नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न आवेदन दिएका १९ जनामध्ये ५ जना संक्षिप्त सूचीमा परेका छन्।
सरकारद्वारा गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले धितोपत्र बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त आह्वान गरेको थियो।
फागुन ३० गते अन्तिम म्याद राखी आवेदन खुला गरिएकोमा १९ जनाले निवेदन दिएका थिए। तीमध्येबाट ५ जनाको नाम छानोट गरिएको छ।
संक्षिप्त सूचीबाट ३ जनाको नाम अर्थमन्त्रीमार्फत् मन्त्रिपरिषद्मा सिफारिस हुनेछ।
छनोट हुनेमा हालका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ, धितोपत्र बोर्डमै कार्यकारी निर्देशक रहेका मुक्तिनाथ श्रेष्ठ छन्। अन्तिम ५ भित्र पर्नेमा सन्तोषनारायण श्रेष्ठ र नवराज अधिकारी पनि छन्। श्रेष्ठ विभिन्न वित्तीय संस्थाका सञ्चालक रहेका व्यक्ति हुन्। अधिकारी धितोपत्र बोर्डमा हाल निमित्त अध्यक्ष छन्।
रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ। भीष्म ढुंगाना इन्साइडर ट्रेडिङमा संलग्न भएको खुलासा भएपछि २०७८ असोज १९ मा सरकारले बर्खास्त गरेको थियो।
उनको बाँकी कार्यकालका लागि हमाल २०७८ फागुन ५ मा अध्यक्षका रूपमा प्रवेश गरेका थिए।
Shares
प्रतिक्रिया