ad ad

कारोबार


नेपाली वस्तु निर्यातमा छुटलाई निरन्तरता दिन अमेरिका सकारात्मक, अमेरिकी संसदमा प्रस्ताव गर्ने

नेपाली वस्तु निर्यातमा छुटलाई निरन्तरता दिन अमेरिका सकारात्मक, अमेरिकी संसदमा प्रस्ताव गर्ने

नेपालखबर
असोज २, २०८१ बुधबार १७:१६, काठमाडौँ

अमेरिकामा नेपाली वस्तु निर्यात गर्दा पाइरहेको महशुल छुटले निरन्तरता पाउने देखिएको छ।  

नेपाल र संयुक्त राज्य अमेरिकाबीचको व्यापार तथा लगानी सम्झौताअन्तर्गत रहेको परिषद्‌को सातौँ बैठकमा ७७ वटा वस्तु निर्यातमा पाएको उक्त सुविधालाई निरन्तरता दिन अमेरिकी पक्ष सकारात्मक भएको हो। 
 
गत भदौ ३१ गते काठमाडौंमा भएको परिषद्को बैठकमा २०२५ डिसेम्बरमा सकिने ७७ वस्तुको सुविधालाई निरन्तरता दिने र थप वस्तु सूचीकृत हुने विषयमा छलफल भएको थियो। 

‘नेपाल र संयुक्त राज्य अमेरिकाले द्विपक्षीय आर्थिक सम्बन्ध बढाउँदै व्यापार तथा लगानीका क्षेत्र विस्तार गर्न दुवै पक्षबीच थप सहयोग आदानप्रदान गर्नुपर्ने विषयमा सहमति भएको छ’, बाबुराम अधिकारीले भने, ‘नेपालले अनुरोध गरेबमोजिम  एनटीपीपीको समयावधि थप गर्ने तथा सो कार्यक्रमअन्तर्गत सुविधा प्राप्त गर्ने वस्तुको सूची विस्तार गर्ने विषयमा अमेरिकी पक्ष सकारात्मक रहेको छ।’

तर छुट दिने विषय अमेरिकी कंग्रेसको कार्यक्षेत्रमा पर्ने भएकोले सोको लागि विधायक तहमा समेत संयुक्त पहल गर्ने विषयमा दुवै पक्षद्वारा प्रतिबद्धता व्यक्त गरेका छन्। 

बैठकमा नेपालको तर्फबाट वाणिज्य सचिव गोविन्द बहादुर कार्की नेतृत्वमा १७ सदस्यीय र संयुक्त राज्य अमेरिकाको तर्फबाट दक्षिण तथा मध्यएसियाका लागि सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो। सचिव मधुसुदन बुर्लाकोटीले नेतृत्व गर्ने तयारी गरेकोमा गत बिहीबार मात्रै उनको सरुवा भई गोविन्दबहादुर कार्की वाणिज्य सचिव भएका थिए। 

बैठकमा नेपालले विभिन्न क्षेत्रमा थप प्राविधिक सहायता उपलब्ध गराउन र प्रभावकारी बनाउन अनुरोध गरेको थियो। 

‘नेपाललाई कुन क्षेत्रमा कस्तो प्रकारको प्राविधिक सहायता आवश्यक पर्ने हो, सोको विस्तृत विवरणसहित कूटनीतिक माध्यमबाट पत्राचार गर्न समेत अमेरिकी पक्षबाट सुझाव प्राप्त भएको छ’, सहसचिव अधिकारीले भने।  


 
बैठकमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच नेपालमा लगानीको वातावरण,  प्राविधिक सहायता तथा क्षमता अभिवृद्धि, व्यापार प्रवर्द्धन, बौद्धिक सम्पत्ति, डिजिटल अर्थतन्त्र, श्रमिक अधिकार, विकासशील राष्ट्रमा स्तरोन्नति, बहुपक्षीय व्यापार सम्झौताको कार्यान्वयनलगायतको विषयमा छलफल भएको छ। परिषद्को आठौँ बैठक सन् २०२५ मा अमेरिकामा गर्ने सहमति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .