ad ad

कारोबार


अब नागढुंगाको दिक्कलाग्दो जाममा बस्नै पर्दैन, ३३ मिनेट छिटै पुगिन्छ काठमाडौं (भिडिओ)


वसन्त अर्याल
बैशाख ३ , काठमाडौँ

पृथ्वीराजमार्ग हुँदै काठमाडौं आउने सवारी नागढुंगाको ट्राफिक जाममा बस्नु नपर्ने भएको छ। 

सिस्नेखोलाबाट नागढुंगा डाँडोमा उक्लिँदा ढुवानीका साधन बिग्रेर घण्टौँ जाम हुने गरेको छ। सोमबार ‘ब्रेक थ्रु’ भएको सुरुङमार्ग सञ्चालनमा आएसँगै यात्रु र सवारी चालकले भोग्नुपरेको हैरानी हट्नेछ। 

नागढुंगा सुरुङमार्ग छिचोलिएसँगै करिब २.८ किमि दूरी घट्नेछ।   काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौंबाहिर जाँदा २३ मिनेट समय बचत हुने अनुमान गरिएको छ। 

नागढुंगा सुरुङसँगै मुग्लिङसम्मै सडक विस्तार भइरहेको छ। २ वटा ठेक्का प्याकेजमा नौबीसेबाट मुग्लिङसम्म सडक फराकिलो बनाइँदै छ। मुग्लिङबाट नारायणघाटसम्म विस्तार भइसकेको छ भने पोखरासम्मको सडक कालोपत्रे हुने चरणमा छ। 

नेपालको भौगोलिक अवस्थिति हेर्दा सयौं सुरुङमार्ग बनाउनु आवश्यक रहेको आयोजनाले उल्लेख गरेको छ। सुरुङमार्ग निर्माण हुँदा नेपाली निर्माण व्यवसायीको प्रत्यक्ष र अप्रत्यक्ष संलग्नता थियो। 

यसले नेपाली इन्जिनियरहरु तथा प्राविधिकहरुको क्षमता अभिवृद्धि र टेक्नोलोजी ट्रान्सफर भएको छ। 

नेपालमा पहिलोपटक आधुनिक यातायातको सुरुङमार्ग छिचोलिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।  

‘सुरुङमार्गको पश्चिममा स्थानीय हाटबाजारसहितको रिफ्रेसमेन्ट सेन्टर छिट्टै निर्माण सुरु हुँदै छ’, मन्त्रालयका सचिव गोपाल सिग्देलले भने, ‘पूर्वमा फ्लाई ओभरको काम अन्तिम चरणमा छ।’

त्यसबाहेक सुरुङमार्ग प्रवेशका दुवैपट्टि सवारी साधनबाट टोल (शुल्क) उठाइनेछ। भवनसहितका भौतिक संरचना बनिरहेका छन्। सवारी साधन प्रवेश गर्दा निश्चित शुल्क लिइनेछ। सुरुङमार्गमा बढी जोखिम हुने दुईपांग्रे र इन्धन ढुवानी गर्ने सवारी गुड्न नदिने योजना छ। 

नेपाल सुरुङमार्गको युगमा प्रवेश : प्रधानमन्त्री 
प्रधानमन्त्री पुष्पकमल दालाह प्रचण्डले स्विच थिचेर ब्रेक थ्रु गरेका थिए। उनले नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको बताए। 

प्रधानमन्त्री दाहालले नेपाली इन्जिनियरले नै सुरुङ खन्न सक्ने विश्वास रहेको बताए। उनले अब सडक निर्माण गर्दा सुरुङमार्ग, अन्डरपास र फ्लाइभोभर बनाउने नीति लिने बताए। 

‘नागढुंगासँगै सुनकोशी मरिन र काठमाडौं तराई जोड्ने द्रुतमार्ग निर्माण भइरहेको छ’, उनले भने, ‘सुरुङमार्गले पृथ्वी राजमार्ग अन्तर्गत ट्राफिक सुधार तथा सडक सुरक्षामा बल पुर्याउनेछ।’

गाडी कुदाउन अझै १० महिना कुनुपर्ने 
सुरुङमार्ग दुईतर्फी छेड्ने काम भए पनि अब बजमिनमुनिको पानी कटाउने, कंक्रिट लाइनिङ गर्ने, सुरुङभित्र ग्राभेल गरी पिच गर्ने, लाइटलगायतको काम गर्नुपर्नेछ। 

सुरुङमार्गमा ३.५ मिटर फराकिलो २ लेन छन्। जुन मध्यविन्दुबाट १.५ मिटर लामा छन्। यसको कुल क्यारिएज वे ९.५ मिटरको छ। 

आकस्मिक सुरुङमार्ग २.५५७ मिटर लामो, ३.७ मिटर फराकिलो लेनयुक्त छ। पश्चिमतर्फ अडिट टनेल छ। यो १२६ मिटर लामो छ। 

यसका पहुँच मार्ग पनि छन्। जसमा पूर्वतर्फ २.३०७ किमि र पश्चिमतर्फ ०.५६७ किमि छ। यसको सर्भिस रोड पूर्वतर्फ २.२ किमिको छ।

त्यसैगरी यसमा क्रस प्यासेज टनेल पनि छ। ७ नं को उक्त टनेल १२८ मिटर लामो छ। 

सुरुङमार्ग योजनाभित्रै फ्लाइओभर पनि बनेका छन्। जुन १२८ मिटर लामो र ६०० मि. र्‍याम्पको छ। 

यसमा पुल र अन्य संरचना पनि छन्। २ वटा कर संकलन सुविधा संरचना छन्। यसलाई नियन्त्रण तथा नियमनका लागि सातवटा भवन रहनेछन्।  यसभित्र पानी आपूर्ति, डिस्पोजल एरिया डेभलपमेन्ट, ट्रान्समिसन लाइन ९४.२३ किमि पनि छ।

सुरुङमार्ग तयारी भई गाडी कुद्न करिब १० महिना लाग्ने आयोजनाले जनाएको छ। यसको भौतिक प्रगति ७३ प्रतिशत पुगेको छ।

आर्थिक प्रगति ६६.८१ प्रतिशत भएको आयोजनाले जनाएको छ। कुल लम्बाइ २.६८ मिटर लम्बाइ रहेको सुरुङमार्गमा पूर्वबाट ११ सय २ मिटर लम्बाइ र पश्चिमबाट १४ सय ६८ मिटर खनिएको छ।  

४० वर्षमा तिर्ने गरी साढे १६ अर्बको ऋण 
नेपाल सरकारले जापानसँग सस्तोमा ४० वर्षको लागि ऋण लिएको छ। २२ डिसेम्बर २०१६ मा ऋण सम्झौता भई कार्यान्वयन भएको थियो। 

आयोजनाको कुल लागत करिब २२ अर्बमध्ये दातृसंस्था जाइकाले करिब १६.६ अर्ब ऋणमार्फत उपलब्ध गराएको छ। 

ऋण सम्झौताअनुसार साढे १६ अर्ब ऋणको ०.०१ प्रतिशत ब्याजदर लाग्नेछ। सुरुको १० वर्ष मिनाहासहित चुक्ता समय ४० वर्ष छ। 

सुरुङमार्ग निर्माणकार्यअन्तर्गत विस्तृत डिजाइन कार्य, ठेकेदार छनौट कार्य, निर्माण सुपरिवेक्षण कार्य र सञ्चालन गर्न एनके–इजेइसी–एनसीसीको संयुक्त उपक्रममा परामर्शदाता छनोट भएको थियो। नेपालको जीओसी एन्ड इटेको नेपालले कार्यालय स्थापना गरी २०१७ बाट विस्तृत डिजाइन कार्य भइरहेको छ। 

मे २०२३ मा आयोजना निर्माण सम्पन्न हुनुपर्नेमा कोभिड महामारीले गर्दा सुरुङमार्ग १ वर्ष ढिलाइ भएको आयोजनाको दाबी छ। 

सन् २०१३ को फ्रेब्रुवरी महिनादेखि २०१५ मार्च महिनासम्ममा विभिन्न चरणको सर्वेक्षणको आधारमा नागढुंगा सुरुङमार्ग निर्माण सुरु भएको थियो। 

भिडिओ/तस्बिर : सरोज बैजु

बैशाख ३, २०८१ सोमबार २०:१०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .