ad ad

कारोबार


राजस्व बाँडफाँट : भन्सारलाई साढे ६ खर्ब, आन्तरिकलाई ६ खर्ब

राजस्व बाँडफाँट : भन्सारलाई साढे ६ खर्ब, आन्तरिकलाई ६ खर्ब

दीपक भट्ट
साउन १८, २०८० बिहिबार ९:४९, काठमाडौँ

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको लागि राजस्वको बाँडफाँट गरिदिएको छ। अर्थले राजस्व संकलन गर्ने भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई लक्ष्य प्रदान गरेको हो।

ती विभाग मातहतका कार्यालयहरुले राजस्व संकलन गर्ने गर्छन्।

चालु आर्थिक वर्षमा बजेट मार्फत प्रस्तुत भएको राजस्वको लक्ष्य दुई विभागलाई विभाजन गरिएको अर्थ मन्त्रालयले जानकारी गराएको छ।

मन्त्रालयका अनुसार भन्सार विभागलाई ६ खर्ब ५० अर्ब र आन्तरिक राजस्व विभागलाई ५ खर्ब ९८ अर्ब रुपैयाँ राजस्व लक्ष्य तोकिएको हो।

अब यी दुई विभागले आफू मातहतको कार्यालयहरुलाई राजस्वको लक्ष्य तोक्नु पर्ने हुन्छ। सोही लक्ष्य लिएर भन्सार कार्यालयहरु र कर कार्यालयहरुले राजस्व असुल्ने गर्छन्।

तर यो लक्ष्य पूरा गर्न पनि धेरै गाह्रो पर्ने आकलन गरिएको छ। गत आर्थिक वर्षकै हाराहारीमा यो वर्षको लक्ष्य तय भएको छ। गत वर्ष पनि लक्ष्यभन्दा साढे ४ खर्ब कम राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्षमा पनि वस्तु आयात र आन्तरिक उत्पादन तथा बजारीकरण उत्साहपूर्ण नभएर राजस्व खुम्चिने आकलन छ।

चालु आर्थिक वर्षमा सरकारले आफ्नो भरपर्दो स्रोत राजस्व संकलनबाट १२ खर्ब ४८ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।

सोहीअनुसार लक्ष्य बाँडफाँट गरिएको हो।

तर भन्सार विभागको राजस्व निरन्तर घटिरहेको छ। जसको प्रभावले गत आर्थिक वर्ष पनि सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ संकलन गर्ने भनेकोमा ९ खर्ब ५७ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो।

गत आर्थिक वर्ष ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार विभागले ३ खर्ब ९१ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सक्यो। विभागले अघिल्लो वर्ष ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। भन्सारको तुलनामा अन्तरिक राजस्व विभागले बढी राजस्व संकलन गरेको हो।

यसले वस्तु आयातबाट हुने राजस्व संकलन निकै कम उठेको देखाउँछ।

समग्रमा चालु आर्थिक वर्षको राजस्वको कुल लक्ष्य थोरै बढेको छ। गत आर्थिक वर्ष १४ खर्ब ३ अर्ब रहेकोमा यो वर्षको लक्ष्य १४ खर्ब २२ अर्ब छ।

चालु आर्थिक वर्ष सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

केबाट जुटाइँदैछ स्रोत?
आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले गरेको स्रोत आकलनमा राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड बेहोरिने बताइएको छ। त्यसपछि पनि ४ खर्ब ५२ अर्ब ७५ करोड अपुग हुनेछ।

सो पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड जुटाइनेछ। राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा अपुग हुने खुद २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने उल्लेख छ। जसअनुसार आन्तरिक ऋण उठाउने प्रक्रिया समेत अपनाइएको छ।

हरेक वर्ष संशोधन हुन्छ लक्ष्य
हरेक वर्ष मध्यावधि समीक्षा मार्फत अर्थ मन्त्रालयले राजस्व र खर्च दुवैको लक्ष्य संशोधन गर्दै आएको छ। गत आर्थिक वर्षमा पनि खर्च र राजस्व दुवैको लक्ष्य संशोधन गरेको थियो।

गत वर्ष संघीय सरकारले १४ खर्ब ३ अर्ब १४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर मध्यवधि समीक्षा मार्फत १२ खर्ब ४४ अर्ब ७५ करोड मात्र संकलन हुने संशोधित अनुमान गरिएको थियो।  

जसमा सुरुमा प्रस्तुत लक्ष्यभन्दा १ खर्ब ५८ अर्ब ३९ करोड रुपैयाँ कम संकलनको लक्ष्य राखिएको थियो। तर संशोधित लक्ष्यभन्दा पनि निकै कम राजस्व संकलन भएको थियो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .