कारोबार


अन्तर्राष्ट्रिय उडानसँगै भैरहवामा खुल्दै छन् ठूला होटल, हालसम्म ३० अर्ब लगानी

अन्तर्राष्ट्रिय उडानसँगै भैरहवामा खुल्दै छन् ठूला होटल, हालसम्म ३० अर्ब लगानी

रुपन्देहीकै पहिलो पाँचतारे होटल टाइगर प्यालेस


वसन्त अर्याल
जेठ ९, २०७९ सोमबार ११:३८, काठमाडौँ

लुम्बिनी र भैरहवालक्षित गरी ठूला होटलमा ३० अर्ब बढी लगानी भएको छ। 

लुम्बिनीका पर्यटक र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ठूला होटल खुल्नथालेका हुन्। 

लुम्बिनी आसपासमा दर्जन बढी तारे होटलमा व्यवसायीले लगानी गरेका छन्। केही सञ्चालनमा आइसकेका छन् भने केही निर्माणाधीन छन्।  गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउँदा होटल व्यवसायी उत्साहित छन्। 

सिद्धार्थनगर होटल संघका अध्यक्ष चन्द्रप्रसाद (सीपी) श्रेष्ठ लुम्बिनी र विमानस्थललाई ध्यानमा राखेर करिब ३० अर्ब बढी लगानी होटल क्षेत्रमा भएको बताउँछन्। 

‘गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउँदा लुम्बिनीबासी अत्यन्तै खुसी छौँ’, श्रेष्ठले नेपालखबरसँग भने, ‘यसले अब पर्यटन क्षेत्र फस्टाउँछ। अर्बौँ लगानी भएका होटल फस्टाउँछन्।’

भैरहवा आसपासका होटल व्यवसाय लुम्बिनीमा आउने पर्यटकलक्षित गरी खुलेका थिए। अहिले गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने भएसँगै थप लगानी भइरहेका छन्। एसियाली देशका बौद्धमार्गीहरु नेपाल आउँदा सरकारलाई राजस्व पनि बढ्ने र होटल पनि फस्टाउने बताउँछन् होटल व्यवसायी। 

लुम्बिनीमा आउने पर्यटकलाई टार्गेट गरेर उक्त क्षेत्रमा करिब २० अर्ब रुपैयाँ होटल क्षेत्रमा मात्रै लगानी भएको छ। 

‘अहिले ८–१० वटा तारे होटल बन्दै छन्’, श्रेष्ठले भने, ‘ती होटलमा मात्रै १०–१२ अर्ब रुपैयाँको लगानी हुन्छ।’
   
सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य तथा एभरेष्ट फिस भिलेज रिसोर्टका सञ्चालक तोलाकान्त न्यौपाने पनि भैरहवा विमानस्थलले आसपासका क्षेत्रमा होटलमा सानादेखि ठूला लगानी बढ्दै गएको बताउँछन्। 

‘विमानस्थल सञ्चालनमा आएसँगै यो क्षेत्रका सबै व्यवसायी खुसी छौँ’, न्यौपानेले भने, ‘नयाँ होटल तथा रिसोर्टमा लगानी बढेको छ। अहिले भएकामा पनि लगानी विस्तार भइरहेको छ।’

कुनै पनि सहरमा अन्तर्राष्ट्रिय उडान हुँदा पहिला त्यो क्षेत्रमा पर्यटनको विकास हुन्छ। जजिरा एयरवेजले भैरहवामा उडान गरे पनि अरु एयरवेजले सिधा भैरहवा उडान गर्छन् कि गर्दैनन् र सरकारले ल्याउने नीतिमा होटल व्यवसाय पनि जोडिने उनीहरुको भनाइ छ।  

थला परेको व्यवसाय उठ्ने आशा 
जे होस्, विमानस्थल सञ्चालनमा आउँदा कोभिड महामारीले थला परेका होटल व्यवसायीमा भने राम्रै आशा पलाएको छ। हुन पनि अन्तर्राष्ट्रिय विमानस्थलबाट जति धेरै देशमा हवाइ सम्पर्क हुन्छ त्यति होटल व्यवसाय बढ्दै जान्छ। 

ड्रिमल्यान्ड इन्टरनेशनल होटलका कार्यकारी अध्यक्ष गोपाल राना विमानस्थल सञ्चालनमा आउँदा सबैभन्दा खुसी होटल व्यवसायी रहेको बताउँछन्। 

‘अहिले करिब दर्जन तारे होटल छन्’, उनले भने, ‘अहिले एउटा एयरलाइन्सले मात्रै नियमित उडान गरेको छ। केही सहयोग गरे पनि ठूलो फाइदा हुँदैन।’

बुद्ध जन्मस्थल लुम्बिनीसँगै गौतमबुद्ध विमानस्थल,  भारतीय सीमानाका, विशेष आर्थिक क्षेत्र, ठूलो भन्सार कार्यालयको कारण पनि ठूला होटल चल्ने उनी बताउँछन्। 

रानाले अन्तर्राष्ट्रिय एयरलाइन्स थपिँदै गए अहिलेका होटल पूर्वाधार अझै अपुग हुने बताए। वैदेशिक रोजगारीमा जाने नेपाली र पर्यटकीय आवागमन बढेसँगै तारे होटलको चाप बढ्ने उनको भनाइ छ। 

‘३–४ वटा एयरलाइन्सले नियमित उडान गर्दा अहिलेको होटलले धान्न सक्छन्’, रानाले थपे, ‘काठमाडौंमा जस्तै विदेशबाट पर्यटक आए भैरहवा आसपासका तारे होटल अझै अपुग हुन्छन्।’  

लुम्बिनीबाट २२ किमि दूरीमा रहेको होटल रेडसन।

कस्ता होटल कति छन् भैरहवामा? 
रुपन्देहीकै पहिलो पाँचतारे होटल टाइगर प्यालेसलाई चर्चित मानिन्छ। ५ अर्ब बढी लगानी भएको यसमा १५० कोठा छन्। यहाँ आउने भारतीय पर्यटकको लागि यो होटल मुख्य आकर्षण बनेको छ। क्यासिनो समेत भएकाले यहाँ दैनिक सयौँ भारतीय आउने गरेका छन्। 

यसबाहेक सिद्धार्थ ग्रुपले भैरहवामा पाँचतारे होटल खोलेको छ। डेढ बिघा जग्गामा बनेको होटलमा ८५ बढी कोठा छन्। त्यस्तै होटल बोधी रेडसन पाँचतारे होटलमै विस्तार भएको छ भने व्यवसायी पवन हलुवाईले पवन प्यालेस होटल सञ्चालनमा ल्याएका छन्। 

उक्त होटलमा हलवाईले ३ अर्ब लगानी गरेका छन्। लुम्बिनीमै जापानी नागरिक नोर्बु कासाईको २ अर्ब बढी लगानीमा तारे होटल लुम्बिनी कासाई सञ्चालनमा छ।

त्यस्तै पर्यटक लक्षित गर्दै १ अर्बभन्दा बढी लगानी रहेको होटल होक्के पनि छ। तिलोत्तमाको मणिग्राममा रहेको ड्रिमल्यान्ड रिसोर्टले पनि स्तरोन्नति गरी ४ तारे बनाएको छ। मणिग्राममै तारेसरहको होटल टुलिप सञ्चालनमा आएको छ। भैरहवामा तीनतारे होटल नान्स सञ्चालनमा छ।  

भैरहवाको नजिकै वसन्तपुरमा होटल बोधी रेडसन सञ्चालनमा छ। यो तारे होटलमा करिब अर्ब लगानी भएको छ। यस्तै, भैरहवाकै बुद्धचोकमा घिमिरे समूहको अर्ब लगानीमा पाँच तारे होटल छ। 

लुम्बिनी होक्के होटल, होटल निर्भाना, लक्जरी इन्टरनेश्नल, बुद्धमाया गार्डेन, होटल द ह्वाइट लोटसजस्ता तारे होटल रहेका छन्। बुटवलमा पछिल्लो समयमा आरम्भ रिसोर्ट, दरबार होटल, होटल एभेन्यू, नयाँमिलमा लक्ष्मी होटल सञ्चालनमा आएका छन्।

दक्षिण कोरियाको डेई संग शाक्य मन्दिर लुम्बिनीको अग्लोमध्ये एक मोनास्ट्री हो। यो गैरतीर्थालुलाई समेत उपलब्ध छ। तस्बिरः माइकेल टर्टल (visitworldheritage.com)

लुम्बिनीका मोनास्ट्रीले चिन्ता
लुम्बिनी क्षेत्रभित्रै करिब ३० वटा मोनास्ट्री रहेका छन्। सबै मोनास्ट्रीले होटलले जस्तै कोठा बनाएर सेवा दिइरहेको व्यवसायी बताउँछन्। 

धर्मशालाको रुपमा खुलेका मोनास्ट्री व्यवसायमा लाग्दा अर्बौँ लगानी गरेका होटललाई थप समस्या हुने होटल व्यवसायीको गुनासो छ। 

‘लुम्बिनी विकास कोषका नेतृत्वलाई हामीले बारम्बार भन्दै आएका छौँ। तर बन्द गर्न सकेन’, सिद्धार्थनगरका अध्यक्ष श्रेष्ठले भने, ‘चाइनिज, थाइल्यान्ड, श्रीलंकन मोनास्ट्रीले आफ्ना देशबाट आउने बौद्धमार्गीलाई सेवाशुल्क लिएर राख्ने गरेका छन्।’

यसले होटल व्यवसायलाई धेरै फरक पार्ने उनी बताउँछन्। विदेशबाट आएका पर्यटक मोनास्ट्रीमा बसे राज्यलाई राजस्व पनि नआउने र अर्बौँ लगानी गरेका व्यवसायी पनि समस्यामा पर्ने उनको दाबी छ। 

लुम्बिनी ट्रष्टको विधानअनुसार लुम्बिनी क्षेत्रभित्र होटल सञ्चालन गर्न पाइँदैन। तर सेवाशुल्क लिएर होटलजस्तै मोनास्ट्री चलाइएको व्यवसायी बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .