ad ad

कारोबार


कुलमानलाई ऊर्जामन्त्रीको निर्देशन- चाडपर्वमा १ मिनेट पनि बिजुली नजाओस्

कुलमानलाई ऊर्जामन्त्रीको निर्देशन- चाडपर्वमा १ मिनेट पनि बिजुली नजाओस्

नेपालखबर
कात्तिक १, २०८० बुधबार १४:४३, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैँ, तिहार, नेपाल संवत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउनेगरी विद्युत् आपूर्तिको प्रबन्ध गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्। 

सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका  प्रमुख शुरेशबहादुर भट्टराईलगायत काठमाडौँ उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखहरुलाई मन्त्री बस्नेतले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहज रुपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन्। 

‘कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस्। वर्षदिनभरि राम्रो काम गरे पनि चाडपर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन। काम नगरेसरह नै हुन्छ। त्यसकारण जिम्मेवार भएर २४सै घण्टा सेवामा क्रियाशील हुनुस् ’ मन्त्री बस्नेतले भने ‘पूर्ण रुपमा जिम्मेवार भएर काम गर्नुस्।’

चाडपर्वको समयमा उद्योग/प्रतिष्ठानलाई पनि बढीभन्दा बढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै मन्त्री बस्नेतले बढी भएको बिजुली खेर नजाने वातावरण बनाउन समेत निर्देशन दिए। 

चाडपर्वमा उद्योग, प्रतिष्ठान, होटल, व्यवसाय तथा व्यापारिक प्रतिष्ठानमा बिजुलीको माग कम हुने भएकाले बिजुली खेर जाने अवस्था आउने उल्लेख गर्दै प्राधिकरणका कर्मचारीले जानकारी दिएपछि मन्त्री बस्नेतले भने, ‘सकेसम्म बिजुली खेर जान नदिनुस्।’

मन्त्री बस्नेतले प्राधिकरणका नो लाइट सेन्टरहरुलाई थप जिम्मेवार बनाउन, ग्राहकले गुनासो गर्नेबित्तिकै फोन उठ्ने प्रबन्ध गर्न तथा कुनै समस्या आइहाले एकाध मिनेटमा नै उपभोक्ताको घरसम्म पुग्नेगरी द्रुत टोली व्यवस्थापन गर्न आग्रह गरे। मन्त्री बस्नेत प्राधिकरण सञ्चालक समितिको अध्यक्ष समेत हुन्। 

सो अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले उपभोक्तालाई केन्द्रमा राखेर सेवा उपलब्ध गराउन प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिए। उनले जिम्मेवार र चनाखो भएर सामान्य समयभन्दा चाडपर्वको समयमा कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए। 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले २४सै घण्टा परिचालन हुनेगरी काठमाडौँ उपत्यका र सहरी क्षेत्रमा जनशक्तिको व्यवस्थापन र परिचालन गरिएको बताए। उनले चाडपर्वको समयमा आफैँ नियमित रुपमा वितरण केन्द्रको अनुगमन, निरीक्षणका लागि निस्कने जानकारी दिँदै कुनै पनि उपभोक्ताले गुनासो नआउने गरी काम गर्ने बताए। 

चाडपर्वको समयमा उद्योग/प्रतिष्ठान पनि कम क्षमतामा चल्ने भएकाले बिजुलीको माग कम हुने उल्लेख गर्दै उनले केही बिजुली खेर जाने अवस्था रहेको उनको भनाइ छ।

‘सकेसम्म बिजुली खेर जान नदिन हामीले प्रयास गरेका छौँ। खेर जानसक्ने बिजुली भारतीय बजारमा पठाउने तयारी पनि छ। तर, अन्तिम सहमति आइसकेको छैन’, कार्यकारी निर्देशक घिसिङले भने। 

प्राधिकरणले थप सय मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्ने तयारी गरेको छ। त्यसका लागि अनुमति आउन बाँकी छ।

उनले सकेसम्म कुनै पनि स्थानमा समस्या आउन नदिनेगरी प्राविधिक तयारी गरिएको जानकारी दिँदै देशैभरका कर्मचारीलाई चाडपर्व भनेर छुट नदिइएको बताए।

सो अवसरमा उपकार्यकारी निर्देशक सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख भट्टराईले प्राधिकरणले गरेको तयारीबारे जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .