ad ad

कारोबार


निर्माणाधीन संसद भवनको प्रगतिबाट सभामुख घिमिरे असन्तुष्ट

निर्माणाधीन संसद भवनको प्रगतिबाट सभामुख घिमिरे असन्तुष्ट

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १७:३, काठमाडौँ

सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

आगामी चैत २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता रहेको भएपनि समयावधि भित्रै सक्नेगरी काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

बिहीबार निर्माणाधीन नयाँ संसद भवनको निरीक्षण अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले सात महिना भित्रमा बाहिरको भौतिक पूर्वाधारसम्म बनाउनसके पनि भित्रका फिनिसिङका कुराहरु सम्पन्न गर्न समयावधि पछिका ७ महिना जति लाग्ने देखिएको उल्लेख गरे।

उनले अझै डेढ वर्ष भन्दा अगाडि नयाँ संसद भवनबाट काम गर्न सकिने अवस्था नरहेको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गरे। निर्माणका लागि कुनै जटिलताहरू भए सरकारसँग छलफल गरी समाधान गर्न पनि आग्रह गरे।

उनले भने, ‘एउटा चिन्ताको विषय केहो हो भने हामी चैत २० भनेको अब ७ महिना छ। सात महिना भित्रमा यसको बाहिरको भौतिक पूर्वाधारसम्म बनाउला तर यसका भित्रका कुराहरू फिनिसिङका कुराहरु सबै कुराहरुले अरु पाँचदेखि सात महिना लाग्ने देखिन्छ। अझै डेढ वर्ष भन्दा अगाडि यहाँ कार्यक्रम गर्न नसक्ने देखिन्छ। कसरी छिटो गर्न सकिन्छ, यसमा सबैको साथ र सहयोग खासगरी उत्साहजनक वातावरण बनाएर जानुपर्छ।’

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले असार मसान्तसम्म भौतिक प्रगति मूल्यांकन ८१ प्रतिशत रहेको बताए।

उनले भवनहरुमा छानाको काम सबै सम्पन्न भइसकेको पनि बताए। उनले इलेक्ट्रिफिकेशन स्यानेटरीको कामहरु अघि बढिरहेको जानकारी दिए। १९ प्रतिशत बाँकी निर्माण कार्य चैत २० गतेभित्र सम्पन्न गर्न निर्माण व्यवसायीसँग निर्धारित कार्यतालिकासमेत माग गरेर अघि बढेको जानकारी दिए।

महानिर्देशक महर्जनले निर्माण कार्य समयमै सक्न दुई चरणमा काम गर्न निर्देशन दिएपनि अहिलेसम्म सुरु नभएको बताए। निर्माण कार्य निर्धारित समयमै सक्नेगरी काम गर्नुपर्नेमा सरकारको जोड रहेको उनको भनाई थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .