ad ad

कारोबार


काटिएका उद्योगका बिजुली आजै जडान गर्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

काटिएका उद्योगका बिजुली आजै जडान गर्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

नेपालखबर
साउन ८, २०८१ मंगलबार १५:१५, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणको आज बसेको सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगमा आजै बिजुली जोड्ने निर्णय गरेको छ। 

प्राधिकरणमा मंगलबार बोर्ड बैठक बसेको हो। बैठकमा सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखे पनि बाँकी सदस्य लाइन जोड्ने पक्षमा उभिएपछि समितिले उक्त निर्णय गरेको हो। 

‘हिजोको छलफलअनुसार नै आजको निर्णय भएको हो’, एक सदस्यले भने, ‘कार्यकारी निर्देशक (कुलमान) घिसिङले ३ महिनाको समय दिएर ६ उद्योगमा लाइन जोड्ने प्रस्ताव ल्याउनुभयो, त्यो बहुमतले पारित भयो।’

यसअघि सोमबार बसेको सञ्चालक समिति बैठक निष्कर्षविहीन भएको थियो। सोमबार नै अर्को बैठक बस्ने भने पनि बसेको थिएन। मंगलबार बैठकले निर्णय गरेसँगै अब लाइन काटिएका ६ उद्योगमा बिजुली जोडिने निश्चित भएको छ। 

‘३ महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् महशुल भुक्तानी नगरेमा पुनः बक्यौता असुलउपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत् लाइन जोड्ने’, आजको निर्णयबारे प्राधिकरणले भनेको छ, ‘लाइन काटिएका छ उद्योगको विद्युत् मंगलबार साँझबाटै क्रमिक रुपमा जडान गरिनेछ।’

प्राधिकरणले असार २५ र २७ गते रिलाइन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ वटा उद्योगको लाइन काटिदिएको थियो।  

सोसँगै यही साउन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक घिसिङलाई तत्काल काटिएका उद्योगको बिजुली जोड्न निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशनलगत्तै बसेको सञ्चालक समितिको बैठकले लिखित निर्देशन नआएको भन्दै लाइन जोड्न नमानेपछि आइतबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई उद्योगको लाइन जोड्न पत्र पठाएको थियो। 

आइतबार संसदमा समेत प्रधानमन्त्री ओलीले बिजुली तत्काल जोडेर समस्याको समाधान गर्नुपर्ने बताएका थिए। प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि उद्योगीसँग प्राधिकरणले विना प्रमाण महशुल तिराउन नसक्ने बताउँदै आएका छन्।

उद्योगी र प्राधिकरणबीच लामो समयदेखि डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली उपभोग गरेको शुल्कबारे विवाद हुँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .