कारोबार


काठमाडौं महानगरको पुँजीगत खर्च ६६.२८ प्रतिशत, कुन क्षेत्रमा कति?

काठमाडौं महानगरको पुँजीगत खर्च ६६.२८ प्रतिशत, कुन क्षेत्रमा कति?

नेपालखबर
असार १०, २०८० आइतबार १४:३९, काठमाडौँ

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ।

‘साँस्कृतिक शहर, समृद्ध महानगर’ नारालाई मुर्तरुप दिनेगरी आगामी वर्षको बजेट सार्वजनिक गरिएको हो।

महानगरले चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरेको छ। जुन क्रमशः ३३.७२ र ६६.२८ प्रतिशत हुन आउँछ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ मा व्यवस्था भएको वडा समितिको काम, कर्तव्य र अधिकारलाई अझ प्रभावकारी र नागरिकमैत्री हुने गरी प्रचलन गराउन केही योजना तथा कार्यक्रम वडा तहबाट नै सञ्चालन गर्ने गरी कुल २ अर्ब ७५ करोड ५३ लाख ७४ हजार रकम विनियोजन गरेको छ।

महानगरपालिकामा कार्यरत कर्मचारीहरुको लागि सुनौलो अवकाश योजनाका लागि आवश्यक कानून तर्जुमा गरि कार्यान्वयन गर्न १० करोड रकम विनियोजन गरेको छ।

महानगर क्षेत्रभित्रका युवा जनशक्तिलाई ‘श्रम बैंक स्वर्णिम योजनामा आबद्ध गराई सिप तथा क्षमता विकास मार्फत रोजगारीको अवसर सिर्जना गर्न १० करोड रकम विनियोजन गरेको छ।

शिक्षा
काठमाडौं महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरुमा आधारभूत प्राविधिक ज्ञान र सीप समेतको प्रव्द्धन गर्न ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजना अन्तर्गत कार्यक्रमको लागि ५० करोड विनियोजन गरेको छ।

साथै, सामुदायिक विद्यालय परिसरभित्रको सरसफाई र सौन्दर्यीकरणलाई नियमित र स्वचालित बनाइ विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउनको लागि ५ करोड रकम विनियोजन गरेको छ।
महानगरले सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापन गर्ने जनाएको छ।

महानगरक्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये हाल कक्षा ८ सम्मका विद्यार्थीहलाई मात्र खाजा खर्च उपलब्ध गराउँदै आइरहेकोमा आर्थिक वर्ष २०८०।८१ देखि डिजिटल हाजिरी प्रमाणित अभिलेखका आधारमा तोकिएको दरमा खाजा सुविधा उपलब्ध गराउन आवश्यक रकम सहितको प्रबन्ध मिलाएको छ।

महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्न ३० करोडको छुट्टै सोधभर्ना कोषको व्यवस्था गरेको छ भने सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको लागि मासिक भत्ता वृद्धि गरिएको छ।

आर्थिक वर्ष २०८०।८१ मा महानगरपालिकाको समग्र शिक्षा क्षेत्रतर्फको विभिन्न कार्यक्रम सञ्चालन गर्न तथा नियमित क्रियाकलापको लागि काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेको छ।

स्वास्थ्य
काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका शहरी स्वास्थ्य क्लिनिकहरुको स्तरोन्नति सहित स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रुपान्तरण गरी महानगरवासीहरुका लागि ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ योजना मार्फत सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन  ३५ करोड र महानगरवासीलाई सहुलियत मूल्यमा औषधि उपलब्ध गराउनका लागि ‘सुलभ फार्मेसी’को स्वर्णिम योजना कार्यान्वयन गर्न ६ करोड बजेट विनियोजन गरेको छ।

महानगरले बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पतालसँगको सहकार्यमा एक निर्दिष्ट नगर अस्पताल सञ्चालनमा ल्याउन १० करोड बजेट विनियोजन गरेको छ।

नेपालका विभिन्न गाउँपालिकाहरुका लागि मागको आधारमा ३५ वटा एम्बुलेन्स खरिद गरि उपलब्ध गराउन ७ करोड रकम विनियोजन गरेको छ।

महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२ हटलाइन) सञ्चालन गर्न १ करोड ४४ लाख बजेट विनियोजन गरेको छ।

साथै, महानगर भित्रका व्यक्तिगत तथा संस्थागत भान्छाहरुलाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न ‘स्वच्छ भान्छा’ कार्यक्रमका लागि ३ करोड ५० लाख रकम विनियोजन गरेको छ।
महानगरले स्वास्थ्य कार्यक्रमतर्फ कुल रकम ९२ करोड ६६ लाख ४४ हजारविनियोजन गरेको छ।

पूर्वाधार
महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटी मध्ये डीपीआर भएका सडक तथा पेटीहरु मर्मत तथा निर्माण गरि ‘धुलो रहित काठमाडौं’ योजनालाई कार्यान्वयन गरिने वजनाएको छ। यस योजना अन्तर्गत विभिन्न कार्यक्रम संचालन गर्न १०० करोड रकम विनियोजन गरेको छ।

साथै, सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापना सहित पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्रमुख सडकहरुमा फाइवर तथा अन्य केवल विस्तारको लागि आफ्नो १० करोड बजेट विनियोजन गरेको छ।

महानगर क्षेत्रभित्रका सडक, रेलिङ, वाल, कार्यालय परिसर, पार्क क्षेत्रलाई नियमित एवं स्वचालित रुपमा सुन्दर तथा जीवन्त बनाई राख्ने उद्देश्यले सञ्चालित ‘सुन्दर महानगर योजना’ अन्तर्गत २५ करोड रकम विनियोजन गरेको छ।

महानगरले ‘उज्यालो शहर, मेरो महानगर’ योजना अन्तर्गत महानगरका सबैसडक तथा गल्लीमा सडक बत्ती जडान गर्ने एवं महानगरका १०० वटा मुख्य चोक तथा क्षेत्रहरुमा क्यामेरा सहितको व्यवस्था गर्ने कार्यक्रमको लागि ३० करोड रकम विनियोजन गरेको छ।

महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजना सहित कुल ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रकम विनियोजन गरेको छ।
संस्कृति सम्पदा तथा पर्यटन

महानगर क्षेत्रभित्रको मुर्त–अमूर्त सम्पदाहरुको पुनःर्निमाण एवं संरक्षण कार्यलाई ५० करोड र पोखरीको नियमित मर्मत सम्भार र संरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न महानगर स्वर्णिम योजना अन्तर्गत २ वटा कार्यक्रमको लागि २६ करोड रकम विनियोजन गरेको छ।

महानगरले ठमेल क्षेत्रलाई पर्यटक हबको रुपमा विकास गर्दै गुरुयोजना सहितको कार्यक्रम सञ्चालन गर्न तथा महानगरपालिका भित्रका बहाःबही सहितको पर्यटकीय क्षेत्रहरुको सम्बन्धी एप निर्माण समेतको पर्यटन विकास कार्यक्रमको लागि २ करोड ५० लाख रकम विनियोजन गरेको छ।

महानगरले मौलिक तथा स्थानीय जात्रापर्वलाई प्रभावकारी रुपमा सञ्चालन एवं प्रवर्द्धन गर्न वडा समेतका लागि कुल १ करोड ८८ लाख र संस्कृति, सम्पदा एवं पर्यटन कार्यक्रमको लागि गत आर्थिक वर्षको क्रमागत योजना सहित कुल २ अर्ब १३ करोड ७६ लाख रकम विनियोजन गरेको छ।

वातावरण व्यवस्थापन
महानगरले आगामी आर्थिक वर्षभित्रमा फोहरमैला व्यवस्थापनको उपयुक्त विधि र प्रणाली सहितको कार्यक्रम सञ्चालन गर्न सरसफाई कार्यमा प्रयोग हुने सवारी साधन एवं यन्त्र उपकरणको उपलब्धतामा कमी नहुने व्यवस्था गर्न त्यस्ता सवारी साधन र उपकरण खरिद गर्नका लागि २७ करोड रकम विनियोजन गरेको छ।

साथै, नदीहरुको नियमित सरसफाई गरी नदी किनार क्षेत्र समेतको संरक्षण कार्यक्रमलाई महानगर स्वर्णिम योजनाको रुपमा सञ्चालन गर्न  ७ करोड रकम विनियोजन गरिएको छ।

संस्थागत विकास तथा सुशासन सम्बन्धी
महानगरको क्षेत्रगत विषयको जनशक्तिको अभावलाई तत्काल परिपूर्ति गर्न कुचिकार ३०० जना, कार्यालय सहयोगी ५१ जना, चौकीदार ३२ जना, स्वास्थ्यकर्मी २६९ जना र नगरप्रहरी जवान १५१ लाई करारसेवा मार्फत सम्झौता गरी काममा लगाउन आगामी आर्थिक वर्षको लागि  ३० करोड रकम र नगरप्रहरीतर्फ कुल ५०० जनाको दरबन्दी रहने व्यवस्था गरेको छ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १२ मा व्यवस्था भएको वडा समितिको काम, कर्तव्य र अधिकारलाई अझ प्रभावकारी र नागरिकमैत्री हुने गरी प्रचलन गराउन केही योजना तथा कार्यक्रम वडा तहबाट नै सञ्चालन गर्ने गरी कुल २ अर्ब ७५ करोड ५३ लाख ७४ हजार रकम विनियोजन गरेको छ।

सहरी यातायात
काठमाडौं महानगरले पैदलयात्रीहरुलाई सहज आवागमन एवं सडक सुरक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गर्न १० करोड रकम विनियोजन गरेको छ।

साथै, महानगरवासीलाई सरल, सहज र चुस्त आवागमनको लागि साइकल लेनको सम्भाव्यता अध्ययन गर्ने जनाएको छ।  

कानुन तथा मानव अधिकार
महानगरले महानगरवासीहरुको लागि न्याय, कानुन तथा मानवअधिकार क्षेत्रमा परामर्शको लागि स्वर्णिम योजनाका रुपमा ‘न्याय चौतारी’ कार्यक्रम संचालन गर्न १ करोड रकम विनियोजन गरेको छ।

साथै, महानगरपालिकाको केन्द्रीय कार्यालय र वडा कार्यालयहरुबाट निःशुल्क कानुनी सेवा प्रवाह गर्न ६८ लाख रकम विनियोजन गरेको छ।यता, वडा महिला सञ्जाललाई थप शसक्त र प्रभावकारिताको लागि आवश्यक रकम ३२ लाख बजेट विनियोजन गरेको छ।

कृषि तथा पशुपंक्षी
महानगरले महानगरवासीलाई अर्गानिक तरकारी, फलफूल तथा माछामासु र अन्य खाद्यवस्तुको सहज उपलब्धताका लागि अन्य स्थानीय तहसँग सम्झौता गरी कृषिउपजको बिक्री वितरण तथा भण्डारण गर्ने संस्थागत प्रबन्ध तथा ‘एग्रोपुलिङ’ कार्यक्रमको लागि १ करोड रकम विनियोजन गरेको छ।

साथै, महानगरपालिका क्षेत्रमा भित्रिने तरकारी एवं फलफूलको विषादी परीक्षण गर्न विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि १ करोड ५० लाख रकम विनियोजन गरेको गरेको छ।

विपद व्यवस्थापन
महानगरले सम्भावित विपद् जोखिम न्यूनीकरण गर्ने कार्यक्रम अघि बढाउने जनाएको छ। महानगरले विपद व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रम तथा उपकरणहरु खरिद गर्न ३ करोड ५० लाख रकम विनियोजन गरेको छ।
साथै, काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा वर्षात्को समयमा हुने डुबान न्यूनीकरणको लागि ‘डुबान समाधान’ स्वर्णिम कार्यक्रम मार्फत खर्च हुने गरी ४ करोड रकम विनियोजन गरेको छ।

शहरी योजना आयोग
महानगरको शहरी व्यवस्थापन सम्बन्धी विषयको अध्ययन र अनुसन्धान गर्न ५ करोड रकम विनियोजन गरेको छ। साथै, काठमाडौँ महानगरपालिकाको २० वर्षे रणनीतिक योजना ‘मिसन २१००’ तर्जुमा गर्नको लागि १ करोड रकम विनियोजन गरेको छ।

सूचना तथा प्रविधि
महानगरबाट प्रदान गरिने सबै सेवाहरुलाई अनलाइन प्रणालीमार्फत गर्ने गराउने कार्यलाई महानगरको गौरवको योजनाको रुपमा आत्मसात गरि ‘सुशासनको लागि अनलाइन सेवा’ योजना अन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्न १५ करोड रकम विनियोजन गरेको छ।

महानगरका मुख्य सडक, चोक एवं गल्ली समेतमा क्यामेरा जडान गरी महानगरवासीलाई सुरक्षित परिवेशमा बस्न योग्य शहर बनाउने उद्देश्यले ‘महानगरले देख्छ’ योजनालाई गौरवको कार्यक्रमको रुपमा अघि बढाउन २० करोड रकम विनियोजन गरेको छ।

साथै, महानगर टेलिभिजन स्थापना गर्नका लागि ५ करोड रकम विनियोजन गरेको छ।

हरियाली प्रवर्द्धन
महानगरले ‘मेरो रहर, हरित सहर’ उद्देश्यलाई चरितार्थ गर्न महानगर गौरवको योजनाको रुपमा कार्यान्वयन ल्याउने र महानगर क्षेत्रको पार्क, आइल्याण्डको निर्माण, मर्मत, संरक्षण कार्यको लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ।

सामाजिक विकास
महानगरपालिकाले सामाजिक विकासको मुख्य कार्यक्रमको रुपमा ‘रोजगारी र आयवृद्धि, महानगरको समृद्धि’ कार्यक्रमलाई अघि बढाउन १० करोड विनियोजन गरेको छ। साथै, ‘साथी महानगर’ स्वर्णिम योजनाले महानगरवासीको सुखदुःखमा साथ दिने उद्देश्यले यस कार्यक्रमको लागि २ करोड रकम विनियोजन गरिएको छ।

त्यसैगरी महानगरले ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ सञ्चालन गर्न १ करोड रकम विनियोजन गरेको छ। ‘एक टोल, एक खेलकुद पूर्वाधार’ तथा समग्र खेलकुद क्षेत्रको विकासका लागि स्वर्णिम योजना सहितको कार्यक्रम सञ्चालन गर्न रु १० करोड ५० लाख रकम विनियोजन गरेको छ।

सहकारी
महानगरले संकटग्रस्त सहकारी व्यवस्थापनको लागि संस्थागत संयन्त्र निर्माण गरी प्रभावकारी कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ।

स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गरिने छ।

काठमाडौं महानगरले उत्पादन र उपभोगलाई जोड्न मेट्रो मार्ट सञ्चालनमा ल्याउन १ करोड रकम विनियोजन गरेको छ।

आर्थिक विकास
निजी क्षेत्रको स्रोत, साधन, सीप र प्रविधिको उपयोग गरी सार्वजनिक निर्माण तथा सेवाप्रवाहमा साझेदारी कार्यक्रम प्रबद्र्धन गर्न आवश्यक बजेट सहितको व्यवस्था मिलाएको छ।

करको दरमा समसामयिक पुनरावलोकन गर्न तथा करको दायरा फराकिलो बनाई राजश्व परिचालनमा थप प्रभावकारिता ल्याउन कर टोली गठन गरी परिचालन समेत गरिनेछ। यसका लागि कूल ३ करोड ४२ लाख रकम विनियोजन गरेको छु।

पूर्णपाठ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .