एक वर्षमा ६ लाख फाइबर इन्टरनेट प्रयोगकर्ता बढेका छन्।
अघिल्लो वैशाखमा १३ लाख १३ हजार रहेकोमा गत वैशाखसम्म आइपुग्दा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १९ लाख ९४ हजार पुगेको हो।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले कुल इन्टरनेट सब्स्क्राइबर २१ लाख ३७ हजार ९६१ पुगेको देखाएको छ। यो भनेको ५ लाख ८४ ग्राहक वृद्धि हो।
तथ्यांकअनुसार १ लाख १८ हजार केबल र २४ हजार वायरलेस प्रयोगकर्ता छन्। अघिल्लो वर्ष १ लाख ९७ हजार केबल र वायरलेस प्रयोगकर्ता ४२ हजार थिए। अहिले वायरलेस र केबल इन्टरनेट प्रयोगकर्ता अघिल्लो वर्षको तुलनामा घटेका हुन्।
एक वर्षअघि कुल इन्टरनेट सेवाग्राही १५ लाख ५३ हजार रहेका थिए।
५८ कम्पनीका कति छन् ग्राहक?
तथ्यांकअनुसार नेपालमा ५८ वटा कम्पनीले इन्टरनेट सेवा प्रदान गरिरहेका छन्। तिनमा सबैभन्दा बढी वर्ल्डलिंकका ग्राहक छन् भने सबैभन्दा कम सिटी नेट प्रालिका छन्। उक्त कम्पनीका ४६ जनामात्रै प्रयोगकर्ता छन्।
फाइबर सेवाग्राहीको संख्या ६ लाखले बढ्दा ग्राहक विस्तारमा वर्ल्डलिंक आक्रामक देखिएको छ। त्यसपछि दोस्रोमा डिश मिडिया नेटवर्क छ। वर्ल्डलिंकले एक वर्षमा १ लाख ५२ हजार ग्राहक थपेको छ। त्यस्तै डिशहोम फाइबरनेटले करिब १ लाख थप गरेको छ। वर्ल्डलिंक पुरानो सेवा प्रदायक हो भने डिश मिडिया नेटवर्कले २०७७ बाट इन्टरनेट सेवा सुरु गरेको थियो।
२०७८ मा ७ हजार मात्रै ग्राहक रहेको डिश मिडियाको अहिले १ लाख ६ हजार बढी ग्राहक पुगिसकेको छ। आईएमई ग्रुपअन्तर्गतको डिश मिडियाले आक्रामक बजार विस्तार गरेको हो।
२०७८ जेठबाट सेवा सुरु गरेको सीजी कम्युनिकेसन लिमिटेडको २५ हजार ५१२ ग्राहक पुगेका छन्। चौधरी ग्रुपअन्तर्गतको कम्पनीले अहिले मुख्य काठमाडौं उपत्यकाका ३ जिल्लामा बजार विस्तार गरिरहेको छ।
नेपालमा सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका छन्। कम्पनीका कुल ६ लाख ३० हजार ग्राहक छन्। १ वर्षअघि अर्थात् २०७८ वैशाखसम्म ४ लाख ७८ हजार ग्राहक थिए। एक वर्षमा वर्ल्डलिंकले १ लाख ५२ हजार ग्राहक थप गरेको छ।
नेपालमा दोस्रो बढी ग्राहक हुनेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) छ। २०७९ वैशाखसम्म २ लाख ९८ हजार ग्राहक रहेका छन्। एक वर्षअघि २ लाख ९३ हजार ग्राहक थिए। एक वर्षमा ५ हजार ग्राहक वृद्धि भएका छन्।
ग्राहक विस्तारमा भायनेट र क्लासिकटेकबीच प्रतिस्पर्धा
हाल १ लाख ८० हजार फाइबरबाट इन्टरनेट जडान गर्ने ग्राहक छन् भने १ लाख ११ हजार केबल प्रयोग गर्ने रहेका छन्। ६ हजार २९३ वायरलेस प्रयोगकर्ता छन्।
ग्राहक विस्तारमा भायनेट र क्लासिकटेकबीच प्रतिस्पर्धा छ। भायनेटले एक वर्षमा ७६ हजार ग्राहक थप गर्दा ७८ हजार ग्राहक बढाएको छ।
भायनेटका फाइबर प्रयोगकर्तामात्रै छन्। भायनेटका ग्राहक २ लाख २० हजार पुगेका छन्। अघिल्लो वर्ष वैशाखसम्म १ लाख ४४ हजार ग्राहक रहेका थिए। बढी प्रयोगकर्ता हुनेमा क्लासिकटेक प्रालि छ। क्लासिकटेकका ग्राहक २ लाख २१ हजार छन्। अघिल्लो वर्ष १ लाख ४३ हजार ग्राहक रहेकोमा अहिले ७८ हजार ग्राहक बढेका छन्।
सुबिसु केबलनेट लिमिटेडका २ लाख २८ हजार ग्राहक पुगेका छन्। सुबिसुले १ वर्षमा २४ हजार ग्राहक बढाएको छ। अघिल्लो वैशाखमा २ लाख ४ हजार मात्रै ग्राहक थिए। १ वर्षमा २२ हजार ग्राहक बढेको छ।
चितवनमा मुख्य कार्यालय रहेको टेकमाइन्ड्स नेटवर्कका ८९ हजार ग्राहक छन्। अघिल्लो वर्ष ५९ हजार ४७५ रहेका थिए। कम्पनीले १ वर्षमा ३० हजार ग्राहक बढेका छन्।
५० हजारमाथि ग्राहक पु¥याउनेमा ब्रोडलिंक र वेब सर्फर छन्। ब्रोडलिंकले ग्राहक बढाउँदै लगेको छ भने वेबसर्फरका ग्राहक घट्दै गएका छन्।
ब्रोडलिंक नेटवर्कले ५२ हजार रहेका छन्। अघिल्लो वर्ष ४४ हजार ५९४ रहेकोमा अहिले ८ हजार ग्राहक बढेका हुन्। वेब सर्फर नेपालका ग्राहक ६३ हजार छन्। अघिल्लो वर्ष ६९ हजार रहेकोमा ६ हजार ग्राहक घटेका हुन्।
फोरजी प्रयोगकर्ता १ करोड ७६ लाख
ब्रोडब्यान्ड (इन्टरनेट) सर्भिसमा वायरलेसको हिस्सा ७४.६३ प्रतिशत रहँदा फिक्स्डको २४.७७ प्रतिशत छ। ब्रोडब्यान्डमा नेपाल दूरसञ्चार लिमिटेडका २ करोड १२ लाख ग्राहक छन् भने एनसेलका ८६ लाख ८६ हजार छन्। स्मार्ट सेलका १ लाख ५३ हजार ग्राहक छन्। ब्रोडब्यान्डका कुल प्रयोगकर्ता ३ करोड ८० लाख छन्।
प्राधिकरणको तथ्यांकअनुसार १ करोड ७६ लाख ६६ हजार फोरजीका प्रयोगकर्ता छन्। फाइभजीको तयारी भइरहँदा थ्रिजीका १ करोड ९ लाख ६६ हजार छन्। मोबाइल ब्रोडब्यान्डमा नेपाल टेलिकमको थ्रिजी प्रयोगकर्ता ८८ लाख ९८ हजार र फोरजीका प्रयोगकर्ता १ करोड ८ लाख छन्। एनसेल आजियटाले ६६ लाख १८ हजार फोरजी प्रयोगकर्ता र २० लाख ६८ हजार थ्रिजीका प्रयोगकर्ता छन्। स्मार्टसेलका १ लाख ५३ हजार ग्राहक छन्।
Shares
प्रतिक्रिया