कारोबार


भारतको अनुदान सहयोगमा तयार भयो १७ किमिको कुर्था-बिजलपुरा रेलवे

भारतको अनुदान सहयोगमा तयार भयो १७ किमिको कुर्था-बिजलपुरा रेलवे

नेपालखबर
असार ३१, २०८० आइतबार १७:४६, काठमाडौँ

जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेलखण्डको आइतबारदेखि सञ्चालनमा आएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बिजलपुरामा आयोजित एक समारोहबीच उक्त १७.३ किलोमिटर लामो रेलवेको शुभारम्भ गरे। 

उक्त समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, मधेश प्रदेशका नेता, सरकारका प्रतिनिधि लगायत उपस्थित थिए। 

गत जेठ १७ देखि २१ सम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत महिना सम्पन्न भारत भ्रमणका क्रममा नेपाल सरकारलाई यो खण्ड हस्तान्तरण गरिएको थियो।

रेलमार्गको यो १७.३ किलोमिटर लामो कुर्था–बिजलपुरा खण्डमा कुर्था, पिपराडी, लोहारपट्टी, सिंग्याही र बिजलपुरा गरी ५ वटा स्टेनश छन्। 

१७.३ किलोमिटर लामो यो भागको भारतीय रुपैयाँ ७८३.८३ करोड (नेपाली १२ अर्ब ५१ करोड) लागतमा  तयार भएको हो। यस रेलमार्ग निर्माणका लागि भारतले नेपाललाई अनुदान सहयोग गरेको हो। 

यो खण्ड जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग परियोजनाको दोस्रो चरण हो। 

जयनगरदेखि कुर्थासम्मको पहिलो चरणको गत वर्ष अप्रिलमा उद्घाटन भई सञ्चालनमा आइसकेको छ। बिजलपुरादेखि बर्दिवास जोड्ने तेस्रो चरणका लागि हाल जग्गा अधिग्रहण भइरहेको छ।

उक्त समारोहमा बोल्दै मन्त्री ज्वालाले रेल क्षेत्रसहित नेपालका पूर्वाधारको विकासमा भारत सरकारको निरन्तर सहयोगका लागि आभार व्यक्त गरे।

उनले यस रेल कनेक्टिभिटीले दुई देशका जनताबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै नेपालको व्यापार र पर्यटन प्रवर्द्धन गर्न मद्दत गर्ने बताए।

समारोहमा बोल्ने क्रममा नियोग उप–प्रमुख श्रीवास्तवले दुवै देशका जनताको फाइदाका लागि दुई देशबीच कायम विकास साझेदारीलाई थप बलियो बनाउन भारत सरकार सदैव प्रतिबद्ध रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .