कारोबार


सस्तो जग्गा अत्यधिक महँगो मूल्यमा खरिद गर्न बचतकर्तालाई गौतमश्री सहकारीको दबाब

सस्तो जग्गा अत्यधिक महँगो मूल्यमा खरिद गर्न बचतकर्तालाई गौतमश्री सहकारीको दबाब

नेपालखबर
फागुन १४, २०८० सोमबार ११:४१, काठमाडौँ

बचतकर्ताको रकम फिर्ता नदिएको गौतमश्री बहुउद्देश्यीय सहकारीले सस्तो जग्गा महंगोमा मूल्यांकन गरेर मिलान गर्न दबाब दिएको छ। 

काठमाडौंको कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको सहकारीले गत वर्षदेखि नै बचतकर्ताको अर्बौँ रुपैयाँ फिर्ता गर्न सकेको छैन।

बचतकर्ताले लगातार धर्ना दिएपछि संस्थाको विभिन्न जिल्लामा रहेको जग्गा खरिद गर्न सहकारीले दबाब दिएको हो।  

सहकारीले सुनसरीको इनरुवामा ८ लाख रुपैयाँ प्रतिकट्ठा पर्ने जग्गा ५० देखि ६० लाख रुपैयाँ मूल्यांकन गरेर बचतकर्तालाई खरिद गराउन खोजेको पाइएको छ। 

तर बचतकर्ताले बाटोसमेत नभएको भित्री जग्गा चर्को महंगो मूल्यांकन गरेकाले जग्गा लिन मानेका छैनन्। 

‘इनरुवामा सहकारीका प्रतिनिधिले देखाएको ठाउँमा चल्तीको मूल्य प्रतिकट्ठा ८ देखि ९ लाख रुपैयाँ मात्र रहेको छ’, बचतकर्ता तथा गौतमश्री सहकारीपीडित शिव धितालले भने, ‘सहकारीले उक्त ठाउँमा ५० देखि ६० लाख रुपैयाँ प्रतिकट्ठा मूल्यांकन गरेर हिसाब मिलाउन खोजेको छ।’ 

धितालजस्तै गौतमश्री सहकारीमा बचत गर्नेको संख्या करिब २५ हजार छ। २५ हजार व्यक्तिले अर्बौँ रुपैयाँ सहकारीमा जम्मा गरेका छन्। गत वर्ष २०७९ साउनयता बचतकर्ताले रकम फिर्ता माग गर्दै आएका छन्। 

तर, सहकारी संस्थाले फिर्ता गर्नसकेको छैन। गत मंसिरमा मात्रै सहकारीका अध्यक्ष रामबहादुर गौतमले १ अर्ब २० करोड रुपैयाँ फिर्ता गरिसक्ने बताएका थिए। तर बचतकर्ताले अहिलेसम्म रकम फिर्ता नपाएको बताएका छन्।  

सुनसरीको इनरुवामा सहकारीले देखाएको जग्गा पूर्व–पश्चिम राजमार्गबाट ४ देखि ५ किलोमिटर बाहिर रहेको पीडितको भनाइ छ।

यस्तै सर्लाहीको हरिवन ३ डाबरीमा पनि जग्गा दिन उक्त सहकारीले आफ्ना बचतकर्तालाई लगेको पाइएको छ। 

पूर्व–पश्चिम राजमार्गबाट झण्डै ४ किमिभित्र जग्गा हेरेर आएका एक सहकारीपीडितले भने साढे चार लाख रुपैयाँ प्रतिकठ्ठामा किनेको जग्गा उक्त सहकारीको प्रतिनिधि अनिल गौतमले ५० लाख रुपैयाँसम्मको रेट (दर) राखेर मिलाइदिन्छु भनेर बार्गेनिङ गरेको बताए। 

गौतमश्री सहकारीका प्रतिनिधिले जसरी भए पनि पैसा फिर्ता नदिने नियत राखेको बुझिएको पीडितले बताएका छन्। 

पीडित बचतकर्ताले रामबहादुर गौतम प्रधानमन्त्री पुष्पकमल दाहालनिकट भएकाले  संरक्षण पाएको आरोप लगाउने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .