ad ad

कारोबार


केबलकारले मौलाकालिका मन्दिरमा धार्मिक पर्यटकको संख्या बढ्यो

केबलकारले मौलाकालिका मन्दिरमा धार्मिक पर्यटकको संख्या बढ्यो

मौलाकालिका मन्दिर


टेकराज पोखरेल
असार १७, २०८० आइतबार ६:५१, नवलपुुर

यसअघि गैँडाकोट तथा नारायणगढ आउँदा टाढैबाट मन्दिर दर्शन गरेर जाने ६१ वर्षीया लक्ष्मी उपाध्याय गत सोमबार मौलाकालिका मन्दिरमा पूजा गर्न पुगेकी थिइन्। जिल्लाको मध्यबिन्दु–३ बाट आएकी उनले हामीसँगको कुराकानीमा १७ वर्षपछि सोमबार मबन्दिर पुगेको बताइन्। 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा हिँडेर जानुपर्ने भएकाले आफू १७ वर्षसम्म मन्दिर दर्शनका लागि जान नसेकेको उपाध्यायले बताइन्। ‘सत्र वर्षअघिसम्म त वर्षमा दुई/तीन पटक मौलाकालिका मन्दिर आउने गरेकी थिएँ’, उनले भनिन्, ‘बिस्तारै बुढेसकाल लागेपछि हिँडेर मन्दिर पुग्नसक्ने अवस्था नभएकाले टाढैबाट मन्दिरको दर्शन गरेर घर फर्किने गरेकी थिएँ।’ यसपटक भने मन्दिरसम्मै पुग्न सकिने केबलकार सञ्चालनमा आएको सुनेर आफू मन्दिर दर्शनका लागि आएको उनले बताइन्।

‘पहाडको फेदीबाटै केबलकार चल्दा सहज भएको छ। केबलकारमा पाँच मिनेको यात्रापछि मन्दिर नजिकै ओर्लिन पाइने रहेछ, यात्रा पनि रमाइलो लाग्यो’, उनले भनिन्, ‘जिन्दगीमै पहिलोपटक केबलकार चढ्ने मौका मिल्यो, केबलकारबाट झरेको पाँच मिनेटमै माताको दर्शन गर्न मन्दिर पुगिँदो रहेछ।’ केबलकार सञ्चालनपछि हिँड्न नसक्ने व्यक्तिका लागि मन्दिर पुग्न सहज भएको उनले बताइन्। यसअघि आफू नारायणगढ र गैँडाकोट आइराख्ने भए पनि टाढैबाट माताको दर्शन गरेर फर्किने गरेको उपाध्यायले सुनाइन्।

अहिले मौलाकालिकामा पूजाआजा गर्न जाने त भए नै धार्मिक पर्यटन प्रर्वर्द्धनका लागि विभिन्न समूह बनाएर जाने व्यक्तिहरु पनि पुग्ने गरेका छन्। पहिले तल देवघाट दर्शनमा आएका व्यक्तिहरु त्यहाँबाटै फर्किने गरेका भए पनि अहिले केबलकारको सुविधाका कारण मौलाकालिका मन्दिर पनि पुग्ने गरेका सोमबार धनगढीबाट मन्दिर दर्शनका लागि आएका कैलाश आचार्यले जानकारी दिए। 

आचार्यले भने, ‘पहिले पनि दर्शन गर्न पुगेको थिएँ, यहाँ हिँड्न नसक्नेलाई गाडीमा जान सकिने सुविधा पनि थियो र अहिले पनि रहेछ। तर गाडी भरपर्दो नहुने। पानी पर्दा हिलो हुने र उकालोमा गाडी नचल्ने भएकाले एकपटक हामी बीचबाटै फर्र्किएका थियौँ तर यसपालि निकै सजिलोगरी देवीको दर्शन गर्न पाइयो। सपरिवार आएका थियौँ अब आज नै घर फर्किन्छौँ।’ 

गैँडाकोट–१ को धारापानीबाट मन्दिर नजिकैको हेलिप्याडसम्म केबलकार सञ्चालनमा आएपछि मन्दिरमा दर्शन तथा पूजाआजाका साथै धार्मिक पर्यटनमा आउनेको सङ्ख्या बढेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले जनाएको छ। समितिका आन्तरिक लेखा समिति संयोजक शोभाकान्त काफ्लेले पहिलेको तुलनामा अहिले दोब्बरले भक्तजनको सङ्ख्या बढेको बताए। 

‘अघिल्ला वर्षमा सय समयमा सामान्य दिनमा दैनिक पाँच सयको हाराहारी मानिस मन्दिरमा आउने गरेका थिए’, उनले भने, ‘अहिले दैनिक एक हजारभन्दा बढी मानिस मन्दिरमा आउने गरेका छन्। सार्वजनिक बिदाको दिन र चाडपर्वमा त निकै भिडभाड हुने गरेको छ।’ 

उनले भने, ‘वैशाखमा केबलकार सञ्चालनमा आएपछि मन्दिरमा भक्तजन बढेका हुन्। मन्दिरमा दैनिक नित्य पूजा, शिवालय मन्दिरमा रुद्री, हवन, विवाहजस्ता शुभकार्य हुने गरेका छन्।’ मन्दिरमा माता कालीको दर्शनसँगै जन्मदिन मनाउन, वैवाहिक वर्षगाँठ मनाउन, भाकल गर्न, भाकल बुझाउन, पितृको उद्धारका लागिसमेत भक्तजन आउने गरेका उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .