ad ad

कारोबार


सांसद चौधरीको पहलमा सुस्तामा नेपालकै लामो झोलुंगे पुल, आफ्नै वडा भारतीय बाटोबाट जाने बाध्यता हट्यो

सांसद चौधरीको पहलमा सुस्तामा नेपालकै लामो झोलुंगे पुल, आफ्नै वडा भारतीय बाटोबाट जाने बाध्यता हट्यो

नेपालखबर
असोज ९, २०८१ बुधबार १७:४२, बर्दघाट

निर्माण सम्झौता भएको झण्डै दश वर्षपछि सुस्तामा झोलुंगे पुल बनेको छ। 

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ मा नेपालकै लामो पुल बनेको हो। 

असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलले पुलको उद्घाटन गर्दै छन्। 

पुल निर्माणसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको हो। नारायणी नदीमा एक हजार पाँच सय ५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दा खुुसी छन्। 

‘यो पुल हाम्रा लागि लाइफलाइन हो, सुस्ताका रविन्द्र जयसवालले भने, ’निर्माण ढिलो भएपनि विगतमा आफ्नै देशको भूमिभित्र जान पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो। अब बाध्यताबाट हामी मुक्त भएका छौँ।’ 

२०७० सालमा सम्झौता भएको यो झोलुंगे पुल तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने थियो। साढे २३ करोडमा त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको यो पुल असारमा निर्माण सम्पन्न भएको हो। 

स्थानीय जयसवालका अनुसार २०७४ सालको दोस्रो संविधान सभा निर्वाचनबाट यही क्षेत्रबाट निर्वाचित सांसद देवकरण कलवारले पुलको काम अगाडि बढाउन निर्माण कम्पनीलाई दबाब दिनुका साथै सरकारसँग निरन्तर पहल गरेका थिए। 

पछिल्लो दुई वर्षयता पुल निर्माणको कामले गति लिएको हो। यस क्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरीले पुल समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारसँग निरन्तर समन्वय गर्दै आएका थिए। 

उनले सहरी विकास मन्त्रालयलाई आवश्यक बजेट निकासाका लागि पहल गर्नुका साथै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न ताकेता गरेका थिए। 

सांसद चौधरीले सुस्ता पुलले नेपाली भूमि जोड्ने काम गर्नुका यहाँका नागरिकको दैनिकीमा पनि ठूलो प्रभाव पार्ने बताए। 

‘आफ्नै भूमिभित्र जान पनि अर्काे देशको बाटो भएर जानुपर्ने बाध्यताको अब अन्त्य भएको छ। यो नवलपरासी सुस्ताको अत्यन्तै पीडादायी अवस्था थियो’, उनले भने, ‘लामो समयसम्म पुल निर्माण कार्य सम्पन्न भएन। ढिलै भएपनि पुल निर्माण सम्पन्न भएको छ। अब यसले यो क्षेत्रका नागरिकको जीवनमा त खुसी ल्याउँछ नै, यो क्षेत्रकै आकर्षक पर्यटकीय गन्तब्य बन्नेछ।’ 

उनले यो पुलले सुस्ताको भूगोल मात्रै नजाडी यहाँका नागरिकको भावनालाई पनि जोडेको बताए। 

नारायणी नदीमा पुल बनेपछि सुस्तापारि पहिलो पटक बिजुली पनि पुगेको छ। करिब ३५० घरधूरी रहेको सुस्तापारि पुलकै बाटो भएर बिजुली लगिएको हो। झोलुंगे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँ–बायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्तामा विद्युत् पुर्‍याइएको हो।

सांसद चौधरीले निर्वाचित भएलगत्तै विद्युत प्राधिकरणका प्रबन्धनिर्देशक कुलमान घिसिङसँग सुस्ताम विद्यतुीकरणका लागि पहल गरेका थिए। यसैबीच सांसद चौधरीले सुस्तापारिका बासिन्दालाई सहुलियतमा विजुली उपलब्ध गराउन सरकारसँग पहल सुरु गरेका छन्। उनले उर्जा मन्त्रालय र विद्युत प्राधिकरणलाई लिखित पत्र पठाउँदै सहुलियतको विजुलीका लागि आग्रह गरेका हुन्।

‘हाम्रो पहिलो प्राथमिकतामा सुस्तालाई पुलले जोड्ने र त्यही पुलबाट बिजुली लैजाने प्रवन्ध गर्ने थियो। यो दुबै काम एकैपटक सम्पन्न भएको छ। अब सरकारले यहाँका नागरिकलाई सहुलियतको विजुली उपलब्ध गराउनुपर्छ, त्यसका लागि हाम्रोतर्फबाट सम्पूर्ण रुपमा पहल भइरहेको छ। यसमा पनि सकारात्मक परिणाम आउने विश्वास छ’, उनले भने। 

सुस्ता पुलले यहाँको पर्यटन विकासमा ठूलो योगदान पुग्ने स्थानीयको विश्वास छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .