कारोबार


हप्तामा २ दिन विदाः आन्तरिक पर्यटक बढ्ने आशामा पर्यटन क्षेत्र

हप्तामा २ दिन विदाः आन्तरिक पर्यटक बढ्ने आशामा पर्यटन क्षेत्र

वसन्त अर्याल
बैशाख १६, २०७९ शुक्रबार ११:५९, काठमाडौँ

सरकारले आगामी महिनादेखि २ दिन सार्वजनिक विदा दिने भएसँगै पर्यटन क्षेत्र उत्साहित भएको छ। 

सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन विदा दिने निर्णय गरेको हो।   

कोभिडपछि विस्तारै सुधार हुँदै गएको अवस्थामा २ दिनको विदाले ठूलो सहयोग गर्ने व्यवसायीको विश्वास छ। 

‘सरकारले गरेको निर्णय राम्रो छ’, होटल एसोसिएसन नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले भने, ‘त्यसलाई व्यवस्थापन पनि गर्नुपर्छ। सरकारी कर्मचारी बाहिर घुम्न निस्किने वातावरण बनाउनुपर्छ।’

उनले पर्यटन क्षेत्र चलायमान हुनेबित्तिकै करिब १ दर्जन क्षेत्रलाई प्रत्यक्ष रुपमै प्रभाव पार्ने बताए। 

दुई दिन विदाले कृषि, खाद्यान्न, होटल तथा रेष्टुरेन्ट, वायुसेवा कम्पनी, पेयपदार्थ, स्थानीय उत्पादनका वस्तुको खपत बढाउने व्यवसायीहरु बताउँछन्। 

यसले समग्र नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याउने उनीहरुको भनाइ छ। 

‘सरकारले निर्णय गरेको छ। त्यसलाई राम्ररी व्यवस्थापन गर्न सके नेपालको पर्यटन क्षेत्र ह्वात्तै बढ्छ’, शाहले थपे, ‘व्यवस्थापन गर्न नसक्दा झन् उत्पादकत्व कम भएर अर्थतन्त्र नकरात्मक प्रभाव पार्छ।’

पर्यटन व्यवसायीले आफूहरुसँग २ दिन विदा हुँदा घुम्न जानको लागि पूर्ण प्याकेज रहेको बताएका छन्। २ वर्ष थला परेको पर्यटन उद्योग व्यवसायीको जोडबलमा फस्टाउँदै गएकोले पछिल्लो निर्णयले यस क्षेत्रमा सकारात्मक प्रभाव पर्नेमा उनीहरु ढुक्क देखिएका छन्। 

अहिले शुक्रबार र शनिबारको दिन काठमाडौं आसपास चन्द्रागिरि, बूढानीलकण्ठ, धुलिखेल, नगरकोटमा होटल तथा रिसोर्ट भरिनथालेको व्यवसायी बताउँछन्। काठमाडौंबाहिर पोखरा र चितवनका रिसोर्टहरु समेत भरिन सुरु गरेको व्यवसायी बताउँछन्। 

‘मदिरा बन्दले प्रभाव पर्न सक्छ’
यसैबीच, सरकारले डलर कम भएको भन्दै विदेशी मदिरा बन्द गर्दा पर्यटन आवागमनमा नकारात्मक प्रभाव पार्नसक्ने व्यवसायीको ठहर छ। 

‘भारतबाट आउने पर्यटक नेपालमा रिल्याक्स (आनन्द लिन) गर्न आउँछन्’, उनले भने, ‘रेड लेबल र ब्ल्याक लेबल मन पराउनेलाई खान पाउँदैनौँभन्दा नखाउन सक्छन्।’

उनले विदेशी पर्यटक ल्याएर डलर भित्र्याउनुपर्ने बताउँदै वस्तुको आयात रोक्नु समाधान नभएको बताए। सबै देशले पर्यटक ल्याउन चाहेको बताउँदै जुन देशमा बढी सुविधा पाइन्छ त्यहीँ जाने व्यवसायीको भनाइ छ। 

‘घुम्न जाने भनेको खर्च गर्ने हिसाबले हिँड्छ। तर उनीहरुले चाहेको कुरा नेपालमा खरिद गर्न पाइँदैन भने आउँदैनन्’, शाहले भने, ‘विदेशी मुद्रा भित्र्याउन सहयोग गर्ने वस्तुमा आयात प्रतिबन्ध लगाएर हुँदैन।’

सरकारले चालू आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीलाई १० दिनको काज विदा दिने नीति ल्याएको थियो। त्यसले सरकारी कर्मचारीलाई बाहिर जान प्रोत्साहन गर्छ। 

अर्थविद्को विरोध
पर्यटन व्यवसायीले २ दिनको विदाले राज्यको अर्थतन्त्रलाई धेरै फाइदा गर्ने बताउँदा केही अर्थविद्ले भने विरोध जनाएका छन्। 

पूर्वअर्थसचिव शान्तराज सुवेदीले विश्वमै सार्वजनिक विदा धेरै भएको मुलुकमा हप्ताको २ दिन विदाबाट सरकारी तथा गैरसकारी क्षेत्रबाट हुने सेवा प्रवाहमा असर पर्ने बताए। 

उनले विगतको परीक्षणबाट असफल भएको नीति इन्धन बचाउने नाममा लागू गर्न नहुने बताए। 

‘दुई दिन विदाले न सरकारको इन्धन र अन्य सञ्चालन खर्च घट्छ न त कर्मचारीको कार्यसम्पादनमा चमक आई सेवाग्राहीले शीघ्र र गुणस्तरीय सेवा पाउँछन्’, सुवेदीले भने, ‘विकट भौगोलिक क्षेत्र र सडक÷यातायात सञ्जाल नजोडिएका स्थानबाट सेवा लिन आउनेलाई थप सास्ती हुन्छ।’

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले सहसचिव कमल प्रसाद भट्टराईको (हाल भन्सार विभागका महानिर्देशक) संयोजकत्वमा समिति बनाएका थिए। उक्त समितिले २ दिन विदा दिनु नेपालको समग्र अर्थतन्त्रको लागि फाइदा हुने निष्कर्ष निकालेको थियो। 

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले आफूहरुले नै २ वर्षदेखि बोकेर हिँडेको एजेन्डा सरकारले लागू गर्ने निर्णय गरेको बताए। 

‘हामीले एउटा अध्ययन गरेका थियौँ। धेरै देशमा २ दिन विदा दिने चलन छ’, रेग्मीले भने, ‘अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालयमा प्रस्ताव गर्दा पनि लागू हुनसकेको थिएन।’

रेग्मीले सरकारले खर्च कटौतीको लागि २ दिनको सार्वजनिक विदा दिए पनि पर्यटन प्रवर्द्धनको लागि ठूलो सहयोग पुग्ने बताए। 

‘२ दिन विदाले आन्तरिक पर्यटन प्रवर्द्धनमा ठूलो भरथेग गर्छ’, रेग्मीले भने, ‘अहिले जुनसुकै कारणले विदा दिएको भए पनि दीर्घकालीन रुपमै लागू गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .