कारोबार


टर्‍यो सरकारी बैंक मर्जरको सम्भावना, पौडेलले गठन गरेको कार्यदल महतले गरेनन् ‘रिन्यु’

टर्‍यो सरकारी बैंक मर्जरको सम्भावना, पौडेलले गठन गरेको कार्यदल महतले गरेनन् ‘रिन्यु’

दीपक भट्ट
भदौ २५, २०८० सोमबार २१:३२, काठमाडौँ

सरकारी बैंक मर्जरको विषय सेलाएको छ। निजी बैंकलाई मर्जरमा अघि बढाएर बैंकको संख्या घटाउँदै गर्दा सरकारी बैंक समेत मर्जर गर्ने चर्चा चलेको थियो।

गत आर्थिक वर्षसम्ममा निजी वाणिज्य बैंकको संख्या मर्जरबाट २५ बाट २० मा झरेको थियो। 

निर्वाचनपछि अर्थमन्त्री भएका विष्णु पौडेलले सरकारी बैंकलाई समेत मर्जरमा जानुपर्ने र त्यसको सम्भावनाको विषयमा अध्ययन गर्न कार्यदल बनाएका थिए। 

तर उक्त कार्यदलले केही पनि काम गरेन। विष्णु पौडेलले लामो समय अर्थ मन्त्रालय सम्हाल्न पाएनन्। सत्ता समीकरण परिवर्तन हुँदा प्रमुख सत्ता साझेदार दल नेकपा एमाले हटेर नेपाली कांग्रेस सरकारमा प्रवेश गरेको थियो। गत चैत १७ गतेबाट अर्थ मन्त्रालय सम्हालेका कांग्रेस नेता प्रकाशशरण महतले मर्जर अध्ययन कार्यदल नवीकरण नै गरेनन्।

विष्णु पौडेल अर्थमन्त्री रहँदा दुई सरकारी वाणिज्य बैंकलाई मर्जरको सम्भावना छ वा छैन भनेर अध्ययन गर्न सो कार्यदल गठन गरिएको थियो। 

अर्थ मन्त्रालयले नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच मर्जर अध्ययन गर्न कार्यदल गठन गरेको थियो। कार्यदलको संयोजक मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुखलाई तोकिएको थियो। 

यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत सरकारी बैंक मर्जरमा जान आवश्यक रहेको बताएका थिए। राष्ट्रिय वाणिज्य बैंकको साधारण सभामा सार्वजनिक रुपमा गर्भनरले सरकारी बैंकको मर्जरको विषयमा बोलेका थिए।

त्यसलगत्तै विष्णु पौडेलले सम्भावनाको खोजी गर्न कार्यदल गठन गरेका थिए। पछिल्लो समय निजी क्षेत्रको बैंककै अधिकतम चुक्ता पुँजी ३५ अर्ब माथि गैसकेको छ। त्यससँग प्रतिस्पर्धाको लागि पनि सरकारी बैंकको समेत मर्जरको विषय उठेको थियो। 

तर अहिले अध्ययन कार्यदल नवीकरण नभएको कारणले काम नै अघि नबढेको अर्थ मन्त्रालयले जनाएको छ। 

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख भूपाल बरालका अनुसार कार्यदल गठन भए पनि उक्त समितिले कुनै काम गरेको छैन। 

‘पहिलो कुरा मर्जरमा जाँदा कस्तो नीति लिने भन्ने विषयमा पनि अन्यौल भयो, अर्को कुरा कार्यदल नै रिन्यु नहुने भएपछि त्यसले काम गर्ने कुरा पनि भएन,’ उनी भन्छन्। 

नेपाल बैंक अर्धसरकारी बैंक हो। जसमा ५० प्रतिशत हाराहारीमा सरकारको सेयर छ भने राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक हो। राष्ट्रिय वणिज्य बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। 

यो अघिल्लोे आर्थिक वर्षको त्यही अवधिको तुलनामा १४ दशमलव ५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। 

नेपाल बैंकले भने गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा १६ दशमलव ७० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .