ad ad

कारोबार


नेपाली दुईपांग्रे ईभी ब्रान्ड ‘यात्री’मा सिप्रदीले लगानी गर्ने

नेपाली दुईपांग्रे ईभी ब्रान्ड ‘यात्री’मा सिप्रदीले लगानी गर्ने

नेपालखबर
असार १६, २०८१ आइतबार १४:२९, काठमाडौँ

नेपाली विद्युतीय मोटरसाइकल ब्रान्ड ‘यात्री’मा सिप्रदीले लगानी गर्ने भएको छ।

सिप्रदी र यात्रीबीच स्वदेशमै विद्युतीय दुई पांग्रे सवारीसाधन उत्पादन गर्नका लागि रणनीतिक साझेदारीको रुपमा सम्झौता भएको हो। 

नेपालमा सिप्रदी ट्रेडिङ टाटाको आधिकारिक बिक्रेताको रुपमा रहेको छ। सिप्रदी ट्रेडिङका अनुसार  मेड इन नेपाल दुई पांग्रे विद्युतीय सवारी साधन उत्पादन गर्न सिप्रदी र यात्रीबीच रणनीतिक साझेदारीको सम्झौता भएको छ।

‘देशको बाटो र माटो सुहाउँदो तथा नेपाली ग्राहकवर्गको बदलिँदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्ने विश्वासको साथ सिप्रदी र यात्रीले गुणस्तरीय दुई पांग्रे सवारी उत्पादन गर्न यो सम्झौता भएको हो’, कम्पनीले भनेको छ। 

सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा सन् १९८२ वर्षदेखि आबद्ध रहेको छ। नेपालमै पहिलो इलेक्ट्रिक मोटरसाइकल पी–० र पी–१ बनाएर चर्चा कमाएको यात्री नेपाली युवाहरुको बीचमा चर्चित ब्राण्ड हो।

यात्री डिजाइन स्टुडियोले उत्पादन गरेको यात्री मोटरसाइकल नेपाली विद्युतीय दुई पांग्रे उत्पादन उद्योगमा कोशेढुंगा साबित हुने कम्पनीले दाबी गरेको छ। 

आधुनिक प्रविधिलाई आत्मासात् गर्दै देशमा वातावरणमैत्री यातायात प्रणाली विकास एवं विस्तार गर्नुका साथै नेपाली युवा व्यवसायीलाई प्रोत्साहन गर्नका लागि यो सम्झौता प्रभावकारी हुने बताइएको छ। 

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सिप्रदी र यात्रीबीचको सम्झौताले मोबिलिटीका चुनौतीसँग जुध्न सहयोग पुग्ने बताए।

यात्रीका संस्थापक तथा सीईओ असिम पाण्डेले सम्झौताका मुख्य विषय भविष्यमुखी सोच र परिष्कृत डिजाइन रहेको बताए।

‘दुई कम्पनीबीचको सम्झौताले नयाँ डिजाइनका दुईपांग्रे  गाडी उत्पादन र क्षेत्रीय रुपमा नेटवर्क विस्तारमा सहयोग पुग्नेछ’, सीईओ पाण्डेले भनेका छन्।

यसअघि यात्रीमा कालिका ग्रुपले लगानी गरेको थियो। 

तस्बिरहरु : यात्री मोटरसाइकल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .