कारोबार


गाडी आयात महिनामै ४ अर्बले घट्यो, वैशाखमा ७८ विद्युतीय गाडी मात्र भित्रिए

गाडी आयात महिनामै ४ अर्बले घट्यो, वैशाखमा ७८ विद्युतीय गाडी मात्र भित्रिए

वसन्त अर्याल
जेठ १०, २०७९ मंगलबार १३:२५, काठमाडौँ

सरकारले विदेशबाट सवारीसाधन ल्याउन कडाइ गर्दा एकै महिनामा ४ अर्बले आयात घटेको छ। 

चालू आर्थिक वर्षमा मासिक औसत ९ अर्ब बढीको आयात हुँदै आएकोमा वैशाखमा ह्वात्तै घटेको हो।

सरकारले डलर सञ्चितिमा कमी आएको भन्दै गाडी आयातमा रोक लगाएको छ। त्यसको असर समग्र अटो बजारमा देखिएको छ। सरकारले विद्युतीय गाडीलाई आयात खुल्ला गरे पनि गाडी भित्रिनसकेका छैनन्। वैशाखभरिमा जम्मा ७८ वटा विद्युतीय गाडी भित्रिएका छन्। 

भन्सार विभागको तथ्यांकअनुसार १० महिनामा ८७ अर्ब रुपैयाँबराबरको सवारीसाधन आयात भएको छ। जब कि साउनदेखि चैतसम्म ८२ अर्ब रुपैयाँको आयात भएको थियो। ९ महिनामा ८२ अर्बको आयात हुँदा वैशाखमा जम्मा ५ अर्बको मात्रै आयात भएको हो। यो भनेको औसतमा मासिक ९ अर्ब बढी हो। 

राष्ट्र बैंकले गत पुसमा गाडी आयातको लागि एलसी खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो। योसँगै व्यवसायीले एलसी खोल्न कम गरेका थिए। चैतमा वाणिज्य बैंकहरुले सवारीसाधनलगायतको वस्तुमा एलसी नै नखोल्ने निर्णय गरे। सरकारले औपचारिक रुपमा वैशाखमध्यबाट विद्युतीयबाहेकका गाडी आयात असार मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै १५ वटा एचएसकोडका सवारीसाधनको आयातका लागि एलसी खोल्न बन्द गरेको छ। अटो व्यवसायीले पुसदेखि नै मार्जिन राख्नुपर्ने व्यवस्थाले एलसी कम खुल्दा अहिले आयात खुम्चिएको बताएका छन्। 

अटो व्यवसायीका अनुसार अहिलेकै नीति कायम रहे आगामी आर्थिक वर्षको साउन–भदौसम्म सवारीसाधनको आयात ठप्प जस्तै हुनेछ। अहिले विद्युतीय सवारीसाधन, २५० सीसीसम्मका मोटरसाइल, ढुवानीका गाडीको एलसी खोल्न पाइन्छ। तर राष्ट्र बैंकले एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था यथावत् राखेको छ। 

कुन सेग्मेन्टका कति गाडी आयात भए?
१० महिनामा १५ सय सीसीसम्मका पेट्रोल इन्जिनका गाडी ८ हजार २५८ वटा आयात भएका छन्। गत चैतसम्मका ७ हजार ६३५ गाडी आयात भएका थिए। वैशाख महिनामा १५ सय सीसीसम्मका ६२३ वटा गाडी नेपाल भित्रिएका छन्। 

१५ सयदेखि २ हजार सीसीसम्मका १९७ गाडी र ३ हजार सीसीसम्मका २६ वटा आयात भएको विभागले उल्लेख गरेको छ। चैतसम्म १९० वटा गाडी आयात भएका थिए। एक महिनामा जम्मा ७ वटा गाडी भित्रिएका छन्। 

वैशाखसम्म डिजेल इन्जिनका १५ सय सीसीसम्मका ४२२ वटा आयात भएका छन्। १५०० देखि २५००० सम्मका १०८० गाडी भित्रिएका छन्। चैतसम्म ९८० गाडी आयात भएका थिए। 
२५०० सिसि माथीका १८७ गाडी आयात भएका छन्। पेट्रोल–इलेक्टिक हाइब्रिड गाडी १६ वटा भित्रिएका छन्।  

१० महिनामा १५ सय ५१ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। १०० किलोवाटसम्मका ८०५ वटा गाडी भित्रिएका छन्। १०० देखि २०० सीसी ७४२ गाडी आयात भएका छन्। २ सय किलोवाट बढीका ४ वटा मात्रै भित्रिएका छन्। चैतमहिनासम्म १४ सय ७३ विद्युतीय गाडी भित्रिएका थिए। वैशाखमा जम्मा ७८ विद्युतीय गाडी भित्रिएका छन्। 

वैशाखसम्म २ लाख ३९ हजार दुईपांग्रे सवारी साधन भित्रिएका छन्। १२५ सिसिसम्मका १ लाख ५३ हजार मोटरसाइकल तथा स्कुटर आयात भएका छन्। यो सेगमेन्टमा अधिकांस स्कुटर भित्रने गरेका छन्। 

१२५ देखि २०० सिसीसम्मका ६१ हजार २४१ मोटरसाइकल भित्रिएका छन्। २०० देखि २५० सिसिसम्मका १७ हजार ९१३ मोटरसाइकल भित्रिएका छन्। 

२५० देखि ४०० सिसिसम्मका ६ हजार ३८७ गाडी आयात भएका छन्। ५०० सिसिमाथीका ५ वटा मात्रै गाडी भित्रिएका छन्।

चैतसम्म २ लाख २५ हजार मोटर साइलकल आयात भएकोमा वैशाख भरिमा जम्मा १४ हजार मात्रै मोटरसाइकल भित्रिएका छन्।

साउन देखि वैशाखसम्म ४ हजार ९१ वटा विद्युतीय स्कुटर तथा मोटरसाइकल नेपाल भित्रिएका छन्। चैतसम्म २९ सय ७६ विद्युतीय स्कुटर आयात भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .