ad ad

कारोबार


बिहे मात्र होइन, मार्केटिङ गर्दैछ अम्बानी परिवार

बिहे मात्र होइन, मार्केटिङ गर्दैछ अम्बानी परिवार

नेपालखबर
असार ३०, २०८१ आइतबार २०:१६,

गत केही महिनायता एसियाकै धनी व्यक्ति मुकेश अम्बानीले भारतमा ठूलो चर्चा बटुलिरहेका छन्। यो चर्चा उनले कुनै ठूलो कम्पनी किनेको वा ठूलो रकम दान दिएकाले भएको होइन। बरु उनको छोराको महिनौँ लामो भव्य विवाह समारोहका कारणले हो, जसमा समग्र मुलुक र विश्व नै मन्त्रमुग्ध भएको छ।

प्रिवेडिङ पार्टी मार्चमा सुरु भएको थियो। त्यसयता थुप्रैको खाना, खाजा र नास्ताको समयमा हुने भलाकुसारी अम्बानी परिवार ओगटेको देखिन्छ। 

मुकेशका कान्छा छोरा अनन्त अम्बानीले लामो समयदेखिकी गर्लफ्रेन्ड राधिका मर्चेन्टसँग शुक्रबार मुम्बईमा लगनगाँठो कसे। यससँगै विश्वभर आयोजित ६ महिना लामो समारोहहरूको मैझारो भएको छ।

भारतमा विवाह भव्य हुन सक्छ। तर, अम्बानीको विवाह समारोहले पहिलेका राजामहाराजाको विवाह उत्सवलाई पनि फिका तुल्याइदिएको छ।

यो विवाह समारोहको हरेक भोजमा बलिउडका ठूला कलाकार उपस्थित भए। रिहाना, जस्टिन बिबरजस्ता पपस्टारले महँगो शुल्क लिएर प्रस्तुति दिए। र, गन्यमान्यको भीड चर्चाको अनन्त स्रोत बन्यो।

यी समारोहहरूमा मेटाका मार्क जुकरबर्ग, सामसङका सीईओ हान जोङ ही, बिल गेट्स, डोनाल्ड ट्रम्पकी छोरी इभान्का, बेलायतका पूर्वप्रधानमन्त्रीहरू बोरिस जोनसन र टोनी ब्लेयर, फिफाका अध्यक्ष जियानी इन्फान्टिनो र कार्दसियन दिदीबहिनीसम्म सहभागी भए।

र, यो सूची जति लम्ब्यायो, उति लम्बिइरहन्छ।

‘यिनीहरू अत्यन्त व्यस्त मान्छे हुन्। ती रमाइलो गर्न मात्र बिहेमा आएका होइनन्,’ द बिलियनायर राज : अ जर्नी थ्रु इन्डियाज् न्यु गिल्डेड एजका लेखक जेम्स क्य्राबट्री भन्छन्, ‘यसले के बताउँछ भने विश्वभरका व्यावसायिक अगुवाहरू अम्बानी परिवारलाई रणनीतिक रूपले महत्वपूर्ण मान्छन् र भारतलाई ठूलो बजारका रूपमा लिन्छन्।’

अम्बानी परिवार
अम्बानी परिवारलाई भारतको सबैभन्दा प्रभावशाली व्यापारिक घराना मान्ने गरिन्छ।

यो परिवारले रिलायन्स इन्डस्ट्रिज सञ्चालन गरेको छ। जुन मुख्यगरी तेल र टेलिकम व्यवसाय हो। यो कम्पनी मुकेशका पिता धिरुभाइ अम्बानीले स्थापना गरेका हुन्। उनको विरासत विवादास्पद मानिन्छ। भारतमा उदारीकरणअघिको राजनीतिमा कम्पनीलाई सफलतापूर्वक सञ्चालन गरेर उनले कम्पनीका सेयरहोल्डरहरूलाई धनी बनाएका थिए।

२००२ मा धिरुभाइको मृत्युपछि उनले खडा गरेको साम्राज्य दुई छोराहरूमा बाँडियो– अनिल र मुकेशमा। त्यसअघि उनीहरूबीच अंशबण्डाका लागि निकै उग्र लडाइँ चलेको थियो।

त्यसयता दुई दाजुभाइको बाटो अलग भयो। कान्छा अनिलले टाट पल्टिएको घोषणा गरे भने मुकेशले आफ्नो व्यवसायलाई झनझन् उपभोक्तामुखी बनाउँदै लगे। भलै रिलायन्सको मुख्य हिस्सा पेट्रोकेमिकल्सले नै किन नओगटोस्।

जमुनानगरमा अवस्थित उनको तेल प्रशोधन केन्द्र विश्वकै ठूलो हो। 

पछिल्ला वर्षहरूमा रिलायन्सले विश्वचर्चित लक्जरी ब्रान्डहरूलाई भारत भित्र्याइरहेको छ। जसमा भ्यालेन्टिनोदेखि भर्साचे र बरबेरीदेखि बोटेगासम्म छन्।

अहिले सो कम्पनीसँग विश्वको सबैभन्दा धनी क्रिकेट प्रतियोगिता खेल्ने एक टोलीका अलावा बेलायतमा चर्चित खेलैना बिक्रेता ह्याम्लिजको स्वामित्व पनि छ।

यही वर्ष रिलायन्सले डिज्नीसँग मर्जर गर्ने सम्झौता गरेको छ। यो त्यस्तो सम्झौता हो, जसले मुकेश अम्बानीलाई डिजिटल स्ट्रिमिङका क्षेत्रमा निकै ठूलो खेलाडी बनाउनेछ। जोसँग क्रिकेट प्रतियोगितादेखि अन्तर्राष्ट्रिय सोसम्मको अधिकार हुनेछ।

तर, अम्बानीको कम्पनीले प्राप्तिको शृंखला भने कोभिड महामारीका बेला सुरु गरेको हो। त्यतिबेला उक्त कम्पनीले मेटा र गुगलसहित एक दर्जनभन्दा ठूला विश्व खेलाडीबाट अर्बौं डलर लगानी प्राप्त गरेको थियो। ह्वाट्सएपलाई अनलाइन बिक्रेता जियोमार्टका ४० करोड प्रयोगकर्तासँग जोड्ने योजना मेटासँग छ। 

यो कम्पनीको आक्रामक रणनीतिले भारतमा नेटफ्लिक्स र अमेजनका लागि ठूलो चुनौती खडा गरेको छ।

रिलायन्ससँग भारतमा प्रतिस्पर्धा गर्ने अन्य विदेशी कम्पनीहरू भने भारत सरकारले पक्षपात गर्ने गरेको आरोप लगाउँछन्। 

‘विदेशी खेलाडीको सामु कठिन विकल्प हुन्छ,’ क्य्राबट्री भन्छन्, ‘कि त रिलायन्ससँग लड्नुपर्‍यो, कि उसँग मिल्नुपर्‍यो। जुकरबर्गले उनीहरूसँग साझेदारी गर्ने निर्णय लिए। जबकि अमेजनले लड्ने निर्णय गर्‍यो। तर, यस्तो लडाइँ निकै महँगो हुनेगर्छ र हार विदेशीहरूकै हुने गर्छ।’

मुकेश अम्बानीको अबको लक्ष्य हो वित्तीय सेवा। त्यसका लागि रिलायन्सले अमेरिकी कम्पनी ब्ल्याकरकसँग ज्वइन्ट भेन्चर सुरु गर्दैछ।

त्यसैले अम्बानीका लागि यो विवाह मात्रै होइन। यो उनीहरूको शक्ति र प्रभावको प्रदर्शन भएको ब्रान्ड स्ट्राटेजी विज्ञ हरिश बिजुर बताउँछन्।

‘यो परिवार त्यस्तो चुम्बक हो, जसले व्यापार, राजनीति, मनोरञ्जनजस्ता जीवनका हरेक क्षेत्रका मानिसहरूलाई आकर्षित गर्छ भन्ने कुराको प्रदर्शन हो यो,’ उनी भन्छन्।

विवाहजस्तो निजी समारोहको मिडियामा गरिएको प्रचारबाजी पनि त्यहाँ ननिम्त्याएकाहरूले समेत आफ्नो सहभागिता महसुस गरुन् भन्ने उदेश्यले अपनाइएको तरिका भएको उनी बताउँछन्।

धिरुभाइ अम्बानीलाई भारतका साना लगानीकर्तामाझ सेयर बजारलाई परिचित गराएको जस दिइन्छ। उनका छोरा मुकेशले पनि उनको व्यवसाय र औसत भारतीय उपभोक्तालाई अनेक तरिकाले जोडेका छन्।

भारतीयहरूले हेर्ने सोदेखि लगाउने लुगासम्म र भविष्यमा उनीहरूले गर्ने कारोबारसम्ममा अम्बानीको हात छ। 

त्यसकारणले अम्बानी परिवारका लागि भारतको बढ्दो उपभोक्ता वर्गसामु आफ्नो ब्रान्डको मार्केटिङ गर्ने यो बिहेभन्दा उत्तम अवसर अरु हुन सक्दैन। 

र, निश्चित रूपले यो बिहेले भारत र दुनियाँभरिका मानिसहरूलाई मन्त्रमुग्ध तुल्याइदिएको छ। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .