ad ad

कारोबार


सडक मर्मत नभए अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको अडान

सडक मर्मत नभए अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको अडान

वसन्त अर्याल
असोज १५, २०८० सोमबार १८:३५, काठमाडौँ

यातायात व्यवसायीले राष्ट्रिय राजमार्ग सुधार नगरिएसम्म अग्रिम टिकट बुकिङ खुला नहुने बताएका छन्। अधिकांश राजमार्गमा बारम्बार अवरोध हुने भएकाले त्यसको मर्मत नगरेसम्म दसैँको लागि अग्रिम टिकट नकाट्ने भएका हुन्। 

अहिले देशभरका मुख्य राजमार्ग विस्तार भैरहेका छन्। काठमाडौंबाट बाहिरिने मुख्य सडक त्रिभुवन राजमार्ग विस्तार भैरहेको छ। मुग्लिन–पोखराको सडक ठेक्का लागि निर्माणाधीन छ। पूर्व–पश्चिम राजमार्गमा बढी सवारी चाप हुने चितवन–बुटवल सडक खण्ड कच्ची सडकजस्तै भएको छ। 

यातायात व्यवसायीले बस सहज रुपमा चल्ने वातावरण नभएकाले अग्रिम टिकट काट्न नसकिने बताएका छन्। सरकारले वर्षातको समयमा बिग्रिएका सडकलाई तीव्र रुपमा सुधार गर्नुपर्ने र निर्माणाधीन सडकको सुधार गर्नुपर्ने माग गरेका छन्।  

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले अहिलेकै अवस्थामा अग्रिम टिकट काट्न नसकिने बताए। उनले कुनै पनि सडक समयमा पुग्न नसकिने अवस्था रहेको बताए।

‘काठमाडौंबाट छुटेको बस गन्तव्यमा पुगेर समयमै काठमाडौं फर्कन्छ भन्ने ग्यारेन्टी छैन,’ अध्यक्ष स्वाँरले भने, ‘अहिले अग्रिम टिकट काट्ने सडक बिग्रिएर बस समयमै आउन नपाए व्यवस्थापन नै गर्न सकिँदैन।’

‘कुनै सडक भत्किएर खाल्डाखुल्डी मात्रै छन्। कुनै विस्तार भन्दै वर्षौँदेदि निर्माणाधीन रहेका छन्,’ उनले थपे, ‘कम्तीमा पनि ग्राबेल गर्ने र खाल्डाखुल्डी त पुर्न सक्छ। त्यो पनि गरेको छैन।’

सरकारले राजमार्ग तयार गरे अर्को हप्ताबाट अग्रिम टिकट खुलाउन सकिने उनको भनाइ छ।

‘सरकारले सडक मर्मतको काम छिटो नसके अहिलेकै अवस्थामा गाडी चल्छन्। अग्रिम काट्नको लागि सरकार नै अग्रसर हुनुपर्छ,’ उनले भने। 
 
सडक विभागका उपमहानिर्देशक रामहरि पोखरेलले दसैँअघि सबै सडक मर्मत भैसक्ने बताए। उनले दैनिक सडक डिभिजन कार्यलयबाट अपडेट लिएको बताउँदै धमाधम काम भैरहेको दाबी गरे। 

‘वर्षातमा पहिरो गएर बिग्रिएका सडक मर्मत गर्दैछौं,’ उपमहानिर्देशक पोखरेलले भने, ‘अहिले हाम्रो मुख्य ध्यान छिटो सडक मर्मतको काम सक्नु रहेको छ।’

उनले १५ दिनभित्र कालोपत्रे गर्न सकिने ठाउँमा कालोपत्रे नभए ग्राबेल गरी व्यवस्थित बनाउने बताए। विस्तार भैरहेका राजमार्गमा कालोपत्रे गर्न नमिल्ने भए पनि खाल्डा पुर्ने र धुलो उड्न नदिन पानी हाल्ने बताए। 

यातायात व्यवस्था विभागका निर्देशक ईश्वरीदत्त पनेरुले अग्रिम टिकटको लागि व्यवसायीसँग छलफल भैरहेकाले छिट्टै टुंगो लगाउने बताए। 

‘सडक मर्मत गराउन मन्त्रालय मार्फत सडक विभागसँग समन्वय भैरहेको छ,’ उनले भने, ‘अग्रिम टिकटको लागि हतार नभएकाले दसैँमा सहज यात्राको व्यवस्था गरिन्छ।’

उनले अग्रिम टिकटसँगै थप गाडी परिचालनका लागि रुट परमिटको व्यवस्था गरिने बताए। सरकारले अघिल्ला वर्षहरुमा पनि सप्तमीपछि रुट फ्री गाडी सञ्चालन गर्न अनुमति दिँदै आएको छ। 

भौतिक पूर्वाधारमन्त्रीलाई बोलाइयो विकास समितिमा
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ।

दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै यातायातको व्यवस्थापनबारे बुझ्न बुधबार बस्ने समितिको बैठकमा मन्त्री ज्वालासहितका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई बोलाउने निर्णय गरेको  छ। 

दसैँ, तिहारजस्ता चाडपर्वमा काठमाडौं उपत्यकाबाट घर जाने सबैलाई यातायातको उचित व्यवस्था गर्न र बाढी, पहिरोले तहसनहस बनाएका सबै सडकहरु पुनर्निर्माणको काम छिटो सम्पन्न गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीसँगै छलफल गर्ने निर्णय गरिएको समितिका सभापति दीपकबहादुर सिंहले बताए।

‘१७ गते हाम्रो समितिको बैठक बिहान ११ बजे पनि गर्ने भएको छ। त्यसमा पूर्वाधार मन्त्रालयका मन्त्रीलगायतलाई पनि यहाँ समितिमा उपस्थित हुन अनुरोध गर्दछु,’ सिंहले भने ‘अहिले दसैँ, तिहार, छठ पर्व भएको हुनाले यताबाट जाने राजमार्गहरु पहिरोले तहसनहस भएको छ।’

समितिले राजमार्गहरु चाँडो बनाउन र उपत्यकाबाट बाहिरी जिल्लाहरुमा लाखौँको संख्यामा मानिस आफ्नो घरघर जाने भएकाले बसको टिकट, बस व्यवस्थापनका लागि निर्देशन दिने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .