कारोबार


लगानी सम्मेलनमा संरचनाको अभाव, सचिवदेखि डेपुटी गभर्नरले पाएनन् बस्न

लगानी सम्मेलनमा संरचनाको अभाव, सचिवदेखि डेपुटी गभर्नरले पाएनन् बस्न

लगानी सम्मेलनका अतिथिहरु। तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख १६, २०८१ आइतबार १५:५४, काठमाडौँ

काठमाडौंमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा बस्ने ठाउँकै अभाव देखिएको छ। 

पाँचतारे होटल सोल्टीमा आजदेखि सुरु भएको सम्मेलनमा आगन्तुहरुको व्यवस्थापन गर्ने ‘स्पेस’ नै कमजोर देखिएको हो। 

निम्ता गरेर बोलाइएका पाहुनाहरुलाई नै उचित बस्ने ठाउँ नै पुगेको छैन। सम्मेलनमा नेपालका उच्चपदस्थ अधिकारीहरु समेत बस्ने ठाउँ छैन। 

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका सचिव गणेश प्रसाद पाण्डेदेखि डेपुटी गभर्नर नीलम ढुंगानाले समेत बस्नको लागि सिट पाएनन्। उनीहरु उभिएर नै मन्तव्य सुनिरहेका थिए। 

आयोजकहरुले समेत हल सानो भएकोले व्यवस्थापनमा कठिनाइ भएको बताइरहेको छ। 

नेपालको पाँचतारे होटलमा सोल्टी ठूलो होटलमा पर्दछ। हायत रिजेन्सीपछिको ठूलो भूभाग समेत ओगटेको यस होटलमा नेपालको साख जोगाउने सम्मेलन चलिरहँदा संरचनाको अभाव देखिएको हो। 

यस होटल नेपालको अग्रणी लक्जरी होटलको रूपमा सेवा प्रदान गरिरहेको छ। यसको २ सय ८२ वटा विलासी रुम रहेको र ५ सयभन्दा बढी अटाउने ठूलो हल रहेको दाबी गरिए पनि जारी सम्मेलनमा पर्याप्त संरचनाको अभाव खट्किएको हो। 

९५ रोपनीमा फैलिएको यस होटलमा समेत आउनेहरुको व्यवस्थापन गर्न नसकेको देखिएको छ। यसले नेपालमा यस किसिमको कार्यक्रम आयोजना गर्न अझै संरचनाको अभाव देखाएको छ। 

लगानी सम्मेलनमा करिब २५ सय जना सहभागी छन्। नेपाली र विदेशी गरेर तेस्रो लगानी सममेलनमा ठूलो संख्यामा सहभागी छन्।

 

लगानी बोर्डले नै सम्मेलनको लागि गरेको निम्ता र सहभागिताको लागि गरेको स्वीकृतिअनुसार आयोजना भइरहेको सोल्टी होटल भरिभराउ छ। 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टका अनुसार ६० देशका ८०० बढी प्रतिनिधि त विदेशी नै छन्। तेस्रो लगानी सम्मेलन नेपालबाट एक हजार बढी सहभागिता छ। 

सम्मेलनमा १२ वटा सेसन हुँदै छ। सम्मेलनले सार्वजनिक निजी साझेदारीको मोडालिटीमा धेरै आयोजना अघि बढ्ने समेत निश्चित छ।

विदेशी दाताहरु तथा लगानीकर्ताहरुलाई बोलाएर लगानीको प्रवर्द्धन गर्ने उचित स्थान नै नभएको आजदेखि सुरु भएको सम्मेलनको चहल पहलले देखाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .