ad ad

कारोबार


०७२ को भन्दा ठूलो भूकम्प धान्ने गरी बन्यो सिंहदबार (फोटो/भिडिओ)


वसन्त अर्याल
मंसिर ६ , काठमाडौँ

महाभूकम्पपछि भत्काउने भनिएको सिंहदरबारको प्रवलीकरण सकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार प्रवलीकरण भएको सिंहदरबारका भवन उद्घाटन गरेका छन्।

बुधबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नयाँ भवनमा सारिएको छ।

‘सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सारिएको छ। ठाउँमात्रै सारिएको हैन कामको प्रकृति पनि नयाँ ढंगको हुनेछ,’ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘पुरानो संरचनालाई जस्ताको त्यस्तै राखेर भवन प्रवलीकरण गरिएको छ।’

प्रधानमन्त्रीका अनुसार पुरानो भवनमा उकुस–मुकुस हुने अवस्था थियो। अहिले बनेको नयाँ भवन भने बाल्कोनीसहितको भएको भन्दै ‘फ्रेस’ हुन सकिने उनले उद्घाटनपछि बताए।

पुरातत्व विद्हरुका अनुसार सिंहदरबारभित्रका भवन पुरानो प्रशासनीक भवन भएकाले भत्काउन हुँदैन थियो। तर प्राविधिकहरूले भूकम्पका कारण धेरै क्षति भएकाले भत्काउनै पर्ने राय दिएका थिए।

लगत्तै, ईन्जिनियरहरूको निष्कर्ष आयो– यथास्थितीकै सामग्रीबाट पुनःनिर्माण गर्न सकिँदैन।

‘पुरातत्व विभागले जमिनमुनिको भागमा सिमेन्ट र स्टिल प्रयोग गर्न सकिने व्यवस्था अनुसार पुरानै संरचनालाई जग बलियो बनाउन आवश्यकता अनुसार निर्माण सामाग्री प्रयोग गरिएको छ,’ सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाई भवन तथा आवास आयोजनाका निर्देशक कोषनाथ अधिकारीले भने।

२०७२ साल बैशाख १२ गतेको भूकम्पपछि पुनःनिर्माण प्राधिकरणले सुरु गरेको थियो। अधुरा भएका कामलाई केन्द्रीय आयोजनाले निरीक्षण गर्दै आएको छ।

१२० वर्ष पुरानो भवनको जग मजबुत बनाउन स्टिल प्रयोग गरिएको अधिकारी बताउँछन्। ‘एक सेन्टिमिटर भन्दा बढी चर्किएको ठाउँमा बाहिरी भाग निकालियो र फेरि गाह्रो लगायौँ,’ अधिकारीले भने, ‘हिजोको अवस्थामा जति बलियो थियो त्यस्तै अवस्थामा ल्यायौँ।’

२०७६ सालमा निर्माण व्यवसायीलाई काम दिइएको भएपनि बाहिरको प्लास्टर निकालेर स्टिलका पाता कसेर पुन बुट्टा बनाउँदा बढी समय लागेको आयोजना निर्देशक अधिकारी बताउँछन्। 

सिंहदरबारको उत्तर, दक्षिण र पूर्व खण्ड विसं २०३० मा आगलागीबाट क्षति हुँदापनि पश्चिम मोहडा जोगाइएको थियो। तर भूकम्पले उक्त भागलाई बढी क्षति पुर्‍यायो।

‘पुराना भवनको डकुमेन्ट्री, फोटो, चित्र हेरेर जस्ताको त्यस्तै बनाइएको छ,’ उनले भने, ‘संरचनामा कुनै परिवर्तन गरिएको छैन। जे थियो त्यही नै बनाएका छौं।’

ऐतिहासिक भवनमा बुट्टाहरू धेरै भएकाले जस्तातस्तै बनाउन समय लाग्यो। भवनमा चुना, सुर्की, इट्टा, सालका काठबाट प्रवलीकरण गरिएको उनले बताए। 

०७२ सालको भूकम्पले प्रधानमन्त्री कार्यालयको उत्तर, दक्षिण र पूर्व खण्ड  कम क्षति भएको थियो।  त्यसको पुनःनिर्माण २०७७ फागुनमै उद्घाटन गरी प्रधानमन्त्री कार्यालय सञ्चालनमा ल्याइएको थियो। 

हालसम्म यस योजनाका लागि कुल लागत ५१ करोड रुपैयाँ रहेको छ। लिफ्ट राख्ने, सरसफाईका काम बाँकी भएकाले केही बढ्न सक्ने आयोजनाले बताएको छ।

‘०७२ भन्दा ठूलो भूकम्प थेग्ने’ 
भवन प्रवलीकरणका लागि बिम राख्ने, स्टिलका प्लेट ठडाएर राखिएको छ। पुराना संरचनालाई मजबुत बनाउन ठाउँ ठाउँमा स्टिल प्रयोग गरी पेटी बाँधिएको छ। 

‘भूकम्प आउँदा कुनै एउटा भाग नछुट्टियोस् भनेर भवनलाई पेटी बाधेर राखिएको छ,’ उनले भने, ‘भवन हल्लिँदा सबै भाग हलिन्छ। यसले सिंगो भवन मजबुत बनाएको छ।’

गोरखा भूकम्पको ‘ग्राउन्ड एसिलेरेसन .१६ जी’ थियो। सिंहदरबारलाई पुनः निर्माण गर्दा ‘.४ जी’ धान्न सक्नेगरी बनाइएको छ। 

विश्वमा धेरै आरसीसी भवन भएकाले त्यसको अध्ययनका आधारमा भवनहरूको क्षमता सहजै भन्न सकिन्छ। तर पुरानो भवन नहुँदा तुलनात्मक अध्ययन गर्न अप्ठेरो हुने उनले बताए। 

‘विकासित देशमा पुराना संरचना धेरै छैनन्। अन्तर्राष्ट्रिय अनुसन्धान त हेर्न सक्छौँ,’ उनले भने, ‘तर हामीसँग ल्याब नभएकाले सबै कुरा परीक्षण गर्न सकिँदैन।’ 

२०७२ सालको भन्दा ठूलो भूकम्प धान्नेगरी पुनःनिर्माण गरिएको आयोजनाले जनाएको छ।

फोटो/भिडिओ : सरोज नेपाल

थप तस्बिरहरूः

मंसिर ६, २०८० बुधबार २१:५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .