नेतृत्व छाडेका छन्। 

३० वर्षे व्यावसायिक उडान
पोखराबाट आजभन्दा ३० वर्षअघि डेरी व्यवसायमार्फत आफ्नो व्यावसायिक यात्रा सुरु गरेका अञ्जन लक्ष्मी ग्रुपका निर्देशक हुन्। 

उनी अहिले नेपालको स्थापित व्यवसायीमा पर्छन्। उत्पादनमूलक उद्योग, व्यापारिक क्षेत्रमा लगानी गरेको छ। सुजल फुड, सुजल प्लाष्टिक, सिद्धि लक्ष्मी स्टिल, सुजल डेरी छन्। 

व्यापारतर्फ जाइमा लक्ष्मी ट्रेडिङ छ। यसले चिनी, दूध पाउडर, तरल ग्लुकोज, एसिड्युलेट्स, मुद्रण मसी,  विभिन्न प्रकारका प्लास्टिक ग्रेन्युल, पाम कर्नेल तेल, पाम आयलको व्यापार गर्दै आएको छ। 

त्यस्तै अटोमोटिभ लक्ष्मी ग्रुपको महत्वपूर्ण व्यवसाय हो। उसले कोरियन कम्पनी हुन्डाई प्यासेन्जर भेहिकल्सको आधिकारिक बिक्रेताको काम पनि गरिरहेको छ। 

यसले सवारी पार्टपुर्जा, लुब्रिकेन्ट समेत बिक्री गर्छ। त्यसका साथै एसएमएल इसुजु कम्पनीको समेत नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुप हो। साथमा प्रिमियम अटो ब्राण्ड बीएमडब्लु गाडीको समेत लक्ष्मी ग्रुप आधिकारिक बिक्रेता हो।

अञ्जन श्रेष्ठ व्यवसायमा उदाएको भनेको अटोमोबाइल क्षेत्रबाट हो। हुण्डाई गाडी नेपालमा सर्वाधिक बिक्री हुनेमा पर्छ जुन अञ्जनकै लक्ष्मी ग्रुपले बिक्री गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .