कारोबार


बाह्य व्यापारमा कीर्तिमान : पहिलोपटक २ खर्बको निर्यात

बाह्य व्यापारमा कीर्तिमान : पहिलोपटक २ खर्बको निर्यात

१० आर्थिक वर्षको निर्यात अवस्था।


वसन्त अर्याल
साउन ९, २०७९ सोमबार १५:३१, काठमाडौँ

नेपालको निर्यातले कीर्तिमान बनाएको छ। इतिहासमै पहिलोपटक २ खर्ब ३ करोड रुपैयाँको वस्तु निर्यात भएको हो। 

आर्थिक वर्ष २०७८/०७९ मा ४१.७४ प्रतिशतले बढेर निर्यात २ खर्ब नाघेको छ। आर्थिक वर्ष २०७७/०७८ मा १ खर्ब ४१ अर्ब रुपैयाँ निर्यात भएको थियो। 

वनस्पति घिउ, तेल, पाप आयल, सोया निर्यात मात्रै ९३ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको छ। यसमा ४८ अर्ब रुपैयाँको सोयाबिन आयल, पाम आयल ४१ अर्ब, सन फ्लावर दाना र तेल गरी ४ अर्ब ५१ करोड रुपैयाँको निर्यात भएको छ। 

अघिल्लो वर्ष अर्थात् २०७७/०७८ मा ५३ अर्ब ६५ करोड रुपैयाँको  सोयाबिन तेल निर्यात गरेको थियो। सनफ्लावर दाना र तेल २ अर्ब २४ करोड रुपैयाँ छ। 

२०७६/०७७ मा ११ खर्ब ९६ अर्बको आयात हुँदा ९७ अर्ब रुपैयाँकै निर्यात भएको थियो। आर्थिक वर्ष २०७५/०७६ मा १४ खर्बको आयात हुँदा ९७ अर्ब रुपैयाँको निर्यात रहेको थियो। 

भन्सार विभागको तथ्यांक हेर्दा नेपालको निर्यात खर्ब नाघ्नुमा पाम आयल र सोयाविन तेल रहेको छ। अघिल्लो वर्ष सोयाबिन तेलको निर्यात ह्वात्तै बढेकोमा यो वर्ष सोयाबिनसँगै पाम आयलको पनि निर्यात बढेको देखिन्छ। 

भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले नेपालले पहिलो पटक २ खर्ब बढीको निर्यात गरेकोमा खुसी व्यक्त गरे। उनले करिब ४२ प्रतिशतले निर्यात बढेको बताए। 

‘सोया र पाम आयलको निर्यात हिस्सा एकदमै धेरै रहेको छ’, खड्काले भने, ‘तयारी पोशाकसँगै जस्तापाता, कार्पेट, जुसलगायतका वस्तुको निर्यात बढेको हो।’

१० वर्षअघि २०६९/०७० मा ७७ अर्ब ४० करोड रुपैयाँ निर्यात हुने गरेको थियो। सरकारले १ वर्ष अघिसम्म १ खर्ब निर्यात पु¥याउने लक्ष्य राखेको थियो। अघिल्लो वर्ष १ खर्ब निर्यात पु¥याउने सरकारको लक्ष्य पूरा भएकोमा यो वर्ष २ खर्ब पुगेको छ। 

आर्थिक वर्ष २०७०/०७१ मा ८९ अर्ब ६२ करोड, २०७१/०७२ ८५ अर्ब १९ करोड, २०७२/७३ मा ७० अर्ब २५ करोड, २०७३/०७४ ७३ अर्ब ३ करोड, २०७४/७५ मा ८१ अर्ब ३५ करोड रुपैयाँबराबरको निर्यात रहेको थियो। 

यस्ता छन् १ अर्ब बढी निर्यात हुने मुख्य वस्तु
नेपालबाट निर्यात हुने मुख्य वस्तुमा कफी, चिया रहेको छ। एक वर्षमा ९ अर्ब ३३ करोड रुपैयाँको निर्यात भएको छ। 

एक अर्बमाथि निर्यात हुनेमा तेल, गेडागुडीको बीउ १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ। नेपालबाट तरकारीजन्य वस्तु २ अर्ब २० करोड रुपैयाँको निर्यात भएको छ। 

२ अर्ब २६ करोडको दाल, पिठोलगायतको वस्तु निर्यात भएको छ। तयारी अवस्थामा रहेका तरकारी र फलफूलजन्य वस्तु ६ अर्ब रुपैयाँको निर्यात भएको छ। जसमा जुस लगायतका वस्तु पर्छन्। 

जनावरको लागि आवश्यक खाद्यान्न पदार्थ ७ अर्ब ३२ करोड रुपैयाँको निर्यात हुने गरेको छ। 

१ अर्ब ४९ करोड रुपैयाँको औषधिजन्य पदार्थ निर्यात हुँदा पर्फुम, कस्मेटिकजन्य पदार्थ १ अर्ब ७१ करोड रुपैयाँ निर्यात भएको छ। 

रासायनिक पदार्थ २ अर्ब ७४ करोड, प्लास्टिकजन्य पदार्थ १ अर्ब २४ करोड रुपैयाँको निर्यात भएको छ। 

पेपर र पेपरबोर्ड १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। भेजिटेबल टेक्सटाइल फाइबर ६ अर्ब ५४ करोडको निर्यात भएको छ। 

कपडा तथा धागोजन्य वस्तु ४० अर्ब रुपैयाँको निर्यात भएको छ। जसमा हातले बुनेका कपडा ३ अर्ब ३६ करोड, मेन मेड फाइबर १२ अर्ब ७४ करोड, फेल्ट ४ अर्ब ९४ करोड रहेको छ। तयारी पोशाक बुनेका १० अर्बको तयारी पोशाक, टेक्सटायल २ अर्ब ४९ करोडको निर्यात भएको छ। 

कार्पेट १० अर्ब रुपैयाँको, जुत्ताजन्य पदार्थ १ अर्ब १३ करोड रुपैयाँ रहेको छ। जुन अघिल्ला वर्षको तुलनामा अहिले बढेको हो। पहिला कार्पेट नेपालको मुख्य निर्यात वस्तु रहेकोमा पछिल्ला केही वर्ष घटेको थियो। 

त्यस्तै सिसा र सिसाजन्य पदार्थ १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। गहना १ अर्ब १६ करोड रुपैयाँको निर्यात भएको छ। ३ अर्ब ८७ करोड स्टिल तथा फलामजन्य पदार्थ निर्यात भएको छ। 

व्यापारघाटा १७ खर्ब नाघ्यो 
ताजा तथ्यांकअनुसार नेपालको बाह्य व्यापारघाटा २३ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७८/०७९ मा १७ खर्ब २० अर्ब रुपैयाँ व्यापारघाटा भएको हो।

अघिल्लो वर्ष १३ खर्ब ९८ अर्ब ब्यापार घाटा रहेकोकोमा यो वर्ष २३ प्रतिशतले बढेको छ। १ वर्षमा १९ खर्ब २० अर्ब रुपैयाँको आयात हुँदा २ खर्ब निर्यात भएको छ। अघिल्लो वर्ष १५ खर्ब ३९ अर्ब रुपैयाँ आयात हुँदा १ खर्ब ४१ अर्ब रुपैयाँको रहेको थियो। 

कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब रुपयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा २६.१५ प्रतिशतले बढेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .