ad ad

कारोबार


नेपालकाे आम्दानी विदेश लैजान युनिलिभरकाे दाैडधूप

नेपालकाे आम्दानी विदेश लैजान युनिलिभरकाे दाैडधूप

दीपक भट्ट
माघ २१, २०७६ मंगलबार १०:३२,

बहुराष्ट्रिय कम्पनी युनिलिभरले विदेश लैजान खोजेको २ करोड बढी रोयल्टी रोकिएको छ। हिन्दुस्तान युनिलिभरको लगानी रहेको नेपाल युनिलिभरले रोयल्टीबापत विदेश लैजान लागेकाे २ करोड ६ लाख ५७ हजार ९ सय ५३ रुपैयाँ रोकिएको हो।

प्रक्रियागत रुपमा रकम लैजान नपाउने भएपछि कम्पनीले उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंकमा दौडधूप तीव्र पारेको छ। रोयल्टीबापतको रकम लान आवेदन दिए पनि सरकारी निकायले प्रक्रियागत कारण देखाउँदै रोकेका छन्।

लाभांश तथा रोयल्टीमार्फतको रकम विदेश लानको लागि उक्त कम्पनीको दर्ता म्याद कम्तीमा ६ महिना हुनुपर्ने कानुनी व्यवस्था छ। तर युनिलिभर नेपालको म्याद सकिन अब ३ महिना पनि बाँकी छैन। यो अवस्थामा हाललाई उक्त रकम जान नमिल्ने भएको हो।

त्यस्तै, कम्पनीको यो वर्षको लाभांशमार्फतको रकम पनि रोकिने भएको छ। तर यसलाई प्रक्रियागत रुपमा सहज गरिदिन कम्पनीले मन्त्रालयदेखि राष्ट्र बैंकसम्मलाई आग्रह गरिरहेको छ। प्रक्रियागत कठिनाइका बाबजुद युनिलिभरले दौडधूप गरे पनि प्रक्रिया छलेर रकम लान गाह्रो छ। यदि युनिलिभरलाई २ करोड रुपैयाँ अहिले लान दिने हो भने यो कानुनी व्यवस्था नै परिवर्तन गर्नुपर्ने उद्योग मन्त्रालयका एक अधिकारी बताउँछन्।

युनिलिभर नेपालमा बढी नाफा कमाउने कम्पनीमा पर्दछ। यो कम्पनीले गत वर्ष मात्रै ९६ करोड ५० लाख रुपैयाँ कमाएको थियो। यो कम्पनीमा हिन्दुस्तान युनिलिभरको ८० प्रतिशत लगानी छ। नेपाली पार्टनर कम्पनी श्रीविक्रम ल्याण्ड एण्ड इन्ड्रष्टिजको ५ प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत सेयर लगानी छ। हिन्दुस्तान लिभरले नेपालमा २०४९ सालमा करिब ८ करोड लगानीमा यो कम्पनी सञ्चालनमा आएको हो।

नेपालमा बहुराष्ट्रिय कम्पनीअन्तर्गत रहेको यो कम्पनीले साबुन, स्याम्पो, भ्यासलिन, क्रिम पाउडर, ग्रिन टी, सुपलगायतका वस्तु उत्पादन गर्दै आएको छ।

कुन कुन कम्पनीले कति रकम विदेश लैजाँदै?
अहिले लाभांश अर्थात् रोयल्टीमार्फत पैसा लान आवेदन दिने युनिलिभर मात्रै नभएर अन्य कम्पनीहरु पनि देखिएका छन्।

चालू आर्थिक वर्षको हालसम्म आवेदन दिने कम्पनीहरुमा गोर्खा ब्रुअरी १ अर्ब १ करोड, चीनको हुवावे टेक्नोलोजी नेपाल प्रालिले १३ करोड, सोल्टी होटल लिमिटेडले करिब १ अर्ब, बर्जर जोन्सन एण्ड निकोलस नेपाल प्रालिले ९५ करोड, यति ब्रुअरीले ८ लाख ७२ हजार, युनिलिभर नेपाल लिमिटेडले २ करोड ६ लाख ५७ हजार ९ सय ५३ रूपैयाँ लैजान माग गरिरहेका छन्।

त्यस्तै ओरियन्टल होटलले ४५ लाख रूपैयाँ देवयानी इन्टरनेशनल नेपाल प्रालिले १५ लाख ६१ यसैगरी ट्रान्स नेपाल फ्राइज्ट सर्भिसले ४१ लाख ४२ हजार, टाइगर वन प्रालिले २७ लाख ३७ हजार, हिमालय इन्काउन्टर्स प्रालिले ४ करोड ८७ लाख, भोटेकोशी पावर कम्पनी प्रालिले लाभांशबापतको ४६ लाख ७ हजार रूपैयाँ लैजान माग आवेदन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .