कारोबार


अन्य सबै क्षेत्रमा बढ्दा अटो कर्जा घट्यो, कुन बैंकले कतिमा दिन्छन्?

अन्य सबै क्षेत्रमा बढ्दा अटो कर्जा घट्यो, कुन बैंकले कतिमा दिन्छन्?

नेपालखबर
फागुन २७, २०८० आइतबार २२:५९, काठमाडौँ

अटो क्षेत्रमा प्रवाह हुनेबाहेक अन्य सबै कर्जा बढेको छ। गाडीको व्यापार घटेका कारण यस क्षेत्रमा जाने कर्जा पनि घटेको हो। 

राष्ट्र बैंकको आइतबार सार्वजनिक ताजा तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा १ खर्ब ९७ अर्ब २१ करोड अर्थात् ४.१ प्रतिशतले बढेको छ।  

तर माघ महिनामा अटो क्षेत्रमा प्रवाह हुने हायर पर्चेज कर्जा भने २०.३ प्रतिशतले घटेको छ। 

अरु विभिन्न कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले बढेको छ। 

थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले बढेको छ।

त्यस्तै आवधिक कर्जा १४.० प्रतिशतले, नगद प्रवाह कर्जा २६.० प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा ११.१ प्रतिशतले, रियल स्टेट (घरजग्गा) कर्जा   ५.२ प्रतिशतले र मार्जिन प्रकृति (सेयर धितो)को कर्जा ११.६ प्रतिशतले बढेको छ। 

हालसम्म निजी क्षेत्रमा कुल ५० खर्ब ८८ अर्ब कर्जा प्रवाह भएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार २०८० असार मसान्तसम्म १ खर्ब ५९ अर्ब प्रवाह भएकोमा अहिले घटेर १ खर्ब २६ अर्बमा सीमित भएको छ। ७ महिनामै ३२ अर्ब २४ करोडले ऋण घटेको छ। 

साउनदेखि माघ मसान्तसम्म ४२ अर्ब ५३ करोड रुपैयाँको गाडी तथा पार्ट्स आयात भएको छ। जसमा विद्युतीय गाडीको आयात बढ्दो छ भने पेट्रोल तथा डिजेलका गाडी र दुईपांग्रे गाडीको आयात तथा खपत कम छ। 

कुन बैंकले कतिमा दिएका छन् कर्जा?
सञ्चालनमा रहेका विभिन्न बैंकहरुले आआफ्नो दरअनुसार कर्जा प्रवाह गरेको देखिएको छ। 

यसअनुसार नबिल बैंकले निजी प्यासेन्जर गाडीमा ७ वर्षको लागि ऋण प्रवाह गर्दै आएको छ। उसले गाडीको मूल्यको ५० प्रतिशतसम्म कर्जा प्रवाह गर्छ। ८० लाखसम्मको गाडी कर्जा दिने गरेको बैंकले कमर्सियल गाडीमा ५ वर्षको लागि अधिकतम ७० प्रतिशतसम्म ऋण दिने गरेको छ। 

विद्युतीय गाडीमा भने बढीमा ७ वर्षको लागि ८० प्रतिशतसम्म ऋण दिने गरेको छ। नबिल बैंकले ९.९९ प्रतिशतबाट अटो लोन अर्थात् गाडी कर्जा दिने गरेको छ। बेसरेट (आधार दर)मा २ देखि ४ प्रतिशतसम्म प्रिमियम लिने गरेको छ। विद्युतीय गाडीमा १ प्रतिशतमै दिने स्किम छ। 

यता, ग्लोबल आईएमई बैंकले ९.०९ मा प्रिमियम जोडेर कर्जा प्रवाह गर्दै आएको छ। ग्लोबल आईएमईले स्थिर वार्षिक ब्याजदरमा १०.४९ प्रतिशतमा आवधिक कर्जा उपलब्ध गराउने उल्लेख गरेको छ। 

एनएमबी बैंकले ७ वर्षसम्म निश्चित ब्याजदरमै कर्जा उपलब्ध गराउँछ। इन्धन लागतमा बचत गर्ने उद्देश्यले विद्युतीय गाडीमा १०.४९ प्रतिशतमा ७ वर्षको लागि कर्जा उपलब्ध गराउँछ। विद्युतीय गाडीको मूल्यको ८० प्रतिशतसम्म बैंकले ऋण दिँदै आएको छ।

एनएमबी बैंकको माघको बेसरेट ९.३७ प्रतिशत छ। पेट्रोलका गाडीमा भने बैंकलेण् बेसरेटमा २ प्रतिशत प्रिमियम जोडेर लिने गरेको छ। 

१० वर्षे अटो लोन
एनआईसी एसियाले १० वर्षसम्मको लागि अटो लोन प्रवाह गर्दै आएको छ। उसको स्थिर ब्याजदर ११.९९ प्रतिशत छ।

स्थिर ब्याजदरको सुविधा नलिनेको हकमा भने बैंकले बेसरेटमा रिस्क प्रिमियम जोडेर लिने गरेको छ। यसअनुसार बैंकले कम्तीमा ५ लाख र बढीमा २ करोडसम्म ऋण दिने गरेको छ। 

हिमालय बैंकले हायर पर्चेज (गाडी) कर्जामा ०.५ प्रतिशतदेखि २.५ प्रतिशतसम्म लिने गरेको छ। बैंकले बेस रेटमा २ प्रतिशत चार्ज लिने गरेको छ। हाल हिमालयन बैंकको बेस रेट १०.१३ प्रतिशत छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .