चालू आर्थिक वर्षको पहिलो महिनामा आयात र निर्यात दुवै घटेको छ।
भन्सार विभागका अनुसार आयात ०.६७ प्रतिशतले र निर्यात ९.६३ प्रतिशतले घटेको हो।
गत आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपैयाँको आयात भएकोमा चालू आवको सोही अवधिमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपैयाँको आयात भएको छ।
त्यसैगरी निर्याततर्फ गत वर्ष १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारको वस्तु निकासी गरिएकोमा यस वर्ष १२ अर्ब २२ करोड ६१ लाख ४७ हजारको मात्र भएको छ।
मासिक तुलनामा व्यापारघाटा ०.३८ प्रतिशतले बढेको छ। गत वर्ष १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख १५ हजार रहेको व्यापारघाटा यस वर्ष सोही अवधिमा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख ७४ हजार रुपैयाँ छ।
कुल बाह्य व्यापारमा समेत कमी आएको तथ्यांकले देखाएको छ। अघिल्लो साउनमा १ खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजारको व्यापार गरेको नेपालले यस वर्ष साउनमा १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख ६८ हजारको वस्तु आयातनिर्यात गरेको हो।
विभागका अनुसार आयातनिर्यात अनुपात ९.९२ प्रतिशतले धनात्मक हुँदा कुल व्यापारमा निर्यातको हिस्सा ८.२४ प्रतिशतले ऋणात्मक र आयातको हिस्सा ०.८६ प्रतिशतले धनात्मक छ।
Shares
प्रतिक्रिया