ad ad

कारोबार


२ वाणिज्य बैंकको नाफा शतप्रतिशत माथि, खुम्चिए गत वर्ष धेरै कमाउनेहरू

२ वाणिज्य बैंकको नाफा शतप्रतिशत माथि, खुम्चिए गत वर्ष धेरै कमाउनेहरू

सम्झना घिमिरे
असोज २, २०८१ बुधबार ९:५०, काठमाडौँ

चालू आर्थिक वर्षको साउन महिनामा अपेक्षाअनुसारको कर्जा प्रवाह हुन नसक्दा केही ठूला बैंकहरुकै नाफा खुम्चिन पुगेको छ।

ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआईसी एसिया, हिमालयनलगायत ७ बैंकको नाफा यो वर्षको पहिलो महिनामा घटेको हो।

चालू आवमा कर्जा प्रवाह बढाउन नसक्नुको असर यी बैंकको नाफामा देखिएको छ।

यीबाहेक कृषि विकास, नेपाल एसबीआई, नबिल, स्ट्यान्डर्ड चार्टर्डलगायतका १३ वाणिज्य बैंकहरुले भने यो वर्ष नाफामा उल्लेख्य सुधार गरेका छन्। कृषि विकास बैंक र नेपाल एसबीआई बैंकले त नाफामा १ सय प्रतिशतमाथि वृद्धि गरेका छन्।

यो अवधिमा खासगरी साना पुँजी भएका बैंकहरुले नाफामा सुधार गरेका छन् भने अघिल्लो वर्ष सबैभन्दा धेरै नाफा आर्जन गरेकाको नाफा उल्लेख्य घटेको छ।

उदाहरणका लागि, गत वर्ष ९९ करोड नाफासहित ग्लोबल आईएमई पहिलो नम्बरमा आएको थियो। तर यो वर्ष बैंकले ८९ करोड रुपैयाँ मात्रै नाफा कमाउनसकेको छ। गत वर्ष साउनको तुलनामा यो वर्ष सोही अवधिमा बैंकको नाफा १०.७ प्रतिशतले घटेको छ।

त्यस्तै गत वर्ष ७४ करोड रुपैयाँसहित सर्वाधिक नाफा कमाउनेमा दोस्रो नम्बरमा आएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो वर्ष ५७ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ। गत वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो महिनामा यो बैंकको नाफा २२.७६ प्रतिशतले घटेको छ। 

त्यसो त गत साउनमा ६३ करोड रुपैयाँ नाफा कमाएको हिमालयन बैंकको पनि यो वर्षको साउन महिनामा ६.८३ प्रतिशतले घटेर नाफा ५८ करोड रुपैयाँमा संकुचित भएको छ।

योबाहेक गत साउनको तुलनामा यो साउनमा नेपाल बैंक ३७.८५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक १९.३१ प्रतिशत, एनआईसी एसिया बैंक ३०.७५ प्रतिशत र कुमारी बैंकको नाफा १२.७४ प्रतिशतले घटेको छ।

कर्जा बढेन, दर घट्दा आयमा असर
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनाल ठूला भनिएका बैंककै नाफा घट्नुमा कर्जा प्रवाह नबढ्नु प्रमुख कारण भएको मान्छन्। जसको असर बैंकहरुको नाफामा देखिएको हो।

उनले नेपालखबरसँग भने, ‘कर्जाको माग गत वर्षको साउनभन्दा यो वर्षको साउनमा धेरैले घटेको छ, निक्षेप बढेअनुसार कर्जा प्रवाह नहुँदा पनि बैंकहरुको लागत बढेर नाफामा असर गरेको हो।’  

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले ५७ खर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ४६ खर्ब रुपैयाँमात्रै कर्जा परिचालन गरेका छन्। यसले कर्जाको माग बढ्न नसक्दा बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.७८ प्रतिशतमा ओर्लिएको छ। 

कर्जाको माग ठप्प हुँदा बैंकहरुसँग कर्जायोग्य लगानी फालाफाल अवस्थामा रहनु, अन्तरबैंक ब्याजदर घट्नु, ट्रेजरी बिल, रिपोलगायतका दर घट्नुले पनि बैंकहरुको आयमा असर पुर्‍याएको सीईओ खनालको भनाइ छ।  

अहिले राष्ट्र बैंकले बैंकहरुबाट ३ प्रतिशत ब्याजमै बचत संकलन गरिरहेको अवस्था छ। बैंकहरुले निक्षेपबाट पाउने आम्दानीको तुलनामा दिनुपर्ने दायित्व बढी हुँदा त्यसको असर समेत केही ठूला बैंकहरुको नाफामा देखिएको हो।

ठूलाको खुम्चियो, सानाको उल्लेख्य सुधार
त्यसो त साउन महिनामा नाफामा सुधार गर्ने बैंकहरु १३ वटा छन्। यो पटक ठूला बैंकहरुको नाफामा संकुचन देखिँदा साना बैंकहरुले भने उल्लेख्य नाफा गरेका छन्। 

बैंकहरुको साउन महिनाको वित्तीय विवरणअनुसार कृषि विकास बैंक र नेपाल एसबीआई बैंकले १ सय प्रतिशतमाथिले नाफा बढाएका छन्।

त्यस्तै नबिल बैंक, प्रभु बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, एनएमबी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको पनि नाफामा उल्लेख्य सुधार देखिएको छ। 

गत वर्षको साउन महिनाको तुलनामा यो वर्षको साउन महिनामा कृषि विकास बैंकले ११४.७३ प्रतिशत र नेपाल एसबीआई बैंकले १०७.६१ प्रतिशतले नाफा बढाउन सफल देखिएका छन्।

कुनको कति बढ्यो?
गत वर्षको साउनमा कृषि विकास बैंकको नाफा ३३ करोड रुपैयाँ रहेकोमा यो वर्षको सोही अवधिमा यस्तो नाफा बढेर ७१ करोड रुपैयाँ पुगेको छ। 

यस्तै नेपाल एसबीआईको पनि गत वर्षको साउनमा १६ करोड रुपैयाँ रहेको नाफा यो वर्षको साउनमा बढेर ३३ करोड रुपैयाँ पुगेको छ। 

यता प्रभु बैंक र सानिमा बैंकले पनि एक महिनामै नाफामा छलाङ मारेका छन्। गत वर्षको साउनमा २९ करोड रुपैयाँ नाफा कमाएको प्रभु बैंकले यो वर्षको साउनमा ५३ करोड रुपैयाँ नाफा कमाएको छ। अर्थात् गत वर्षको साउनको तुलनामा यो वर्षको साउनमा बैंकको नाफा ७८.४२ प्रतिशतले बढेको छ। 

सानिमा बैंकले पनि यो वर्ष ५१.८७ प्रतिशतले नाफा बढाउन सफल बनेको छ। गत वर्षको साउन महिनामा बैंकले २५ करोड नाफा कमाएकोमा यो वर्ष ३८ करोड रुपैयाँ पुगेको छ। 

यस्तै गत वर्षको साउन महिनामा ७५ करोड रुपैयाँ नाफा कमाएको नबिल बैंकले यो वर्षको साउनमा ६ प्रतिशतको वृद्धिसहित ८० करोड नाफा कमाउँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकले २०.८२ प्रतिशतको वृद्धिसहित सोही अवधिमा ३१ करोड रुपैयाँ नाफा कमाएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत साउनमा २५ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो। 

यस्तै एभरेष्ट बैंकले पनि साउन महिनामा १५ प्रतिशतले नाफा बढाएको छ। गत वर्षको साउनमा यो बैंकले ३६ करोड रुपैयाँ नाफा कमाएकोमा यो वर्षको साउनमा ४२ करोड आर्जन गरेको छ। 

योबाहेक गत साउनको तुलनामा माछापुच्छ्रे बैंकले नाफामा ७.३३ प्रतिशतको वृद्धि गर्दै २० करोड रुपैयाँ नाफा कमाउँदा लक्ष्मी सनराइज बैंकले ४.२९ प्रतिशतको वृद्धिसहित ४३ करोड नाफा कमाएको छ। 

यस्तै सिद्धार्थ बैंकले पनि गत वर्ष साउनको तुलनामा यो वर्ष साउनमा १६.४४ प्रतिशतको वृद्धिसहित ३४ करोड रुपैयाँ नाफा कमाउँदा सिटिजन्स बैंकले ३८.२२ प्रतिशतको वृद्धिसहित ३४ करोड रुपैयाँ नाफा कमाएको छ। 

यता प्राइम बैंकले १९ प्रतिशतले बढाएर नाफा ५० करोड रुपैयाँमा पुर्‍याउँदा एनएमबी बैंकले ११.५ प्रतिशतको वृद्धिसहित ४२ करोड रुपैयाँ नाफा कमाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .