नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानलेसँग अलग–अलग भेटी निर्माण उद्योगका समसामयिक समस्याहरूबारे जानकारी गराएको छ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगका भेटमा उपप्रधानमन्त्रीद्वयले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
महासंघ प्रतिनिधिमण्डलसँगको छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधार निर्माण नै समृद्ध मुलुकको आयाम भएको बताए।
निर्माण उद्योग सक्षम तथा सबल हुनुपर्ने भन्दै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूसँग यस उद्योगमा देखिएका समस्याबारे छलफल गर्न सरकार तयार रहेको बताए।
तोकिएको लागत तथा समयमा नै गुणस्तरीय कार्य पूरा गर्न उनले निर्माण व्यवसायीहरूलाई सुझाव दिए।
त्यस्तै गृहमन्त्री रवि लामिछानेले निर्माण उद्योगको समस्याबारे आफू जानकार रहेको बताउँदै निर्माण व्यवसायीहरूका समस्याबारे अध्ययन गरी समाधान खोजिने जानकारी दिए।
लामिछानेले व्यवसायीहरूलाई कसेर होइन उनीहरूसँग सहकार्य गरी अघि बढ्ने सोचमा सरकार रहेको बताए।
महासंघका अध्यक्ष रवि सिंहले आर्थिक अभावका कारण निर्माण उद्योगले चरम संकट झेलिरहेको बताए।
सार्वजनिक खरिदका कानुनअनुसार निर्माण व्यवसायीहरूले पाउनुपर्ने २० प्रतिशत मोबिलाइजेसन रकम उपलब्ध गराउन अध्यक्ष सिंहले आग्रह गरे।
निर्माणसम्पन्न भएका परियोजनाहरूको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेको उनीहरुको गुनासो छ।
Shares
प्रतिक्रिया