ad ad

कारोबार


बन्दीपुरमा ३ अर्ब लगानीमा पाँचतारे होटलसहितको केबलकार

बन्दीपुरमा ३ अर्ब लगानीमा पाँचतारे होटलसहितको केबलकार

बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल। तस्बिर : वसन्त अर्याल


वसन्त अर्याल
असार १०, २०८० आइतबार १९:४७, बन्दीपुर, तनहुँ

तनहुँको बन्दीपुरमा करिब ३ अर्ब रुपैयाँ लगानीको केबलकार अन्तिम चरणमा पुगेको छ। 

स्थानीय सरकार र निजी व्यवसायीको संयुक्त लगानीमा बन्दीपुरमै पहिलो ५ तारे होटल सञ्चालनमा ल्याउन लागिएको हो। मौलिक सांस्कृतिक पहिचानसहितको बन्दीपुरमा होटल र केबलकारले पर्यटक बढाउने अपेक्षा गरिएको छ। 

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले बन्दीपुरमा रिसोर्टसहितको केबलकार निर्माण गरिरहेको छ। केवलकार निर्माण सकिएर परीक्षण भइरहेको छ। अहिले ५ तारे होटल निर्माणधीन छ। 

होटल र केबलकार निर्माणका लागि पब्लिक कम्पनी २०७९ भदौ २७ मा उद्योग विभागमा दर्ता भएको थियो। 

८६ करोड कूल पुँजी भएको कम्पनीले ९७ बेडको होटल र २५० सिटको रेस्टुरेन्ट निर्माण गरिरहेको छ। कम्पनीले दुई चरणमा आयोजना निर्माण गरिरहेको छ। 

पहिलो चरणमा केबलकार निर्माण सकिँदैछ। त्यसपछि रेस्टुरेन्ट र होटल भवन तयार पारिने छ, दोस्रो चरणमा केबलकारको टप स्टेसनमा पाँचतारे होटल निर्माण गर्न योजना छ।  केबलकार निर्माण अन्तिम चरणमा पुगेर परीक्षण भइरहेको छ। कम्पनीका अनुसार दोस्रो चरणको निर्माण आगामी पुससम्म सक्ने योजना छ। 

‘केबलकारको पोल गाडिसकेर लठ्ठा पनि तानिसकेकाले अहिले परीक्षण भइरहेको छ,’ कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले भने, ‘टप स्टेशनमा होटल निर्माण नसकिएकाले केवलकार सञ्चालन गरेका छैनौँ।’

कम्पनीले पुरानो डुम्रेबजारनजिकै केबलकारको बेस स्टेसन बनाइरहेको छ। स्टेशनमा रेष्टुरेन्टसहितको भवन तयार हुने चरणमा छ। अहिले गेट र पहुँचमार्ग निर्माण भइरहेको छ। 

पृथ्वी राजमार्गसँगै रहेको स्टेशनमा आकर्षक बगैँचासहितका संरचना बन्दै छन्। टप स्टेशनमा पाँच तारे होटलको बाहिरी संरचना करिब तयार भएको छ। 

इन्टेरियर र फिनिसिङ भइरहेको निर्माणमा संलग्न कर्मचारीले बताए। कम्पनीका अध्यक्ष शर्माले केबलकारको सफल परीक्षण भए पनि यात्रु बोक्ने अनुमति लिन बाँकी रहेको बताए। 

कम्पनीले सुरुको चरणमा रोप–वेको परीक्षण गरेको थियो। दोस्रो चरणमा गंडोलामार्फत समान बोकेर परीक्षण भइसकेको को कम्पनीले जनाएको छ। दसैँघि नै केवलकार सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ।  

‘सुरुमा केवलबार सञ्चालन हुन्छ। होटल बनिसकेपछि मात्रै पूर्णरुपमा सञ्चालनमा आउँछ,’ शर्माले भने, ‘मंसिर–पुससम्म होटल पनि सञ्चालनमा ल्याउने लक्ष्य राखेका छौँ।’

२०७५ मै केवलकार निर्माण अगाडि बढाइएको थियो। केवलकारको दूरी १७ सय मिटर लामो छ। केवलकारमा प्रतिघण्टा ५ सय यात्रु बोक्ने क्षमता छ। 

२१ वटा गन्डोलाले मानिस बोक्ने छन्। त्यसबाहेक ६ वटा गन्डोलाई नै रेष्टुरेन्टका रुपमा प्रयोग गर्न मिल्ने बनाइएको छ। 

दिनभर मानिसलाई बन्दीपुर अवलोकनका लागि केवलकार सञ्चालन गरिने छ। साँझ ५ बजेदेखि राति ११ बजेसम्म केवलकार रेष्ट्रो प्रयोगमा आउने छ। 

बन्दीपुर डाँडामा पाँचतारे ‘क्वीन टावर’
केवलकारको माथिल्लो स्टेशन अर्थात् टप स्टेशनमा १३ तले तारे होटल बन्दै छ। जसको नाम छ, क्वीन टावर। बन्दीपुरको सबैभन्दा माथिल्लो डाँडाको होटलको रुफटप अर्थात् १३ औँ तलामा स्वीमिङ पुल रहने छ। होटलमा करिब एक हजार मानिस अट्ने कन्फरेन्स थिएटर रहने छ।  
सुरुमा कम्पनीको अनुमानित लागत १ अर्ब ६६ करोड रुपैयाँ थियो। अहिले यो परियोजनामा करिब ३ अर्ब रुपैयाँ पुग्न लागेको कम्पनीले जनाएको छ। 

कम्पनीका अध्यक्ष शर्माले कोभिड माहामारी लगायतका कारण लागत र सञ्चालनमा ढिलाइ भएको बताएका छन्। 

‘पाँचतारे होटलको ८५ प्रतिशत बढी काम भइसकेको छ,’ अध्यक्ष शर्माले भने, ‘केबलकार सञ्चालनसँगै मंसिरपछि होटल सञ्चालनमा ल्याउने तयारीमा छौँ।’

कम्पनीले केवलकारसँगै नयाँ अनुभव हुने बञ्जीको संरचना पनि बनाउने भएको छ। धेरै ठाउँमा नदीमाथिबाट पुलबाट बञ्जी हान्ने गरिन्छ। 
बन्दीपुरमा होटल छेउको डाडाँबाट तल जंगलमा बन्जी गर्ने व्यवस्था गरिँदैछ। कम्पनीले यसबाट अन्य ठाउँकोभन्दा फरक अनुभूति हुने जनाएको छ। 

बन्दीपुर केबलकारमा ५ वटा संस्थासँगै विभिन्न व्यक्तिको लगानी छ। आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पञ्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयको लगानीमा केवलकार निर्माण भइरहेको छ। यो परियोजनामा ११ सयभन्दा बढी लगानीकर्ता छन्। कम्पनीका अध्यक्ष रामचन्द्र शर्मा हुन्। 

होटलको टुप्पोबाट पर्यटक आकर्षण गर्ने लक्ष्य कम्पनीले राखेको छ। केबलकारबाट माथि पुगेपछि धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, गणेश र लाङटाङ हिमालय रेञ्ज अवलोकन गर्न सकिन्छ। कम्पनीको बेस स्टेशननजिकै नेपालकै ठूलो सिद्ध गुफा पनि छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .