ad ad

कारोबार


बेलायती ल्युब्रिकेन्ट्स भिडोलले नेपालमा खोल्यो उद्योग, ५० करोड लगानी

विद्युतीय गाडीमा प्रयोग हुने आयल उत्पादनमा अध्ययन गर्दै
बेलायती ल्युब्रिकेन्ट्स भिडोलले नेपालमा खोल्यो उद्योग, ५० करोड लगानी

बेलायती ब्रान्ड भिडोलले नेपालमै उद्योग स्थापना गरेको छ (वसन्त अर्याल)


नेपालखबर
असोज २, २०८१ बुधबार १३:३२, काठमाडौँ

बेलायती ब्रान्ड भिडोलले नेपालमै उद्योग स्थापना गरेको छ।

युनाइटेड लुब्रिकेन्ट्स प्रालिले फ्रेन्चाइज रुपमा भिडोलको उद्योग सञ्चालनमा ल्याएको हो।

उद्योगले अटोमोबाइल्स र औद्योगिक प्रयोगमा हुने आयल उत्पादन गर्छ। लुब्रिकेन्ट्स उत्पादक भिडोलको धनुषाबाट उत्पादन थालेको छ। ७५ देशमा बिक्री भइरहेको भिडोलले नेपालमा १८औँ प्लान्ट खोलेको जनाएको छ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगको उद्घाटन गर्दै नेपालको ढुवानी यात्रा सवारीसाधनमा मात्रै हुने भएकाले लुब्रिकेन्टको बजार बढी भएको बताए।

‘भिडोलले नेपालमै प्लान्ट राख्दा कम्पनी र नेपाल दुवैलाई फाइदा हुन्छ’, मुख्यमन्त्री सिंहले भने, ‘नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको र त्यसमा सहजीकरण गर्न प्रदेश सरकार तत्पर छ।’

भिडोल इन्टरनेसनल युकेका निर्देशक आर्जित बासुले नेपालमै उत्पादन सुरू हुँदा ब्रान्डप्रतिको विश्वास बढ्ने बताए। भारतमा ५ र यूएईमा २ वटा प्लान्ट रहेको बताउँदै निर्देशक बासुले नेपालमा बढ्दो बजारलाई ध्यानमा राखेर उद्योग स्थापना गरेको सुनाए।

भिडोलले बेलायतसँगै बेल्जियम, क्यानडा, मेक्सिको, फ्रान्स, टर्कीलगायतका देशमा उत्पादन गरिरहेको छ। भिडोलले २१ कम्पनीको जेन्युन आयल उत्पादन गर्छ। कम्पनीले अटोमोबाइल्समा हिरो, होन्डा, रोयल इन्फिल्ड, यामाहा, ईसुजुलगायतका ब्रान्डसँग सहकार्य गरिरहेको छ। 

डेढ वर्ष अघिसम्म विशाल ग्रुपले भिडोल भारतबाट आयात गरी बिक्री गरिरहेको थियो। भिडोल इन्टरनेसनलले नेपालमै उत्पादन गर्न साझेदारी खोज्दा दीप इन्टरनेसनलअन्तर्गतको युनाइटेड लुब्रिकेन्ट्ससँग सहकार्य गरेको थियो। भिडोल उत्पादनका लागि जनवरी २०२४ मा हस्ताक्षर गरेको कम्पनीले अहिले आफ्नो उत्पादन बजारमा पठाइसकेको छ। 

साढे २ बिघा जमिन, ५० करोड लगानी
धनुषाको लालभित्तीमा रहेको उद्योग १ लाख ७५ हजार वर्गफिटमा फैलिएको छ। ३८ हजार वर्गफिटमा उत्पादन तथा ३८ हजार वर्गफिट वेयरहाउस निर्माण गरेको छ। ल्युब आयल उत्पादन गर्न आवश्यक कच्चा पदार्थ भण्डारणका लागि ९०० केएलको एक, ४०० केएलको २ वटा र १०० केएलको ३ वटा ट्यांकी निर्माण गरिएको छ। 

बेस आयल ब्लेन्डिङ गर्न (कच्चा पदार्थलाई उत्पादन प्रक्रियामा लैजान) ल्युब आयलका लागि ५ केएलका ३ वटा र ग्रिज उत्पादनका लागि ४ केएलको एक र ३ केएलको २ युनिट जडान गरिएको छ। 

युनाइटेड लुब्रिकेन्ट्सले एक सिफ्टमा १५ हजार लिटर ल्युब आयल र १० हजार किलो ग्रिज उत्पादन गर्न सक्छ। कम्पनीले एक महिनामा १० लाख लिटर उत्पादन गर्न सक्छ।

धनुषाको प्लान्टबाट कम्पनीले भिडोलसँगै ३ वटा ब्रान्ड उत्पादन गरेको छ। युनाइटेडले भिडोल र नेपाल गोल्ड उत्पादन हुनथालेको छ।

भिडोल विदेशी ब्रान्ड हो भने नेपाल गोल्ड नेपाली ब्रान्ड छ। डिभ्योल ब्रान्ड पनि युनाइटेड लुब्रिकेन्ट्सबाट हुन्छ। जुन अन्य कम्पनीले बिक्री वितरण गर्छ।

युनाइटेड लुब्रिकेन्ट्सका महाप्रबन्धक दिनेश खनालले नेपालको बजारमा खपतअनुसार ५० प्रतिशत उत्पादन क्षमता रहेको बताए। उनले २०७३/०७४ मा २१ हजार ७६६ रहेको ३१ हजार ९ किलोलिटर खपत हुनेमा युनाइटेडले मात्रै आधा हिस्सा उत्पादन गर्नसक्ने बताए।  

युनाइटेड लुब्रिकेन्टसका प्रबन्धनिर्देशक दीपेन्द्र मिश्राले ५० करोडको लगानीमा लुब्रिकेन्ट्स उद्योग स्थापना भएको बताए।

‘साइकलदेखि ट्रकसम्म आवश्यक पर्ने लुब्रिकेन्ट्स उत्पादन हुनथालेको छ’, उनले भने, ‘भिडोल इन्टरनेसनल युकेसँग प्रविधि हस्तान्तरण सम्झौताअनुसार रोयल्टी बुझाउनुपर्छ।’

कच्चा पदार्थ र उद्योगका उपकरण भारतबाटै आयात गरिएको उनले बताए। 

बजारमा ३२ प्रतिशत नेपाली लुब्रिकेन्ट्स खपत
हाल नेपालमा ३२ प्रतिशत बेस आयल रहेको छ। अर्थात् ६८ प्रतिशत तयारी ल्युब आयल आयात हुन्छ भने एक तिहाइ नेपालमै उत्पादन सुरु भएको छ।  

गत आर्थिक वर्षको तथ्यांक हेर्दा नेपालमा विदेशी ब्रान्ड सर्भो र गल्फ ब्रान्ड बजारमा बढी बिक्री हुन्छ। सीजी होल्डिङ र सरकारी स्वामित्वको गल्फ नेपालमै उत्पादन भइरहेको छ भने गोल्छा ग्रुपले सर्भो प्लान्ट स्थापना गरिरहेको छ।  

‘भिडोल नेपालमै उत्पादन सुरु भएसँगै ३० देखि ३५ प्रतिशतसम्म भ्यालुएड हुन्छ’, प्रबन्धनिर्देशक मिश्रा भन्छन्, ‘बजारमा १० देखि १५ प्रतिशत कम मूल्यमा उपभोक्ताले पाउन सक्छन्।’

भिडोल इन्टरनेसनलका निर्देशक बासुले नेपालमा पछिल्लो डेढ वर्ष संक्रमण कालको अवस्था रहेको बताउँदै अब बजारमा आक्रामक रुपमा प्रस्तुत हुने बताए। 

नेपाली बजारमा ७० प्रतिशत विद्युतीय प्यासेन्जर भेहिकल प्रयोग हुन थालेका छन्। जसले अहिलेको लुब्रिकेन्ट्स बजार घट्ने देखिन्छ। तर कम्पनीहरुले विद्युतीय गाडीमा प्रयोग हुने आयल उत्पादनमा अध्ययन गरिरहेका छन्। 

‘भिडोल इन्टरनेसनलले इन्जिन गाडीको सट्टा विद्युतीय गाडीमा प्रयोग हुने आयलमा अध्ययन गरिरहेको छ’, मिश्रा भन्छन्, ‘भिडोलले एउटा स्ट्यान्डर्ड बनाएसँगै हामी पनि उत्पादन सुरु गर्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .