कला


स्कुल पनि पूरा गर्न नपाएका दर्लामी, जसले लेखे आख्यानदेखि इतिहाससम्मका पुस्तक

स्कुल पनि पूरा गर्न नपाएका दर्लामी, जसले लेखे आख्यानदेखि इतिहाससम्मका पुस्तक

लक्ष्मी बलायर
बैशाख १६, २०८१ आइतबार ७:४१, काठमाडौँ

२०५९ भदौ २३ गते माओवादीहरूले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क कब्जा गरे। सो आक्रमणमा दुवैतिर ठूलो जनधनको क्षति भयो।

त्यो लडाइँलाई जेबी दर्लामीले पनि नजिकैबाट देखे। सोहीबेला उनले कमरेड अलपत्रबारे थाहा पाए। कमरेड अलपत्र ती व्यक्ति थिए, जसलाई घाइते भएपछि माओवादीले अयोग्य भन्दै पार्टीबाट निकालेको थियो।

त्यसको चारवर्षपछि १० वर्षे माओवादी जनयुद्धमा पूर्णविराम लाग्यो। पूर्वलडाकुहरू कोही सत्तामा पुगे त कोही व्यवसाय गर्न थाले। कोही परिवार पाल्नकै लागि खाडी समेत धाउन थाले।

शान्तिप्रक्रियापछि थुप्रै राजनीतिक परिवर्तन आए होलान! तर, दर्लामीको मन भने अयोग्य बनाइएको लडाकुको कथाले कुँडिइरहेको थियो। दर्लामीको दिमागमा कमरेड अलपत्र पसिसकेका थिए, उनलाई ननिकाली धर थिएन।

कोरोना महामारी सुरु भएपछि लकडाउन भयो। मानिसहरू घरभित्रै बस्न बाध्य भए। तर, जेबीले भने कोरोनालाई अवसरका रुपमा लिए। डेढ दशकअघिको उक्त कथा लेख्न थाले। र, उपन्यास ‘मारीखोलाको ढुङ्गो’ बनेर निस्कियो। हालै पब्लिकेसन नेपालयबाट प्रकाशित यो उनको चौथो पुस्तक हो।

मारीखोलालाई उनले बिम्बका रुपमा प्रयोग गरेका छन्।

‘यो हाम्रो गाउँतिर बग्ने खोला हो, हाम्रो मगर भाषामा मा भनेको हारेको र री भनेको पानी हो,’ लेखक दर्लामीले नेपालखबरसँग भने, ‘यो किताबको जन्म त ०५९ सालतिरै भएको हो। जुन कथाले दिमागमा बेस्सरी हिर्काइरहेको थियो। ठ्याक्कै कोरोनाको बेला पहिलो ड्राफ्ट तयार पारेँ। त्यसपछि नेपालयमा पठाएँ। अनि यसरी प्रकाशित भएर आउँदा खुसी लागेको छ।’

उपन्यासमा अयोग्य बनाइएका माओवादी छापामारको कथा छ।

साहित्यप्रतिको मोह 
अर्घाखाँचीको सिलिङखोलामा जन्मेका हुन् लेखक दर्लामी। यो ठाउँमा अहिले पनि बिजुली बत्ती, सडक, टेलिफोनजस्ता पूर्वाधार छैन। सानैदेखि अन्तर्मुखी स्वभावका दर्लामीलाई वनजंगल रमाउन खुबै मन पर्ने। अझ कल्पनाशील स्वभावले उनलाई लेखनप्रति रुचि जगाउन सहयोग पुग्यो।

१५ वर्षदेखि नै साहित्य लेखनमा होमिएको बताउँछन् उनी। ‘साहित्यमा सानैदेखिकै चासो हो। चुडामणि सरले गोरखापत्र र अरु केही पत्रिका ल्याउनु हुन्थ्यो। त्यो पढ्दा निकै रमाइलो लाग्ने। त्यसबेला नै कोर्सबुकमा म किन अल्झिरहेको छु जस्तो लाग्थ्यो। सुरुमा गजल, मुक्तक लेख्न सुरु गरेको हुँ। त्यसपछि कविता पनि लेख्न थालेँ, ’ पुराना दिन सम्झिँदै भने।

पढाइमा उनको अनुराग थियो। पत्रपत्रिका र नयाँ किताब पढ्नकै लागि अर्घाखाँचीबाट दाङको भालुबाङ पुग्थे। त्यो पनि ३ घण्टाको बाटो छिचोलेर।

‘४ कक्षामा पढ्दा तीनघण्टाको बाटो हिँडेर म पढ्नकै लागि भालुवाङ जान्थे। पसले पनि बाबु तिम्रो गोरखापत्र पढ्ने समय भएको छ त भनेर अचम्म मान्नुहुन्थ्यो,’ उनले सुनाए,  ‘०६४ सालतिर नवयुवामा एउटा गजल छापियो। उहाँले पढ्नुभएछ। त्यतिखेर कि त लेख्न थाल्छ कि केही गर्छ भन्ने सोचेको थिएँ, प्रमाणित गर्‍यौ भन्नुभयो। त्यो सम्झिँदा खुसी लाग्छ।’

रहरैरहरमा लेखनमा लागेका उनले विद्यालय शिक्षा पनि पूरा गर्न पाएनन्। पढाइ छुट्यो तर पठन छुटेन। बरु उनी लेखनमा जम्दै गए। हाल उनले चार पुस्तक प्रकाशित भइसकेका छन्। 

आख्यानका अतिरिक्त उनले शोध अनुसन्धानलाई पनि अघि बढाए। फलस्वरुप उनको ‘नेपालको राजनीतिमा अर्घाखाँची’ पुस्तक प्रकाशित भएको छ। जुन अर्घाखाँचीको राजनीतिक इतिहास हो।

साहित्यप्रतिको हुटहुटीकै कारण दर्लामीले २०७१ सालमा पहिलोपटक उपन्यास ‘यात्री’ ल्याए । जसलाई लिपी बुक्सले प्रकाशन गरेको थियो। पहिलो उपन्यास निकै भुक्तमान बेहोर्नुपर्‍यो उनले।

‘पहिलो उपन्यास निकाल्दा त नमिठो अनुभव छ। किताब लेख्नु, छाप्नु भनेको साथीभाइ बनाउनु र गुमाउनु पनि रहेछ। एकजना प्रकाशकले पुस्तक छापिदिन्छु भनेर पैसा लिनुभयो । तर, २/३ वर्षसम्म छाप्नुभएन,’ उनले भने, ‘साहित्य भनेको पवित्र ठाउँ हो। यहाँ दायाँबायाँ हुन्न भन्ने लाग्थ्यो। तर, साहित्य भनेको झन् राजनीति हुने क्षेत्र रहेछ। कसलाई माथि पुर्‍याउने, कसलाई झार्ने, कसलाई आउन नदिनेजस्ता कुराहरू धेरै हुँदा रहेछन्।’

०७४ मा सांग्रिला बुक्सले उनको ‘नुरी’ उपन्यास प्रकाशित गर्‍यो। २०७८ मा गैरआख्यान  ‘नेपालको राजनीतिमा अर्घाखाँची’ पुस्तक निस्कियो। विष्णुबहादुर सिंहले यो पुस्तक छाप्न लगानी गरिदिएका थिए। चौथो पुस्तक भने नेपालयबाट सजिलै प्रकाशन भएकामा दर्लामीले खुसी व्यक्त गरे। सम्पादन र पुनर्लेखनका क्रममा चार वर्ष बिते पनि पुस्तक राम्रोसित आएको उनले सुनाए।

नेपालयबाट प्रकाशित नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ उनले पढेका थिए। त्यो किताबको छपाइको गुणस्तर देखेर उनी लोभिएका थिए।

‘नेपाली भाषामा त्यो किसिमको लेआउट पहिलोचोटि हातमा परेको थियो। अन्तर्राष्ट्रिय स्तरको छपाइ थियो। किनकि विषय राम्रो भए पनि छपाइको गुणस्तर राम्रो हुन्थेन। नेपालयबाट किताब निकाल्ने लोभ त्यहीबेला लागेको थियो,’ उनले भने, ‘‍तर त्यहाँबाट छाप्ने किताब लेखेजस्तो लागेन र सुरुका किताब प्रस्ताव गरिनँ।’

तर, कमरेड अलपत्रको कथामाथि उनलाई विश्वास थियो। जसकारण नेपालयलाई पहिलो पाण्डुलिपी पठाए। नेपालयले ग्रिन सिग्नल दिएपछि यो पुस्तक निकाल्न सम्भव भएको सुनाउँछन् उनी।

‘पुस्तकमा मारीखोला भन्ने प्रसँग ठाउँठाउँमा आउँछ। यसमा रोल्पा, प्युठान र अर्घाखाँचीको कथा छ। रोल्पाबाट भएर बग्ने राप्तीमा मिसिन आउने मारीखोलाको सन्दर्भमा मिल्दोजुल्दो नाम होला भनेर यो शीर्षक राखेको हुँ,’ शीर्षकबारे दर्लामी भन्छन्।

कमरेड वर्षात्
दर्लामीको बाल्यकाल बितेको सिलिङखोला निकै विकट ठाउँ। विभिन्न समस्याले दर्लामीले पढाइलाई निरन्तरता दिन पाएनन्।

त्यही क्रममा २०५७ तिर माओवादी पार्टीमा लागे। भन्छन्, ‘भावुक मान्छे पनि कुनै कालखण्डमा विद्रोही बन्न सक्दो रहेछ। बन्दुक नै नपड्काए पनि म दुई वर्ष पार्टीमा बसेँ। एरिया कमिटीमा थिएँ। तर, पार्टीप्रति मोहभंग भयो। मेरो काम लेखपढ गर्ने हो भन्ने लाग्यो,’ उनले सुनाए।

त्यसपछि गाउँ छोडेर सन्धीखर्क बस्न थाले। ज्याला मजदुरीका काम गर्न थाले। कहिले कुल्ली बने त कहिले विदेश पुगे। जसकारण पनि कमरेड अलपत्र पात्र आफ्नो भोगाइको नजिक रहेको बताउँछन्।

उनको उपन्यासलाई राजनीतिक कथा भन्न मिल्छ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘यो माओवादीको अयोग्य लडाकुको कथा भएकाले राजनीतिक कथा भन्न मिल्छ। तर यसले माओवादी आन्दोलनको समग्र इतिहास चाहिँ भन्दैन। एउटा पात्रको कथा हो। त्यो ठिक-बेठिक भन्ने दृष्टिकोण दिँदैन। युद्धमा लागेको एउटा मान्छेको उतारचढावको कथा हो। द्वन्द्वमा होमिएको पात्रको मनोदशा, बाध्यता, करुणा, प्रेम र अन्तरद्वन्द्व यसभित्र छ।’

अहिले माओवादीकै सरकार छ। तर, कुनै समय माओवादीमा लागेका दर्लामीलाई भने अहिले देश नै अलपत्र लाग्छ। भन्छन्, ‘अहिले देश नै अलपत्रजस्तो लाग्छ। युवाहरू कोही बस्न चाहनन्। बस्ने वातावरण पनि छैन नेपालमा। सत्तासँग लेखक सन्तृष्ट हुनुहुँदैन भन्ने लाग्छ। लेखक विपक्षमै हुनुपर्छ।’

उपत्यकाबाहिर लेखकलाई मिडियाको पहुँच हुँदैन। जसकारण लेखनमा सक्रिय भए पनि त्यति चर्चा हुँदैन। तर, दर्लामीलाई चर्चाको खासै वास्ता लाग्दैन।

‘पहिलेपहिले अपरिपक्क भएर त्यस्तो हुन्थ्यो। तर, अहिले फरक पर्दैन। उपत्यकाबाहिर शान्त हुन्छ। मोफसलमा साथी सर्कल थोरै हुन्छ। दिनदिनै भेट्ने, चिया खाने हुँदैन। भ्यालीबाहिर बसेर लेख्न पनि आनन्द छ,’ दर्लामीले भने, ‘काठमाडौँमा मिडियाको पँहुच सहज हुन्छ। तर, क्षमता छ भने जहाँ बसेर लेखे पनि राम्रै हुन्छ भन्ने लाग्छ। बाहिर लेखेर पनि सफल भएका लेखक छन्। पाठकबाट प्रतिक्रिया राम्रै पाएकाले अहिलेसम्म लेख्ने आँट आएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .