ad ad

कारोबार


३० वर्ष अनुभवी टेलिकमकी प्रबन्ध निर्देशक पहाडी भन्छिन्– फाइभजी सञ्चालन गर्ने लक्ष्य छ

३० वर्ष अनुभवी टेलिकमकी प्रबन्ध निर्देशक पहाडी भन्छिन्– फाइभजी सञ्चालन गर्ने लक्ष्य छ

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी


वसन्त अर्याल
भदौ २१, २०८१ शुक्रबार १९:७, काठमाडौँ

तीन दशक लामो समय दूरसञ्चार क्षेत्रमा बिताएकी संगीता पहाडी अर्याल अब नेपाल टेलिकमको नेतृत्व सम्हाल्दै छिन्। भदौ २० मा बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई कम्पनीको रिक्त प्रबन्ध निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको छ।

टेलिकमको नायब प्रबन्ध निर्देशक उनले विगत करिब एक वर्षदेखि कायममुकायम प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।यसअघिका प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि यो पद रिक्त भएको थियो। 

नेपाल टेलिकमको नेतृत्व चयन प्रक्रिया यसअघिकी सञ्चारमन्त्री रेखा शर्माले अघि बढाएकी थिइन्। आवेदन माग गरेर अन्तर्वार्ता र प्रस्तुतीकरणपछि प्रक्रिया रोकिएको थियो।

पहाडीसँगको प्रतिस्पर्धामा १७ जना थिए, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, बुद्धिप्रसाद आचार्य, शालिकराम सुवेदी, रमेशप्रसाद जोशी, कमल लामिछाने, केदारनाथ कोइराला, नगेन्द्रकुमार दास, सुभाष शाह, लक्ष्मण महर्जन, शालिकराम पराजुली, कृष्णप्रसाद भण्डारी, चिन्तामणि बराल, प्रेमप्रसाद सिलवाल, विमल आचार्य र अनिलकुमार झा।

यीमध्ये पहाडीका साथै विमल आचार्य र अनिलकुमार झा अन्तिम ३ मा परेका थिए। अन्ततः पहाडीले बाजी मारेकी हुन्।

यसअघि टेलिकमका कर्मचारीले बाहिरबाट नियुक्त गरे आन्दोलन गर्ने चेतावनी दिएका थिए। पौडेलले बाहिरबाट टेलिकमको नेतृत्व सम्हाल्दा टेलिकमकै बदनामी भएको कर्मचारीले बताउँदै आएका थिए। पौडेल नियुक्त हुँदा पनि पहाडी ‘सर्ट लिस्ट’मा थिइन्।

भारतबाट बीई, थाइल्यान्डबाट एमई 
प्रबन्ध निर्देशक पहाडीले भारतको अलाहावाद विश्वविद्यालयबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन्। 

२०४९ मै अस्थायी इन्जिनियरको रूपमा टेलिकम प्रवेश गरेकी उनले २०५१ मा स्थायी नियुक्ति पाइन्। टेलिकममा उनी चिफ टेक्निकल अफिसर र चिफ कमर्सियल अफिसर भएर काम काम गरेको अनुभव छ। 

पहाडीको नियुक्तिसँगै सरकारी स्वामित्वको संस्थान नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले दोस्रोपटक महिला नेतृत्व पाएको हो। यसअघि कामिनीराज भण्डारी यस पदमा थिइन्। 

नवनियुक्त प्रबन्ध निर्देशक पहाडीले आफ्नो कार्यकालमा नयाँ प्रविधि भित्र्याई टेलिकम्युनिकेसन सेवाको गुणस्तरमा मुख्य ध्यान दिने अठोट लिएकी छन्। 

‘टेलिकममै ३० वर्ष अनुभव भएको एउटा कर्मचारी हुँ,’ पहाडीले नेपालखबरसँग भनिन्, ‘अहिलेसम्म सिकेको अनुभवका आधारमा टेलिकमको प्रशासनिक सुधार र नेपालको सबै ठाउँमा गुणस्तरीय सेवा विस्तार गर्ने भन्नेमा मेरो ध्यान केन्द्रित हुन्छ।’

पहाडीका चुनौती 
पछिल्लो समय टेलिकमको व्यवसाय खुम्चिँदै गएको छ। भ्वाइस सेवामा गिरावट आएकाले टेलिकमको नाफा घटिरहेको छ। डेटा खपत भने बढ्दो क्रममा छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमलाई फाइभजी परीक्षणको अनुमति दिएको छ। यसको सफल सञ्चालनले उनको सफलताको एउटा मानक बनाउन सक्नेछ। 

‘नेपाल टेलिकमले फाइजभी परीक्षण गरिरहेको छ’, पहाडीले भनिन्, ‘नयाँ प्रविधिको रूपमा फाइभजी सञ्चालन गर्ने हाम्रो लक्ष्य हुन्छ।’

दूरसञ्चारको मुख्य काम नयाँ प्रविधि भित्र्याउने र अहिलेका सेवालाई सर्वसुलभ बनाउने रहेको उनको बुझाइ छ। त्यसैले टेलिकमको सेवा गाउँगाउँसम्म पुर्‍याउने, दुर्गमको गुणस्तर वृद्धि गर्दै टेलिकमको प्रशासनिक सेवा चुस्त बनाउनेमा खास केन्द्रित हुने उनको योजना छ। 

गत आर्थिक वर्षमा नेपाल टेलिकमको कुल आय, सञ्चालन आय, खुद नाफा, करअघिको नाफा घटेको छ। कुल आय २ अर्ब ८० करोडले घटेको टेलिकमको वित्तीय विवरणमा देखिन्छ।

अघिल्लो आवमा ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार कुल आम्दानी गरेको टेलिकमले गत आवमा ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ कमाएको छ। 

टेलिकमको खुद मुनाफामा समेत १६.४४ प्रतिशतले कमी आएको छ। टेलिकमका अनुसार अघिल्लो आवमा ७ अर्ब ९२ करोड १ लाख ५५ हजारको तुलनामा गत आवमा टेलिकमले ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार मात्रै मुनाफा गरेको छ।

टेलिकमको करअघिको मुनाफामा ३.९१ प्रतिशतले कमी आएको छ। 

अघिल्लो आवमा ११ अर्ब ८४ करोड यस्तो मुनाफा गरेको कम्पनीले गत आवमा ११ अर्ब ३७ करोड मुनाफा रहेको छ। उनले टेलिकमको व्यवसाय विस्तारमार्फत नाफा बढाउनुपर्ने मुख्य चुनौती हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .