कारोबार


चीन र भारतको बीचमा बृहत् लगानी तथा उत्पादनको अवसर नेपालसामु छ : मन्त्री भण्डारी

चीन र भारतको बीचमा बृहत् लगानी तथा उत्पादनको अवसर नेपालसामु छ : मन्त्री भण्डारी

नेपालखबर
बैशाख १७, २०८१ सोमबार १७:५१, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ठूला अर्थतन्त्र चीन र भारतको बीचमा रहेर बृहत् लगानी तथा उत्पादन गर्ने अवसर नेपालसामु रहेको बताएका छन्। 

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ लाई सोमबार सम्बोधन गर्दै मन्त्री भण्डारीले भने, ‘हामी विश्वका २ ठूला अर्थतन्त्रको बीचमा रहेका छौँ। आन्तरिक बजारको साथै ती मुलुकको बजार र विश्व बजार केन्द्रित रहेर बृहत् लगानी तथा उत्पादन गर्ने अवसर हाम्रोसामु रहेको छ।’

जनशक्ति, स्रोत साधन र प्रविधिको अधिकतम परिचालन गर्दै बजारको उपयोग गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

‘यसका लागि अर्थतन्त्रको संरचनात्मक परिवर्तन गर्दै प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न औद्योगिक क्षेत्रमा नवीतम प्रविधिको अवलम्बन, पूर्वाधार निर्माण र दक्ष जनशक्तिको विकास तथा परिचालनमा विशेष जोड दिनुपर्नेछ’, उनले भने।

प्रविधिको विकासले उत्पादनको तरिका, उत्पादनको स्थान र आपूर्ति प्रणालीमा आमूल परिवर्तन हुँदै आएको उनले बताए।

‘उपभोक्ताको चाहना र सन्तुष्टिको स्तरमा पनि सोही अनुसार परिवर्तन हुँदै गएको छ । त्यसकारण पनि हामीले अनुसन्धान र विकासमा लगानी वृद्धि गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘हामीले उद्यमशीलता, उत्पादन र आर्थिक वृद्धिमा केन्द्रित रहेर उद्यमशील, दक्ष र सीपयुक्त जनशक्ति विकास तथा परिचालन गर्नुपर्ने हुन्छ।’ 

मन्त्री भण्डारीले औद्योगिकीकरण, रोजगारी सिर्जना, अन्तर्राष्ट्रिय व्यापारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न उत्पादनमूलक क्षेत्रमा नवप्रवर्तन र वृद्धि अपरिहार्य रहेको बताए। 

‘खासगरी उत्पादन प्रक्रियामा नविनतम प्रविधिको अवलम्बन गर्दै उपभोक्ताको आवश्यकता, चाहना र माग अनुसार वस्तु विकास तथा उत्पादनमा सिर्जनशीलताको अपेक्षा गरिएको हुन्छ । चौंथो र पाँचौं पुस्ताको औद्योगिकीकरणको वर्तमान परिदृश्यमा उत्पादनमूलक क्षेत्रलाई चलायमान बनाउन नवप्रवर्तनको भूमिका अहम् रहेको हुन्छ,’ उनले भने।

औद्योगिक क्षेत्रको विकास तथा विस्तार गर्न नेपाल सरकारले विभिन्न नीतिगत कानूनी र प्रक्रियागत सुधार गरेको उहाँले बताउनुभयो । मन्त्री भण्डारीले भने, ‘औद्योगिक व्यवसाय ऐनमा आयकर भन्सार महशुल लगायतका कर छुटको व्यवस्था गरिएको छ । नेपाल सरकारले महिला तथा लघु उद्यमीहरूको लागि विशेष सहुलियत, औद्योगिक तथा लगानी प्रवर्द्धन कोष, प्रदेश औद्योगिक तथा लगानी प्रवर्द्धन कोष, एकल बिन्दु सेवा केन्द्र लगायतका व्यवस्था कार्यान्वयनमा ल्याएको छ । राजस्व नीतिलाई उत्पादन एवम् लगानीकर्तामैत्री बनाउँदै लगिएको छ । नवप्रवर्तनको प्रवर्द्धन, बौद्धिक सम्पत्तिको विकास र संरक्षण गर्न बौद्धिक सम्पत्ति सम्बन्धी नयाँ कानून तर्जुमा कार्य भइरहेको छ।’

विदेशी लगानी सम्बन्धी कानुनमा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन र पुँजी लगानी कोष स्थापना गर्न सक्ने प्रावधानले नवप्रवर्तनमा योगदान पुर्‍याउने उनको विश्वास छ। अनुसन्धान तथा विकासमा लगानी वृद्धि गर्न नेपाल सरकारले चालू आर्थिक वर्षको बजेटमा पुँजीगत खर्चको १ प्रतिशत रकम अनुसन्धान तथा विकासमा विनियोजन गर्न सुरूआत गरेको उनले बताए।

मन्त्री भण्डारीले भने, ‘संघमा बिजनेश इन्कुबेसन केन्द्र स्थापना भएको र प्रदेशस्तरमा समेत क्रमशः सो केन्द्र स्थापना गर्ने कार्य प्रारम्भ भएको छ । त्यसैगरी, उत्पादनमूलक क्षेत्रमा नवीनतालाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न स्टार्टअप उद्यम नीति तथा कर्जा सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याइएको छ। नियमनकारी निकायलाई प्रविधियुक्त बनाउँदै दर्ता, नवीकरण, अनुमति र सहुलियत दिने जस्ता सेवाहरूलाई अटोमेशन गर्दै लगिएको छ। नेपाल सरकारले निजी क्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल’ तथा ‘मेक इन नेपाल’ जस्ता कार्यक्रममा सहयोग पुर्‍याउँदै आएको छ।’ 

आगामी दिनमा अनुसन्धान तथा विकासमा सरकार तथा निजी क्षेत्रको लगानी अभिवृद्धि, नवप्रवर्तनलाई प्रोत्साहन सहुलियत र प्रवर्द्धन सूचना तथा प्रविधि र यससँग सम्बन्धित जनशक्तिको विकास र महत्तम परिचालनमा केन्द्रित हुनुपर्ने महशुस गरेको उनले बताए।

मन्त्री भण्डारीले भने, ‘ट्रिपल हेलिक्स मोडेलमा आधारित रहेर प्राज्ञिक क्षेत्र, निजी क्षेत्र र सरकार बीचको सहकार्यमा नयाँ औद्योगिक वस्तुको विकास तथा उत्पादकत्व अभिवृद्धि गर्न आवश्यक व्यवस्था गरिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .