कारोबार


५ विदेशी एयरलाइन्सले छली गरे १५ करोड ५६ लाख कर (सूची)

५ विदेशी एयरलाइन्सले छली गरे १५ करोड ५६ लाख कर (सूची)

वसन्त अर्याल
असार ३२, २०७९ शनिबार ६:४८, काठमाडौँ

नेपालबाट विदेश उडान गर्ने ५ कम्पनीले हवाइ सेवा कर छली गरेका छन्। 

नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसार गर्दा ५ विदेशी कम्पनीले कर नतिरेका हुन्। 

विदेशमा मुख्य कार्यालय रहेर नेपालबाट उडान गर्ने टर्किस एयर, जजिरा एयर, एयर अरेबिया, फ्लाई दुवई, सिंगापुर एयरलाइन्सले हवाइ सेवाबापतको कर नतिरेका हुन्। 

आयकर ऐन २०५८ को दफा ७० मा हवाइ यातायात गराउने गैरबासिन्दा (कम्पनी)लाई कर लाग्ने व्यवस्था गरेको छ। दफालाई स्पष्ट पार्न दफाको प्रयोजनका लागि ‘गैरबासिन्दा व्यक्ति’ भन्नाले नेपालबाहिर मुख्य कार्यालय रहेको सम्बद्ध निकायहरुको समूहभित्र रहेको बासिन्दा निकाय सम्झिनुपर्ने उल्लेख छ। 

नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाइ यातायातमा २ प्रतिशतका दरले कर लाग्ने सोही ऐनमा व्यवस्था छ। 

महालेखा परीक्षकको कार्यालयले ५९औँ प्रतिवेदन सार्वजनिक गर्दै कम्पनीको नाम नखुलाई ५ कम्पनीले करछली गरेको उल्लेख गरेको छ। प्रतिवेदनमा ५ वटा एयरलाइन्स कम्पनीले १५ करोड ५६ लाख कर दाखिला नगरेको र सोमा लाग्ने शुल्क तथा ब्याज असुल गर्न छानबिन गर्नुपर्ने उल्लेख गरेको छ। 

महालेखाले आन्तरिक राजस्व कार्यालय पुतलीसडकमा दर्ता रहेका ४ र नयाँ बानेश्वरमा दर्ता रहेको १ हवाइ कम्पनीले विभिन्न गन्तव्यमा नेपालबाट उडान भर्दा कर नतिरेको उल्लेख गरेको छ। 

महालेखा परीक्षकको कार्यालयका अनुसार इस्तानबुल उडान गर्ने एक एयरलाइन्स कम्पनीले ५ करोड ४१ लाख रुपैयाँ कर बुझाउनुपर्नेछ। कम्पनीले उक्त वर्ष १८ हजार यात्रु उडान गरेको थियो। औसत भाडा प्रतिव्यक्ति ६० हजार १२० रहँदा ५ प्रतिशतले लाग्ने कुल हवाइ सेवा कर ५ करोड ४१ लाख ३५ हजार रुपैयाँ हुन्छ। कम्पनीले ७ हजार मात्रै कर तिरेको छ। 

महालेखा परीक्षकको कार्यालयले कर नतिर्ने कम्पनीको नाम उल्लेख गर्न नमिल्ने बताए पनि काठमाडौं इस्तानबुल सिधा उडान टर्किस एयरलाइन्सले मात्रै गर्दै आएको छ। ५९औँ प्रतिवेदनले उक्त कम्पनीले हवाइ सेवाबापतको ५ करोड ४१ लाख रुपैयाँ, कुवेत उडान गर्ने एक एयरलाइन्स कम्पनीले ३ करोड १५ लाख रुपैयाँ कर तिरेको छैन। 

उक्त कम्पनीमार्फत १३ हजार ३२९ यात्रुले उडान भरेका थिए। कुवेतको औसत भाडा ४७ हजार ४०० हुँदा त्यसको ५ प्रतिशत कर ३ करोड १५ हजार हुन जान्छ। 
विदेशी कम्पनीमा नेपाल–कुवेत सिधा उडान गर्नेमा जजिरा एयरवेज छ। शुक्रबारबाट मात्रै नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उडान सिधा उडान सुरु गरेको छ।   

त्यस्तै साउदी अरब उडान गर्ने एक एयरलाइन्स कम्पनीले ३९ हजार ७८४ यात्रुले उडान भरेका थिए। साउदीको औसत भाडा २१ हजार ५०० हुँदा ५ प्रतिशतका हिसाबले कर तिर्दा ४ करोड २७ लाख रुपैयाँ हुन आउँछ। 

विदेशी कम्पनी एयर अरेबियाले आबुधाबी र सारजहा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएको छ। त्यसैले महालेखाको प्रतिवेदनअनुसार सवा ४ करोड एयर अरेबियाले नेपाल सरकारलाई तिर्नुपर्नेछ। 

दुबई उडान गर्ने एक एयरलाइन्स कम्पनीले ३५ हजार ८९६ यात्रुले उडान भर्दा हवाइ सेवा कर नतिरेको महालेखाले उल्लेख गरेको छ। उक्त कम्पनीले ३४ हजार ३५० औसत भाडादरले ६ करोड १६ लाख हुन्छ। तर कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ दाखिल गरेको छ। कम्पनीले २ करोड २२ लाख रुपैयाँ रहेको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार दुवई उडान गर्ने फ्लाई दुवईसँगै हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले समेत उडान गर्दै आएका छन्। तर विदेशमा मुख्य कार्यालय रहेको कम्पनी फ्लाई दुवई रहेको छ। जसले २ करोड २२ लाख रुपैयाँ सरकारलाई बुझाउनुपर्नेछ। 

त्यस्तै सिंगापुर एयरलाइन्स कम्पनीले २ हजार ९४२ यात्रु बोक्दा ४५ लाख कर तिरेको छैन। कम्पनीले ३० हजार ७०० औसत भाडाको ५ प्रतिशतले लाग्ने करमा ४५ लाख रुपैयाँ हुन्छ। 

महालेखा परीक्षकको कार्यालयले पहिलो गन्तव्यसम्मको सिधा उडानको मात्रै कर उठाउने देखाएको छ। नेपालबाट उडान भएकोमा कनेक्टिङ फ्लाइटबाट दोस्रो गन्तव्यको भाडा रकम थप गर्दा कर दायित्व बढ्ने भन्दै छानबिन गर्नुपर्ने उल्लेख गरेको छ। 

५८औँ प्रतिवेदनमा आन्तरिक राजस्व कार्यालय, पुतलीसडकमा दर्ता रहेका ७ हवाइ कम्पनीले २०७५/०७६ मा नेपालबाट उडान भर्दा प्राप्त तथ्यांकको आधारमा घटी कर दाखिला गरेको महालेखाले औँल्याएको थियो। 

०७५/०७६ मा ५१ करोड ९८ लाख र सोमा लाग्ने शुल्क तथा ब्याज असुल गर्न छानबिन गर्नुपर्ने उल्लेख रहेको थियो। 

अघिल्लो वर्ष मलेसिया उडान गर्ने एक कम्पनीले ६६ हजार ८६० यात्रुले उडान गरेकोमा ३७ हजार १९६ यात्रुको कर तिरेको थिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .