कारोबार


निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः रुख काट्नुअघि वृक्षारोपण

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः रुख काट्नुअघि वृक्षारोपण

नेपालखबर
साउन २८, २०७६ मंगलबार ७:२०,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख काट्नुअघि वृक्षारोपण गर्ने बताएका छन्।

‘निजगढका रुख काट्नुअघि त्यसको क्षतिपूर्ति हुनेगरी वृक्षारोपण सुरु हुन्छ। म वन विनाश गर्न आएको होइन, विमानस्थल बनाउन आएको हुँ’, मन्त्री भट्टराईले मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बोल्दै भने, ‘वृक्षारोपणका विषयमा आगामी बुधबार वन मन्त्रालयसँग छलफल हुनेछ।’

विमानस्थल बनाउँदा १ हजार ९ सय हेक्टरभित्र आधारभूत संरचना बन्नेछ। ८ हजार ४५.७९ हेक्टरका रुख कटान हुने वातावरण प्रभाव मूल्यांकन (ईआईए) मा उल्लेख छ। त्यहाँ करिब ६ लाख रुख काटिने प्रतिवेदनमा उल्लेख छ।

लगानी सरकारका लागि ठूलो कुरा छैन
मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि विदेशी लगानी नजुटे सरकार आफैँले लगानी गर्ने बताएका छन्। ‘विमानस्थल निर्माणको लगानी एक वर्षमै लाग्ने होइन। वार्षिक २०–२५ अर्ब रुपैयाँ छुट्याउन सरकारका लागि ठूलो कुरा होइन’, उनले भने, ‘सरकार अब यो परियोजनामा पछाडि फर्किने मुडमा छैन।’

यस विषयमा छलफल गर्न आजै मंगलबार पर्यटन मन्त्रालयले लगानी बोर्डसँग छलफल राखेको छ। मन्त्री हुनासाथ उनले पूर्व तयारीसहित आगामी मंसिरमा सो विमानस्थल शिलान्यास हुने बताएका थिए। राजनीतिक प्रतिबद्धता र सरकारले आयोजनालाई महत्व दिएको छ भन्ने देखाउन समेत शिलान्यास जरुरी रहेको उनले बताए।

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बाराको कोहल्बी नगरपालिका–८ र जिपुर सिमरा उपमहानगरपालिका–१ सम्म हुनेछ। विमानस्थल दुई चरणमा बनाउने तयारी पर्यटन मन्त्रालयको छ।

पहिलो चरणमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) मापदण्डअनुसारको रनवे, ट्याक्सी वे, टर्मिनल र एप्रोनलगायतका आवश्यक परिवहन तथा सञ्चार सुविधा भएको अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछ। दोस्रो चरणमा आधुनिक यातायात सुविधा, पहिलो चरणमाजस्तै रनवे, ट्याक्सी वे, एयरलाइन्स सेटअप, ह्यांगर, सञ्चार, खानेपानी आपूर्ति, ढल व्यवस्थापन र होटल लजसहितको विमानस्थल विकास गरिनेछ।

सरकारले यो विमानस्थलको पहिलो चरण सन् २०३० मा सम्पन्न गर्ने लक्ष्य राखेको छ। पहिलो चरण सम्पन्न हुँदा ९२ लाख हवाई यात्रुले सुविधा पाउनेछन्। दोस्रो चरणमा निर्माण सम्पन्न हुँदा विमानस्थलको क्षमता ६ करोड यात्रु धान्ने हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .