ad ad

कारोबार


प्राधिकरणलाई सरकारको लगाम : ४ अर्ब आम्दानी जोगिने ‘ग्राउन्ड ह्यान्डलिङ’ निगमबाट नखोसिने

मन्त्री भन्छन्– ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा निगमको जीवन हो
प्राधिकरणलाई सरकारको लगाम : ४ अर्ब आम्दानी जोगिने ‘ग्राउन्ड ह्यान्डलिङ’ निगमबाट नखोसिने

वसन्त अर्याल
पुस १५, २०८० आइतबार १६:१३, काठमाडौँ

सरकारले नेपाल वायुसेवा निगमको भूमिस्थ सेवा (ग्राउन्ड ह्यान्डलिङ) नखोस्ने भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमबाट भूमिस्थ सेवा खोसिएको घोषणासँगै खुल्ला प्रतिस्पर्धाको तयारी गर्दा सरकारले तत्काल नखोस्ने भएको हो। 

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित, भैरहवा र पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ।

प्राधिकरण स्थापना अघिबाटै ग्राउन्ड ह्यान्डलिङ गर्दै आएकोमा सेवा गुणस्तरीय नभएको भन्दै प्राधिकरणले मंसिर १५ गते खोस्ने निर्णय गरेको थियो। 

अघिल्लो हप्ता प्राधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै नागरिक उड्डयनमन्त्रीलाई निगमको भूमिस्थ सेवा नखोस्न निर्देशन दिएका थिए।  

आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यक्रममा ट्रेड युनियनले वायु सेवा निगमबाट भूमिस्थ सेवा खोस्नुपर्ने बताए पनि नागरिक उड्डयनमन्त्री सुदन किराँतीले तत्काल नखोसिने प्रस्ट पारे। 

२५औँ वार्षिक उत्सवको अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले त्रिभुवन विमानस्थलको भूमिस्थ सेवा खुल्ला प्रतिस्पर्धाबाटै दिइनुपर्ने बताएका छन्। आधिकारिक ट्रेड युनियनका निवर्तमान अध्यक्ष श्रवणकुमार यादवले भावनात्मक कुरा निकालेर वायु सेवा निगमलाई भूमिस्थ सेवा दिन नहुने बताए। 

‘कसैको आशीर्वादले पाएको भूमिस्थ सेवा अब प्रतिस्पर्धाबाटै दिनुपर्छ’, यादवले भने, ‘वायुसेवा निगम सक्षम भए प्रतिस्पर्धाको माध्यमबाटै आउनुपर्छ।’ 

त्रिभुवन विमानस्थलमा निगमको गुणस्तर नहुँदा हरेक हप्ता ब्यागेज फुटेका विषयमा छलफल गर्नुपर्ने अवस्था रहेको बताए। 

‘निगमले ग्राउन्ड ह्यान्डलिङ राम्रोसँग नगर्दा यात्रुको ब्याग फुट्छन्। गाली त्रिभुवन विमानस्थलको महाप्रबन्धक र कर्मचारीले खानुपर्छ’, यादवले भने, ‘वायुसेवा निगमको मोनोपोली हुँदा गुणस्तर खस्किएको छ।’

ट्रेड युनियनलाई जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगम बचाउन भूमिस्थ सेवा खोस्न नहुने बताए। उनले प्राधिकरणले निगमबाट भूमिस्थ सेवा खोस्ने निर्णयमा असन्तुष्टि समेत जनाए।   

‘ग्राउन्ड ह्यान्डलिङ सेवा निगमको जीवन हो। निगम बचाउन ह्यान्डलिङ सेवा चाहिन्छ’, कार्यक्रम सम्बोधनका क्रममा मन्त्री किराँतीले भने, ‘भूमिस्थ सेवा कसलाई दिने वा नदिने निर्णय सरकारले गर्छ। होहल्ला गर्न आवश्यक छैन।’

ग्राउन्ड ह्यान्डलिङ सेवा सरकारले निर्णय नगरेसम्म वायुसेवा निगममै रहने पनि उनको भनाइ छ। 

नखोस्न दबाब
युरोपियन युनियनले नेपालको हवाइ सेवालाई कालोसूचीमा राखेसँगै नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमले उडान सुरक्षाको साटो ग्राउन्ड ह्यान्डलिङमा बढी ध्यान दिएको भन्दै खोसेको थियो। 

नेपाल एयरलाइन्सको भूमिस्थ सेवाका विषयमा गुनासो आएको र आफ्ना जहाज सञ्चालनभन्दा ग्राउन्ड ह्यान्डलिङमा ध्यान दिएकोले खुला प्रतिस्पर्धा गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ। 

‘युरोपियन युनियनको अडिट रिपोर्ट, उड्डयन प्राधिकरणले गरेको अडिट, ग्राउन्ड ह्यान्डलिङको विषयमा जनस्तरबाट आएको गुनासोलाई आधार बनाएर खुला प्रतिस्पर्धामा जाने निर्णय गरिएको हो’, प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले भने। 

उनका अनुसार प्राधिकरणले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने’ निर्णय गरिएको हो। 

प्राधिकरणले १७ गते नै त्यसको लागि बोलपत्र आह्वान गर्न ५ सदस्यीय समिति बनाएको थियो। बोलपत्रका कागजात तयारका लागि निर्देशक सुनिल कुमार कुशवाहको नेतृत्वमा समिति बनाएको छ। 

तर निगमले ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट नभई स्वतः पाउनुपर्ने माग राख्दै आएको छ। हवाइ माफियाको निर्देशनमा प्राधिकरणका महानिर्देशकले निगमबाट ग्राउन्ड ह्यान्डलिङ खोसेको भन्दै निगमका कर्मचारीले भने प्राधिकरणविरुद्ध आन्दोलन समेत गरेका थिए। 

कर्मचारी आन्दोलित बनेपछि मन्त्री किराँतीले यसबारे मन्त्रिपरिषदबाट नै निर्णय गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको थियो। 

प्राधिकरणले निगमबाट खोस्दा राष्ट्रिय ध्वजावाहक नै बन्द हुने अवस्थामा पुग्ने भन्दै राजनीतिक दलबाट समेत आलोचना समेत भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले त यसबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र नै बुझाएर भूमिस्थ सेवा नखोस्न माग समेत गरेको छ।  

३ देखि ४ अर्ब आम्दानी जोगिने 
नेपाल वायुसेवा निगमले जहाज सञ्चालन गर्दा घाटा व्यहोर्दा ग्राउन्ड ह्यान्डलिङबाट त्यसको पूर्ति गर्दै आएको छ। त्रिभुवन विमानस्थलमा उच्च चाप हुँदा निगमले ग्राउन्ड ह्यान्डलिङबाटै वार्षिक ४ अर्ब २३ करोड रुपैयाँ कमाउँदै आएको थियो। 

निगमको अडिट रिपोर्टअनुुसार आर्थिक वर्ष २०७८/०७९ मा भने १६ अर्ब ४२ करोड आम्दानी हुँदा १५ अर्ब २ करोड खर्च गरेको छ।

निगमको आम्दानीमध्ये ग्राउन्ड ह्यान्डलिङबाट १९.८५ प्रतिशत आर्जन भएको छ।   आर्थिक वर्ष २०७४/७५ मा ग्राउन्ड ह्यान्डलिङ सेवाको आम्दानी ३७.६२ प्रतिशत थियो। 

प्रतिवेदनका अनुसार ग्राउन्ड ह्यान्डलिङ सेवा आम्दानी आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब १८ करोड ४० लाख छ।  

कोभिडका २ वर्षबाहेक हवाइ उडान उच्च हुँदा आव ०७४/०७५ मा ४ अर्ब ५ करोड र ०७५/०७६ मा ४ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको थियो।

निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाको यथार्थ खर्च कति हो, लेखांकन भने गरेको छैन। हवाइजहाज सञ्चालनमा निगम नोक्सानमा छ भने ग्राउन्ड ह्यान्डलिङबाट नाफामा छ।

२०७५/०७६ मा ४ अर्ब २३ करोड रुपैयाँ आम्दानी गर्दा २ अर्ब ९२ करोड रुपैयाँ ग्राउन्ड ह्यान्डलिङमा खर्च भएको थियो। उक्त वर्ष १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .