ad ad

कारोबार


भरतपुर विमानस्थल विस्तारको बाटो खुल्यो, ठूला जहाज उड्न सक्ने

सेनाका केही संरचना माओवादी लडाकुको अस्थायी शिविर शक्तिखोरमा
भरतपुर विमानस्थल विस्तारको बाटो खुल्यो, ठूला जहाज उड्न सक्ने

फाइल तस्बिर


वसन्त अर्याल
माघ १८, २०८० बिहिबार १४:१, काठमाडौँ

चितवनस्थित भरतपुर विमानस्थल विस्तारको बाटो खुलेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका संरचना हटाएर विमानस्थल विस्तार गर्ने निर्णय गरेको हो। 

भरतपुर विमानस्थल विस्तारबारे लामो समय छलफल भए पनि टुंगिन सकेको थिएन। करिब १ वर्षअघि नै नयाँ टर्मिनल भवन शिलन्यास गरेर काम अघि बढे पनि सेनाको संरचना नहटाइँदा धावनमार्ग बिस्तार रोकिएको थियो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली सेनाका केही संरचना हटाउन सेनासँगै सरकारसँग समन्वय गरिरहेको थियो। 

मन्त्रिपरिषद् बैठकले तत्काल भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ।  

‘भरतपुर विमानस्थलको विस्तार गर्न सेनाको संरचना शक्तिखोर (तत्कालीन माओवादी सेनाको अस्थायी शिविर) मा सार्ने निर्णय भएको छ,’ पर्यटन मन्त्री सुदन किरातीले नेपालखबरसँग भने, ‘संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले ब्यहोर्छ।’

विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन केन्द्र लगायत संरचना छन्। पर्यटन मन्त्रालयका अनुसार नागरिक उड्डयन प्राधिकरणले निर्माण गर्ने, घोडाको नयाँ ब्रिडिङ सेन्टरका लागि नेपाली सेनालाई शक्तिखोरमा जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्बाटै निर्णय भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ। 

हाल १२ सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ। 

यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा १५ सय मिटरको बनाउनु पर्नेछ।

नेपाली सेनाको संरचना सार्न नेपाली सेना सहमत भए पनि प्राधिकरण र सेनाबीच सहमति हुन सकेको थिएन। 

मन्त्रिपरिषद्बाटै बाधा फुकाएपछि विमानस्थल विस्तार सुरु हुने प्राधिकरणले जनाएको छ। 

‘नेपाली सेनाको संरचना हट्नासाथ हामीलाई संरचना विस्तार गर्न समस्या छैन,’ नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक जगनाथ निरौलाले भने, ‘चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमै समावेश थियो।’

प्राधिकरणले बहुवर्षीय ठेक्का भएकाले एकै वर्षमा ठूलो बजेट आवश्यक नपर्ने बताएका छन्। विमानस्थल विस्तार गर्न चालु आर्थिक वर्षका लागि प्रयाप्त बजेट छ। 

विमानस्थल विस्तार हुँदा ठूला जहाजसमेत चल्ने गरी विमानस्थल विस्तार हुनेछ। यसको धावनमार्गको लम्बाई कम भएकाले ठूला जहाज उडान–अवतरण गर्न सक्दैनन्। 

आन्तरिक र बाह्य पर्यटकको गन्तव्य चितनवमा ठूला जहाज उडान तथा अवतरण गर्न सक्ने अवस्था छैन। 

चितवन राष्ट्रिय निकुञ्ज, मेघौली, पटिहानी र सौराहामा मानिसहरु घुम्न र बस्न जाने गर्छन्। अहिले गैँडाकोट मौलाकालिका, सिजी कल्चरल भिलेजका लागि भरतपुर विमानस्थल हुँदै पर्यटक जान्छन्। 

उडानमा समेत वायुसेवा कम्पनीबीच प्रतिस्पधा नहुँदा भाडा महँगो छ। विमानस्थलमा एटीआर ४२, जेटस्ट्रिम ४१, बिचक्राफ्ट १९०, ट्विनअट्टर जहाज उडान अवतरण गर्न सक्छन्। 

हाल बुद्ध एयरको एटीआर ४२ले मात्रै उडान गरिरहेका छन्। अब विमानस्थलको विस्तार भएसँगै ७२ सिटे जहाज पनि अवतरण गर्न सक्नेछन्। 

२ अर्बमा नयाँ टर्मिनल भवन 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत चैतमा नयाँ टर्मिनल भवन शिलान्यास गर्दै १–२ दिनभित्र नेपाली सेनासँग जग्गा लिई विस्तार सुरु हुने दाबी गरेका थिए। करिब १ वर्षपछि धावनमार्ग विस्तार हुने छ। 

प्राधिकरणका अनुसार टर्मिनल भवन पिक आवरमा १ हजार यात्रुले सहजै प्रयोग गर्न सक्नेछन्। 

करिब १४ कट्ठा क्षेत्रफलमा निर्माण भइरहेको टर्मिनल भवन आयोजनाअन्तर्गत ८ हजार वर्गमिटरभन्दा बढी निर्माण क्षेत्र भएको दुईतले टर्मिनल भवन, ८ तले कन्ट्रोल टावर, पार्किङलगायत पूर्वाधार हुनेछन्।  

यसको कूल लागत १ अर्ब ९२ करोड छ। निर्माण व्यवसायी केसी– क्षमादेवी–प्रतिष्ठा जेभीसँग ३ वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ।

भरतपुर विमानस्थलको निर्माण सन् १९५८ मा भएर पहिलो उडान १९६१ मा भएको थियो। नेपाल वायुसेवा निगम तथा नेकोन एअरको एभ्रो जहाज अवतरण हुनसक्ने गरी सन् १९९४ मा ११ सय ५८ मिटरको धावनमार्ग बनाइएको  थियो। त्यसयता विमानस्थल विस्तार हुन सकेको छैन। 

भरतपुर विमानस्थल विस्तार र टर्मिनल भवन निर्माणसँगै रात्रिकालीन उडान र अवतरणसमेत सुरु हुन सक्ने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .