कारोबार


समुद्रबाट अब सिधै चोभार बन्दरगाह आउनेछन् कन्टेनर बोकेका ट्रक

समुद्रबाट अब सिधै चोभार बन्दरगाह आउनेछन् कन्टेनर बोकेका ट्रक

प्रधानमन्त्री शेरबहादुर देउवाले यही ट्रकलाई चोभार सुख्खा बन्दरगाहमा प्रवेश गराएर उद्घाटन गरेका हुन्। तस्बिर: विक्रम राई


वसन्त अर्याल
चैत २२, २०७८ मंगलबार १७:५०, काठमाडौँ

मालवाहक सवारीसाधन अब समुद्रबाट सिधै चोभार सुख्खा बन्दरगाह आउने भएका छन्। 

भारत तथा तेस्रो देशबाट कलकत्ता र विशाखापट्टनमबाट आउने मालवाहक कन्टेनरहरु अब सिधै चोभार आउन पाउने भएका हुन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाह उद्घाटन गरेसँगै नाकामा रोकिने गाडी सिधै काठमाडौं आउन पाउनेछन्। चोभार सुख्खा बन्दरगाहको गत असारमै भौतिक संरचना सकिए पनि प्राविधिक कारण सञ्चालनमा आउनसकेको थिएन।

हाल कर्मचारी, भन्सार, बैंकलगायतका कार्यालयको व्यवस्थापनसँगै सुख्खा बन्दरगाह सञ्चालनमा आएको हो। वीरगञ्जबाट डिजिटल लक लगाएर आएको मालवाहक कन्टेनरलाई प्रधानमन्त्रीले रिबन काटी बन्दरगाहमा प्रवेश गराएका थिए। 

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले ५ सय ट्रक र ५ सय कन्टेनरको लागि पूर्वाधार निर्माण भएको जानकारी दिए।

योसँगै अब काठमाडौंको लागि आउने वस्तु चोभारबाटै भन्सार जाँचपास गर्न सकिनेछ। नेपाल आयात हुने वस्तुमा आधाभन्दा बढी काठमाडौं उपत्यकामा खपत हुँदा चोभार सुख्खा बन्दरगाहको उपयोगिता बढ्ने  सरकारको विश्वास छ। 

गजुरेलले विश्व बैंकको सहयोगमा १ अर्ब ५४ करोड लागतमा बन्दरगाह तयार भएको जानकारी दिए। उनले बढ्दै गएको वैदेशिक व्यापारमा सहयोग पुग्ने बताए। बन्दरगाहमा भन्सार, क्वारेन्टिनको लागि ३ वटा भवन निर्माण गरिएको छ। सामग्री भित्र्याउन र पठाउन तीनवटा गोदाम तयार भएका छन्। बन्दरगाह प्रवेशको लागि तीनवटा गेट निर्माण गरिएको छ। 

बन्दरगाहलाई मुख्यतः २ भागमा विभाजन गरिएको छ। जसमा विदेशबाट आयातनिर्यात र आन्तरिकको लागि फरक गेट प्रयोग गर्नुपर्ने हुन्छ। बोर्डर क्षेत्रमा पास गर्नुपर्ने गाडी सिल गरेर सिधै काठमाडौं आउनेछन्। चुहावट नियन्त्रणका लागि अहिले भीसीटीएस प्रणालीको उपयोग गर्न थालिएको छ। 

चोभार बन्दरगाहमा नेपाल बैंक लिमिटेड र भन्सार कार्यालय स्थापना भइसकेका छन्। २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दै १८ महिनामा यसको निर्माण सक्ने लक्ष्य राखिएको थियो। 

सुरुमा स्थानीयको अवरोधले ६ महिना काम सुरु हुन पाएन। त्यसपछि कोभिड महामारीको लकडाउनले ६ महिना निर्माणमा ढिलाइ भएको थियो।

‘समुद्रका कन्टेनर सिधै चोभारमा’
प्रधानमन्त्री शेर बहादुर देउवाले भूपरिवेष्ठित नेपालको वैदेशिक व्यापार गर्न सहयोग पुर्याउने बताए। निर्यातलाई सहज भई व्यापारघाटा कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो।  

‘सुख्खा बन्दरगाह सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकामा हुने आयातनिर्यातलाई थप व्यवस्थित गर्न सहयोग पुग्नेछ’, उनले भने, ‘काठमाडौंलाई व्यावसायिक हब बनाउनुपर्छ।’

देउवाले सामग्री आयात तथा निर्यातमा प्रशासनिक झमेला कायम रहेको बताउँदै चोभार बन्दरगाहले सहज बनाउने बताए। 

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नाकाभन्दा भित्रको एक मात्रै सुख्खा  बन्दरगाह भएको बताए।

‘कलकत्ता र विशाखापट्टनमको पोर्टका वस्तु सिधै चोभारमा आउन सक्छन्’, शर्माले भने, ‘समुद्रबाट आएका कन्टेनर सिधै काठमाडौंमा आउँछन्।’

उनले चोभार सुख्खा बन्दरगाह आयातको केन्द्र नभई निर्यात गर्न सक्नुपर्ने बताए। 

वाणिज्य सचिव डा.गणेश प्रसाद पाण्डेले चोभार बन्दरगाहामा पूर्वाधारमात्रै निर्माण भएकाले नियमित सञ्चालनको लागि निजी क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए।

चोभार सुख्खा बन्दरगाह प्रयोगमा ल्याउन अन्तर्राष्ट्रिय व्यापारको लागि प्रतीतपत्र खोल्ने बाटो पनि खुल्ला गरिएको छ। 

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्थाबमोजिम चोभारको सुख्खा बन्दरगाह भन्सार नाका हुने गरी जारी गर्नसक्ने बताएको छ।

द्रुतमार्ग र रेलमार्गले छिट्टै जोड्नुपर्छः निजी क्षेत्र
निजी क्षेत्रका व्यवसायीहरुले काठमाडौंमा बनेको बन्दरगाहले नाका धाउनुपर्ने बाध्यता हटाउनुपर्ने बताएका छन्। उनीहरुले व्यवसायीलाई आयात तथा निर्यातको लागि सहज बनाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन्। उनीहरुले चोभारको जग्गामा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र पनि बनाउन माग गरेका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बन्दरगाह सञ्चालन हुनु काठमाडौं उपत्यकाको लागि कोशेढुंगा भएको बताए। 

उनले चोभारको बन्दरगाह निर्बाधरुपमा चलाउनको लागि काठमाडौं तराई द्रुतमार्ग र रेलमार्ग छिटो बनाउनुपर्ने बताए। 

‘बन्दरगाह बने पनि यातायात सहजको लागि फास्ट ट्रयाक आवश्यक छ’, गोल्छाले भने, ‘चोभारको महत्व बढाउन कनेक्टिभिटीले जोड्नुपर्छ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले काठमाडौंमा आयात र निर्यात गर्ने दुवै व्यवसायीलाई सहज हुने विश्वास व्यक्त गरे। 

‘व्यवसायीलाई आयात र निर्यातमा लागत घट्नुपर्छ’, अग्रवालले भने, ‘लागत घटाउन नसके भौतिक पूर्वाधार थपेको अर्थ हुँदैन।’

अग्रवालले कलकत्ता र विशाखापट्टनमबाट सिधै चोभारमा आउने र  निर्यातको वस्तु त्यहाँ पुग्ने वातावरण मिलाउनुपर्ने बताए। 

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बागमती प्रदेशमा आयात र निर्यातको लागि यसले सहयोग पुग्ने बताए। उनले उच्चस्तरीय ल्याब, क्वारेन्टाइनको राम्रो व्यवस्था गर्नुपर्ने बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .